‘म मास्क लगाउँदिन, तपाई पनि नलगाउनुस्’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन्। कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको नियमित ब्रिफिङ्गमा राष्ट्रपति ट्रम्प मास्कबिनै प्रस्तुत भएका थिए।

तर सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरेको छ। राष्ट्रपति ट्रम्पले भने आफूले कहिले पनि मास्क नलगाउने बताएका छन्।

उनले मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, डिटेक्टर, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म पनि गर्न नसक्ने बताए। राष्ट्रपति ट्रम्पले मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव स्वइच्छामा आधारित रहेको दाबी गरे।

उनले भनेका छन्, ‘तपाईहरुले पनि यसको पलना गर्नु पर्दैन। मलाई लाग्दैन कि मैले पनि यसको पलाना गर्ने छु।’ यसो भनेर ट्रम्पले मास्क नलाउने र नलगाउन उक्साएका छन्।

सार्वजनिक स्वास्थ्यलाई लिएर विभिन्न सुझावहरु जारी गर्ने उच्च अमेरिकी एजेन्सी सिडिसीले कोरोनाको संक्रमण विश्वव्यापी महामारीको इपिसेन्टर अमेरिका बनिरहेको सम्बन्धमा नयाँ स्वास्थ्य सुझाव जारी गर्दै हरेक अमेरिकीलाई बाहिर निस्कँदा मेडिकल मास्क वा त्यो नभए कपडाको मास्क या रुमालले मुख छोप्न सुझाएको छ।

सिडिसीको यसअघिको सुझावमा बिरामी, बिरामीको स्याहार गरिरहेकाहरुले मास्क लगाउनु पर्ने उल्लेख थिए। तर नयाँ सुझावमा संक्रमण हुन नदिनका लागि आफ्नो अनुहार पनि छोप्नु राम्रो हुने उल्लेख छ।

तर राष्ट्रपति ट्रम्पले सिडिसीको सुझाव आए लगत्तै त्यसको उल्लंघन गरेका हुन् र उल्लंघन गर्नका लागि प्रेरित पनि गरेका छन्। उनले पत्रकार सम्मेलनमा भने, ‘ती सुझावहरु मेरा लागि होनन्।’

पत्रकार सम्मेलनको क्रममा पछिल्ला अध्ययन उद्धृत गर्दै संक्रमण तीव्र गतिमा फैलिनुमा लक्षण नदेखिएका संक्रमितको भूमिका अधिक रहेको बताएका ट्रम्पले आफूले मास्क लगाउन नसक्ने बताएका हुन्।

प्रकाशित मिति: : 2020-04-04 07:41:05

प्रतिकृया दिनुहोस्