यही चाल हो भने ओली नै नेपालका 'गोर्भाचोभ' हुन बेर छैन !
विश्वमा कम्युनिष्ट पार्टी अरूले हैन, त्यही पार्टीका नेताले सकेका छन्। यसका अनेक ज्युँदाजाग्दा दृष्टान्त छन्। पोलपोटदेखि चाउचेस्कुसम्म, गोर्वाचेभदेखि मुदरोसम्म। ती नेता र उनीहरूले जे गरे पनि सही भन्ने कार्यकर्ताकै कारणले तत् तत् देशमा कम्युनिष्ट पार्टी कहिलै नउठ्ने गरी थचारिए।यी घटना त्यति पुराना हैनन्, त्यसका लागि इतिहास पल्टाउनै पर्दैन, मिडियाका फ्रुटेज हेरे पनि पुग्छ।
नेपालमा पनि यतिबेला प्रचण्ड बहुमतको कम्युनिष्ट सत्ता छ। नेपाली जनताले इतिहासमै पहिलोपटक यति ठूलो बहुमतका साथ कम्युनिष्ट पार्टीलाई सत्तामा पुर्याए। सुशासनका लागि पाँच वर्ष- अहिलेका लागि उनीहरूले पाएको जनादेश यत्ति नै हो। दुई वर्षबाट उकालो लागिसक्यो, अब तीन वर्ष पनि बाँकि छैन।
तर, यसबीचमा सत्ताका नाममा कम्युनिष्ट नेतृत्वले देखाएको रबैया देख्दा लाग्छ, यिनीहरू पनि धेरै दिनका पाहुना हैनन् । नेता मात्र हैन, कार्यकर्ताको दशा पनि उही छ। आफ्ना नेताले जे गरे पनि सही भन्ने विवेकहिन दस्तामा परिणत भएको छ कार्यकर्ता पंक्ति। नेताको पाउमा विवेक बन्धकी राखेर पार्टी बच्दैन भन्ने पाठ यिनीहरूले पढेजस्तो देखिएन।
नेपालका कम्युनिष्ट नेताहरूले पनि ती पाठ पढेकै हुनुपर्ने हो। यी नेताहरूले आफ्नै जीवनकालमा देखेका/पढेका घटना नै हुन्। तर, नेपालका सत्तासिन कम्युनिष्टले देखाएको व्यवहार देख्दा लाग्छ इतिहासका ती क्रुर सत्यका बारेमा उनीहरूलाई रत्तिभर पनि थाहा छैन।
एउटा पार्टी भनेको छ, दुई अध्यक्ष छन्। अधिकांश समय त दुई अध्यक्षको भेटघाट भन्ने नै समाचार बनिरहेको हुन्छ। एक जना रोगी अध्यक्ष छन्, उनलाई अध्यक्ष पनि चाहिएको छ, प्रधानमन्त्री पनि चाहिएको छ। अस्पतालको शैय्याबाट त मुलुक चलाए नै, आर्यघाटको चितामा पुगे पनि त्यहीबाट प्रधानमन्त्री चलाउँलान् जस्तो गर्छन्। यति धरै सत्तालिप्सा र आफूलाई नै निर्बिकल्प ठान्ने व्यक्तिवादी चिन्तन पनि कुनै कम्युनिष्ट नेताको हुन्छ होला ? कम्युनिष्ट पार्टी भनेको त नीतिले, विचारले चल्ने पार्टी होला नि त। यति धेरै व्यक्ति केन्द्रीत पार्टी पनि कम्युनिष्ट पार्टी होला। उनको यही कार्यपद्धति लिडेढिपीले नै यो नेकपाको कम्युनिष्ट चरित्र स्खलित भैसक्यो ।
यी रोगी नेतालाई कुर्सीमा राखेर सिंहदरवारमा ईश्वर पोखरेल र बालुवाटारमा विष्णु रिमाल डिफेक्टो सत्ता चलाइरहेका छन्। त्यो पनि किन रहेछ भन्ने कुरा कोरोनाले सार्वजनिक गरिदियो। यी दुबै आफ्ना छोरालाई विचौलिया बनाएर देश दोहनका लागि यसो गरिरहेका रहेछन्।जब छोरालाई विचौलिया बनाएर सत्तालाई धन्दा बनाइन्छ, त्यसपछि कसरी बच्छ कम्युनिष्ट पार्टी र सत्ता ?
यसपटक त यिनीहरूले कोरोना प्रोजेक्ट बनाएर पाप नै गरेका छन्। यस्तो महामारीका बेला पनि आफ्ना छोराहरूलाई विचौलिया बनाएर मुलुक लुट्ने यी मुलुकमाराहरू कसरी कम्युनिष्ट भैरहन सक्छन् ? अझ ताजुव त यिनको पक्षपोषण गर्ने जोजोम्यान देखेर लाग्छ, आखिर के का लागि यिनीहरू यस्ता नेताको भरौटे भएर सत्यविरूद्ध जाइलागिरहेका छन्।
ओली सरकारका धेरै ठेक्का हात लगाउने ओम्नीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेका कान्छा छोरा स्वराज पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालका छोरा क्षितिज रिमाल विचौलियाको काम गरिरहेको खुलासा भएको छ। यही एक दृष्टान्त पर्याप्त छ जसले नेपालको कम्युनिष्ट सत्ता धेरै दिनको पाहुना हुन दिने छैन।
एउटा कम्युनिष्ट नेताले त आफ्ना सन्तानलाई एक मेहनतकश, इमानजमान भएको इज्जतिलो सार्वजनिक व्यक्तित्व भएको नागरिक पो बनाउनुपर्ने हो। त्यसमा पो गर्व गर्नुपर्ने हैन र? तर, नेकपाको सत्तारूढ कम्युनिष्ट पार्टीका नेताका छोराछोरी हेरौ न, प्राय: सबै ऐेजेरूजस्ता परनिर्भर छन्। कतिका बाबुका पीए छन्, कति सल्लाहकार छन्। धेरैका त कि ठेकेदार छन् कि बिचौलिया। जब कम्युनिष्ट नेताका सन्तान ठेकेदार बिचौलिया भएर सत्ताको दोहन गर्छन्, तब के नै पो बाँकि रहन्छ र ? ठेकेदार र कमिशन एजेन्ट पनि देखिनेखालका हैनन् रहेछन्, स्लिपिङ पार्टनर टाइपका।
जब स्थिति यति सर्वाङ्ग नांगो छ तैपनि सत्तारूढ पार्टीका केही नेता/कार्यकर्ता हत्केलाले सूर्य छेल्न लागेकै छन्। विवेक बन्धकी राखेर एकथिर भनिरहेका छन्, 'गजेटेड दलाल र भ्रष्टहरूको तथ्यहीन हमला। अर्कोथरि, ' काम गर्न पाएकै छैन, लखेट्न कति हतार हो ?' भनिरहेका छन्। यी त केही प्रतिनिधि टिप्पणी हुन्। यीभन्दा धेरै तल ओर्लिएका गाली गलौज र श्राप नै सामाजिक सञ्जालमा छत्ताछुल्ल भैरहेका छन्।
ए महोदयहरू, कि यी नेताको नियत ठीक छैन, कि ल्याकत छैन, कि सही मान्छे सही ठाउँमा छैन, कि काम गर्ने ढंग,शील्प, शैली छैन, कि पैसा देख्दा महादेवका पनि तीन नेत्र खुलेको अवस्था छ, कि नेतामा नेता हुने न्युनतम गुण पनि छैन। आखिर केही न केही त समस्या छ। आफूसँगै समस्या हुँदा पनि अरूतिर समस्या देखाएर कहिलेसम्म चल्छ सत्ता ?
यही चाल हो भने ओली नै नेपालका 'गोर्भाचोभ' हुन बेर छैन। आगे उनीहरू नै जानुन्।
(यो लेखकको निजी विचार हो । यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित छैन। हामी सबैखाले विचारको सम्मान गर्छौं: सम्पादक)