दिल्लीकाे मुस्लिम ‘जमाती’मा सहभागी भएका पर्साका एक नेपालीमा कोरोना संक्रमण देखियाे

बिएल संवाददाता

नयाँदिल्ली,बिएल हिन्दी ब्यूराे

दिल्लीस्थित निजामुद्दिनमा केही दिनअघि सम्पन्न मुस्लिमहरुको धार्मिक भेला ‘जमाती’मा सहभागी भएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भेलामा सहभागी रहेका नेपालको पर्सा जिल्ला निवासी ६६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो। 

दुई जना नेपाली र एक श्रीलंकालीलाई कोरोनाको लक्षण देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको र गत बुधबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको प्रहरी स्रोतले बताएको थियो। तर नमूना परीक्षण गरिएका अर्का नेपालीमा भने कोरोना पोजेटिभ देखिएको छैन।

बिहीबार उक्त परीक्षणको रिपोर्ट आएपछि त्यहाँ आइसोलेसनमा राखिएका एक ६६ वर्षीय नेपाली पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ। 

कोरोना देखिए ती नेपाली भारतमा लक डाउन हुनुअघि नै हरियाणा पुगेको र त्यहाँ अन्य दश जना सहभागीसहित हरियाणा, अम्बालास्थित महेशनगरको एक मस्जिदमा बस्दै आएको भारतीय स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 

सो भेलाका सहभागीमा कोरोना संक्रमण देखिएपछि प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेको थियो। त्यहाँ भेटिएका ८ नेपालीसहित सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो। त्यहाँ पुगेका सबै नेपाली पर्सा जिल्ला मुस्लिम समयुदायका रहेको खुलेको छ। 

प्रकाशित मिति: : 2020-04-04 09:03:35

प्रतिकृया दिनुहोस्