बिश्वव्यापी रुपमा कोरोना भाइरसको सन्त्रास ब्याप्त छ। तर पनि मानिसको बाच्ने र सुरक्षित हुन अपेक्षाले साथ छोडेको छैन। प्राय: सबैजसो देशका मानिसले के मानेको देखिन्छ भने भलै अहिले कोरोनाले उत्पन्न गरेको भयावह सन्त्रास र कठिनाई धेरै ठूलो छ। यसको आर्थिक मार पनि बिकराल छ, तथापि यसविरुद्ध खोप बैज्ञानिकद्वारा चाँडै नै बन्ने छ र यसको उपचार पनि निस्कने छ।
अहिले नै खोप विकास गर्ने दिशामा प्रगति निकै अगाडि बढिसकेको बिभिन्न देशबाट खबर आइरहेका छन्। तर पनि यो खोप आम जनसाधारणका बीच पुग्न अझै लामो समय लाग्नेछ ।
कसैलाई पनि थाहा छैन,कोरोना भाइरसको कहर कहिलेसम्म रहने हो ! तर एउटा कुरा निश्चित छ – बितेको झण्डै एक शताब्दीलाई फर्केर हेर्ने हो भने चिकित्सा बिज्ञानको विकासले जुन उपलब्धी हासिल गरेको छ, त्यसले आशाको किरण जगाउँदछ कि यो घातक भाइरस कोभिड–१९ को कालखण्ड पनि लामो समय चल्ने छैन । त्यसैले ढुक्कसँग के भन्न सकिन्छ भने पहिला आएका हैजा, प्लेग जस्ता एउटा अन्तरालमा दोहोरिरहने महामारीको जस्तोस्थिति अब रहने छैन ।
चिकित्सा बिज्ञानको एक सय बर्षको उपलब्धीलाई हेर्दा यो मानव आशाको आधारमा बिश्वास गर्नुनपर्ने कुनै कारण छैन। एक सय बर्षयता धेरैजसो रोगको उपचारको खोजी गरिसकिएको छ । यद्यपि त्यस्तो रोगको रामबाण उपचार अझै पनि खोज्न सकेको स्थिति नभए पनि बिमारीलाई तत्काल राहत प्रदान गर्न र तिनको जीवनस्तरमा सुधार गर्ने दिशामा निक्कै प्रगति बिज्ञान र प्रबिधिले गरेको छ।
अहिले प्रायः सबै जसो क्यान्सरको उपचार हुन थालेको छ । मुुटु, कलेजो, मृगौला जस्ता महत्वपूर्ण अंगलाई पूरै बदल्न सकिने स्थिति पनि बनेको छ । अब ‘जीन थेरापी’को दिशामा पनि बैज्ञानिकहरु निकै लामो बाटो हिँडिसकेका छन् । जसले धेरै मानिसलाई आनुबांशिक रोगबाट मुक्ति दिलाउन सक्ने मानिएको छ। चिकित्सा विज्ञानका यी उपलब्धीले अहिलेसम्म संसारमा लाखौ मानिसको जीवन बचाएको छ, उनीहरुको दुःखाईलाई कम गरेको छ र जीवनलाई लामो बनाउन मद्दत गरेको छ ।
यसरी चिकित्सा विज्ञानमा भएका अनेक उपलब्धीले मानिसको रोगको उपचार हुन सक्छ भन्ने आश्वासन र विश्वास दिलाउँछन् तर प्रायजसो तिनले समाजलाई अनेक अंशमा विभाजित पनि गरिदिन्छ। एउटा अंश ती मानिसको हुने गर्दछ, जो जटिल रोग र कठिनाईको मामिलामा अत्याधुनिक उपचार खर्च धान्न सक्छन् । तिनको आम्दानी र जम्मा भएको पूँजीले उपचारमा लाग्ने खर्चको कुनै हिसाबकिताब राख्नु पर्ने स्थितिको महत्व नै हुँदैन । तिनले जति पनि खर्च गर्न सक्छन्। उपचारका निम्ति उनीहरु बिश्वको कुनै पनि कुनामा जान सहजै सक्छन्।
नभए उनीहरुका लागि देशमै या छिमेकमै फाइभ स्टार सुबिधाका अस्पताल खडा छन् । जो बाँकी मानिस छन् ,तिनको या त उपचार बीमाको सुबिधा या बाध्यता आउँदा आफ्नो श्रीसम्पत्तिको हिस्सा बेचेर कुनै किसिमले उपचारमा लाग्ने पैसा जुटाउनु हुने गर्छ। तर यी सबै स्तरका मानिसभन्दा धेरै ठूलो जनसंख्याको एउटा हिस्सा, जसको बाच्नयोग्य जीवन गुजारा गर्नेसम्मको स्थिति हुँदैन, तिनले गम्भीर रोगले आक्रान्त हुँदा पनि उपचार खर्च जुटाउन सक्तैनन् ।
त्यसैले यस्ता मानिसका लागि सरकारी अस्पताल छ भन्ने गरिन्छ। त्यसले झिनो नै सही, उनीहरुलाई पनि सानो मद्दत पुग्ने एउटा जीवनको आशा जगाउँदछ । तर यही सबैभन्दा ठूलो जनसंख्यामा उपचारको सबैभन्दा ठूलो समस्या र खराब स्थिति कायम रहेको प्रष्टै देखिन्छ । भनिन्छ नि–यो ‘एक अनार करोडौं बिमार’ भने जस्तै स्थिति हो ।
आज हामी देख्न सक्छौ सरकारी अस्पतालमा बिमारीको लामो लामो लाइन र बहुआवश्यक शल्यकृया तथा उपचारका निम्ति लामो प्रतिक्षा सूचि–अर्थात वेटिङ्गलिस्ट बिपन्नले भोगिराखेको कटु यथार्थ हो । अनि यस प्रकारको स्थितिमा धेरै जसो बिपन्न बर्गका मानिस उपचार गराउँदा गराउँदै या गराउनै नपाई आफ्नो जीवनलीला समाप्त गर्न बाध्य हुन्छन् र भइरहेका पनि छन् ।
कोरोना भाइरसले हाम्रो देशमा पनि जब ढोका ढक्ढक्यायो, त्यसपछिको चिन्ता यसै कुरालाई लिएर भएको हो र अहिले पनि यही चिन्ता छ । हाम्रो देशमा भन्नलाई भनिन्छ– सरदरमा प्रति १० हजार जनसंख्यामा एक चिकित्सक उपलब्ध छन्। यसबाहेक सरकारी अस्पतालमा कति चिकित्सक र परिचारिका उपलब्ध छन् सायदै कसैलाई थाहा छ।
यसैले चिन्ता यसमा छ– साच्चै कोभिड–१९ काे महामारी हाम्रो देशमा फैलियाे भने धान्न सक्ने सामर्थ हामीसँग छ? हाम्रो चिकित्सातन्त्र यसको सामना गर्न सक्ने स्थितिमा छ कि छैन भन्ने कुराले नै हाम्रो यथार्थलाई उजागर गर्दछ । अर्कोतिर स्वास्थ्य क्षेत्रमा चलेको माफियागिरी, भ्रष्ट प्रबृत्ति र घोर लापरबाहीले गाँजेको अवस्थामा कोरोना जस्तो महामारीसँग लड्ने मनोबल कमजोर हुनजाने कुरा निश्चित छ ।
भ्रष्टाचारका लक्षण, सन्देह र अविश्वासका कुरा यसबीच पनि देखिए, चिकित्साजन्य सामाग्री किनेर आयात गर्दा । भ्रष्टाचारको भाइरस कम खतरनाक छैन भन्ने कुरा फेरि पनि उजागर भयो । सरकारमा रहेकाको यस्तो दरिद्र र आपराधिक मानसिकता रहिरहेको परिप्रेक्ष्यमा सरकारले गरेको लकडाउनको यसै कारण अहिले कठिनाई सहेर भए पनि बस्न जनता तत्पर भएका हुन्।
त्यसैले यो भाइरसलाई ढुक्नै नदिने कुरामा जनतामा बिश्वास लागेको हो । तर समस्या के भयो भने बाह्य उडान र भारतसँगको खुल्ला सीमा धेरै ढिलोगरी बन्द गरियो। जसले गर्दा संक्रमित देशबाट आएका पर्यटक तथा वैदेशिक रोजगारीमा जान बाध्य हाम्रा दिदीबहिनी तथा दाजुभाईमा यो रोगकाे संक्रमण सरेकाे हाे। अहिले कति संक्रमित नेपाल भित्रिए यकिन हुन सकिरहेको छैन । लकडाउन भए पनि भारतबाट आउने नेपालीको ओइरो लागिरहेको छ । उता रोजगारी बन्द भए पछि उनीहरु खतरा मोलेर पैदल हिँडेर भोकै आइरहेका छन् । उनीहरुको ब्यवस्थापन सही तरीकाले गर्न नै हम्मेहम्मे परिरहेको छ । कद्म कदाचित रोग फैलियो भने त्यसले देशलाई भयावह रुपमा आक्रान्त पार्ने अत्यन्तै गम्भीर कुरा निश्चितप्राय नै छ।
हुन पनि लगातार फैलिदै आएको कोरोना भाइरसको महामारीका बीच लकडाउन र सामाजिक दूरी (सोसल डिस्ट्यान्स) एउटा रक्षात्मक चिकित्सा जस्तै ‘रोग लागेर निको हुुनुभन्दा लाग्नै नदिने’ कुरा बन्न पुगेको हो ।यो ‘प्रिभेण्टिभ’ उपाय उपचारको यस्तो अचूक बिधि हो, जसको एकदमै कम लागत हुन्छ या कतिपय समयमा लागतै पनि हुदैन भन्ने कुरा यसको किताबी ज्ञानले मात्र पनि बताउँदछ । तर यसको लागि लामो धैर्य र अनुशासन चाहिन्छ नै ।
यद्यपि हामीले लकडाउनका कारण अर्थतन्त्रलाई धक्का दिइरहेको कुरा पनि बिर्सन मिल्दैन। बिज्ञहरु यसमा मानिसको खल्तीबाट सिधै प्रत्यक्ष एक पैसा पनि खर्च हुँदैन भन्ने गर्दछन् । तर कुरा यति सजिलो छैन । किनकि दैनिक कमाएर खानुपर्ने ठूलो तप्काले यो स्थिति कतिञ्जेल धान्न सक्छ भन्ने प्रश्न त उठि नै सकेको छ। भलै यो लकडाउनको रोकथाम बिधिले उनीहरुलाई पनि महामरीबाट जोगिन लाभ पुगेको किन नहोस् !
किनभने उनीहरुको परिवार पाल्ने जीवनको आधारमा नै समस्या उत्पन्न भए पछि बाच्ने आधार टाढा बन्न जान्छ । यद्यपि सरकारले यो तप्काका बारेमा केही कदमहरु बिलम्ब गरेरै भए पनि उठाएको छ तर वास्तविक समस्या परेको तप्कालाई यो राहत सही किसिमले पुग्ला कि नपुग्ला चिन्ताको बिषय बनेकै छ ।
त्यसमा पनि महामारीको मुकाबिला प्राय:सबै ठाउँमा सही किसिमले त्यसलाई साच्चै नै रोक्ने र फैलिन नदिने किसिमले हुन सकेको पनि छैन । यद्यपि चीन, दक्षिण कोरिया, भियतनाम,क्यूबालाई आजको स्थितिमा अपवादमा मात्र लिन सकिन्छ। बिकसित देशहरु अमेरिका, इटली, स्पेनमा फैलिएको यो महामारीले जुन तीब्र गति लिएको छ र हजारौको जीवनलीला समाप्त भएको छ। लाखौ संक्रमित भएका छन्। यसले रोगले सम्पन्न र बिपन्नको कुनै भेदभाव गर्दैन भन्ने मान्यता एक पटक फेरि स्थापित गरेकाे छ।