१. कोभिड-१९ र अमेरिका
जनगणतन्त्र चीनको युहान शहरमा गत जनवरी १० तारिखमा पहिलो बिरामी देखिएको र त्यसपछि सँगसँगै जस्तो अरू देशमा पनि फैलिन शुरू भएको कोरोनाभाइरस (औपचारिक नाम कोभिड-१९ अर्थात् कोरोना भाइरल डिजिज् २०१९) को महामारीबाट सबैभन्दा ठूलो संख्यामा पीडित हुने देशहरूमा संयुक्त राज्य अमेरिका पहिलो नम्बरमा पुगेको छ । यो टिपोट तयार गर्दाको क्षणमा संरा अमेरिकामा कुल संक्रमितको संख्या १७६,५१८ पुगेको तथ्यांक सार्वजनिक गरिएको छ भने यस महामारीमा परी कुल ३४३१ जना अमेरिकीले ज्यान गुमाइसकेको जनाइएको छ । अहिलेको घडीमा १६६,८४६ जना अमेरिकन नागरिकहरू देशभरिका विभिन्न अस्पतालहरूमा कोरोनाको उपचार गराइरहेका छन् । कोरोनाको प्रकोपबाट अत्यधिक प्रभावित अमेरिकाको सबैभन्दा ठूलो शहर न्युयोर्कमा मात्रै ६५ हजार जना पीडितहरू छन् । देशभरि यो रोगको उपचार गराइरहेकाहरूमध्ये ३८९३ जनाको अवस्था गम्भीर छ भने कोरोनाको कहरबाट पूर्ण रूपमा मुक्त हुन सफल अमेरिकीहरूको संख्या ६२४१ मात्र छ ।
कोभिड-१९ को आक्रमणबाट समग्र विश्वमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४०७३१ रहेको छ जसमा सबैभन्दा बढी १२४२८ जना इटालियन छन् । त्यसपछि क्रमश: स्पेनिस् ८२६९, फ्रेन्च ३५२३ अमेरिकन ३४३१, चीनिया ३३०५, इरानियन २८९८ र बेलायती १७८९ जना छन् । बेलायतलाई कुल १०३९ जना नागरिकहरू गुमाएको निदर्ल्याण्डले पछ्याइरहेको छ ।
अहिलेको घडीसम्म विश्वभरि कोरोना भाइरसबाट मर्नेहरूको संख्याका हिसाबले संयुक्त राज्य अमेरिका तेस्रो नम्बरमा छ तर यो स्थिति लामो अवधिसम्म यस्तै रहन्छ भन्न सकिने स्थिति छैन। यस देशमा कोरोना संक्रमितहरूको संख्या अन्य कुनै पनि देशको भन्दा दोब्बर तेब्बर छ। हाल यस व्याधिलाई रोक्ने कुनै औषधि उपलब्ध हुन सकेको छैन। त्यसैले विद्यमान स्थितिलाई हेर्दा कोरोनाबाट मर्नेहरूको यो तथ्यांकमा परिवर्तन हुने र सन् २०२० को यस वैश्विक महाव्याधिमा परी ज्यान गुमाउनेहरूको तथ्यांकमा अमेरिकन नागरिकहरूको संख्या सबैभन्दा बढी हुने अनुमान गर्न गार्हो छैन।
कोरोनाको व्याधि सतहमा देखापरेको गत जनवरीको १० तारिखदेखि अहिलेसम्म यस खास परिप्रेक्ष्यमा विश्व गतिविधिलाई हेर्दा कोरोनाको प्रसार त्यस्ता देशहरूमा तीव्र गतिमा भएको देखिन्छ जहाँ जहाँ सरकार र जनता दुवैले यसको सम्भावित संक्रमण र त्यसले निम्त्याउन सक्ने महामारीको स्थितिको सही आँकलन गर्दै आवश्यक सावधानी अपनाउन सकेनन्। इटली, स्पेन, फ्रान्स र निदर्ल्याण्ड त्यस असावधानीका ज्वलन्त उदाहरण हुन्। ती देशहरूका जनताको उन्मुक्त जीवन-शैली, आपसमा घुलमिल भैरहने सामाजिक, सार्वजनिक जीवनको जीवन्त गतिविधि आदिले एक दुई संक्रमितहरूबाट पनि हज्जारौँ जनामा संक्रमण फैलिने स्थिति बन्यो र भयो पनि त्यस्तै। इटली र स्पेनका जनताको फूटबलप्रतिको क्रेजले पनि ती देशहरूमा कोरोनाको संक्रमणलाई फैलाउन मद्दत गरेको विश्वास गरिएको छ।
अमेरिकी जनता भने अफ्ना अहिलेका कमाण्डर-इन्-चिफ डोनाल्ड ट्रम्पको रूढाग्रह र संकीर्ण दृष्टिको शिकार हुन पुगे । ट्रम्पको चरित्रमा कुनै पनि समस्याको गहिराइसम्म पुगेर त्यसको निराकरण गर्ने कष्ट उठाउने धैर्य र उदारता पटक्कै छैन भने उनका सहयोगीहरूमा उनीसँग कुनै पनि विषयमा राय बझाएर सत्यको उद्घाटन गर्ने साहस रत्तिभर पनि देखिंदैन । यस्तो अवस्थामा ट्रम्पलाई जे लाग्यो त्यही अन्तिम सत्य मानिनु नौलो कुरो हुने भएन । कोभिड-१९ लाई पनि ट्रम्पले त्यतिञ्जेलसम्म खेलाँचीमै लिइरहे जतिबेला यसले उनको महाशक्तिशाली साम्राज्यमाथि बिना आवाज तर अत्यन्त घातक प्रभाव पार्ने गरी आक्रमण गरिसकेको थियो । कोरोनाभाइरसले ल्याउनसक्ने घातक दुष्परिणामको आयतनको सही आकलन गरेर बेलैमा अमेरिकाका ठूला विमानस्थलहरूबाट प्रवेश गर्नेहरूमाथि निगरानी राख्न र अन्तर्राष्ट्रिय र अन्तरराज्यीय मानवीय सम्पर्कलाई नियोजित गर्न सकेको भए अमेरिका यत्रो परिमाणको भीषण नोक्सानीबाट बच्न सक्दथ्यो । खेदको विषय- यो त्राशदीलाई रोक्न सकिएन । अहिले त ट्रम्प स्वयम् कोरोनाबाट मर्नेहरूको संख्या १ लाखमा सीमित राख्नसके हामी अमेरिकीहरूको सौभाग्य हुनेछ भन्दैछन् भने यस मामिलाका उनका नम्बर १ अफिसर एन्थोनी फाउची चाहिँ कोरोनाको महामारीले कम्तीमा २ लाख अमेरिकीहरूको ज्यान जानसक्ने सम्भावनाको कुरा गर्दैछन् ।
२. ज्ञानेन्द्रले दिने भनेको २ करोड
पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीबिरुद्धको राष्ट्रिय अभियानका लागि सरकारले खडा गरेको प्रधानमन्त्री राहत कोषमा बुहारी हिमानी शाहको नेतृत्वमा सञ्चालित ट्रस्ट (निजी गुठी) मार्फत २ करोड रूपैयाँ दान दिने भएका छन् भन्ने समाचार विभिन्न सञ्चार माध्यममार्फत प्रकाशमा आएको छ। अहिले भाइरल भएको यो समाचार सत्य हो भने यो नै यी मख्खिचुस महाराजले आफ्नो जीवनमा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो राशीको दान हुनेछ ।
ज्ञानेन्द्र शाहले देखाएको यस दानवीरताको चतुर्दिक् स्वागत भएको छ जसको उनी हकदार पनि छन् । तर यस सन्दर्भमा उनका चरणदासहरूले गरेको उनको चर्को जय जयकारलाई भने त्यति सुपाच्य विषय मान्न सकिँदैन । एउटी खास महिलाको गर्भबाट जन्म लिएको एउटै मात्र आधारमा केटाकेटी अवस्थामा नै अर्बपति भएका र पछि गएर अपुतालीमाथि अपुताली थपिई मुलुककै धनाढ्यतम् खर्बपति बन्न पुगेका व्यक्ति ज्ञानेन्द्रले "आफ्ना प्यारा देशवासीहरू" लाई संकट परेका बेलामा जाबो २ करोड दान दिनु खासै ठूलो कुरो बिलकुलै थिएन । तर उनका चारण-गणलाई यो सानो व्यवहारगणितको हिसाब- किताब कसले सम्झाइदेओस् ? उनीहरू बुझ न सुझ खुशीले उफ्रेको उफ्रै छन् ।
वास्तवमा, ज्ञानेन्द्र शाहले काकताली परेर पाएको यस देशको सिंहाशन शक्ति र धन दुवै कुरोलाई बढी भन्दा बढी आफैँमा केन्द्रित गर्ने अवाञ्छित लालचका कारण सधैंका लागि गुमाएका हुन् । वि. सं. २०५८ साल जेठ १९ गते नारायणहिटी राजदबारमा घटित आमहत्याको भयानक घटनामा उनका दाइ महाराजाधिराज वीरेन्द्रको सम्पूर्ण वंशनाश भएर गद्दीनशीन हुने अवसर पाएका यिनले आधुनिक समयको माग अनुसार सत्तामा जनताका प्रतिनिधिहरूसँग आवश्यकता अनुसार साझेदारी गर्दै अपुतालीमा पाएको अथाह सम्पत्ति राष्ट्रकै नाममा समर्पित गर्न सकेको भए यिनको हातबाट राजदण्ड कहिल्यै पनि खोसिदैनथ्यो । राजा आफ्ना थान्कामा बसिरहेका हुन्थे भने हामी नेपालीहरू पनि आफैँले बनाएको दैत्याकार र भ्रष्ट व्यवस्थाको कैदी भएर दिन प्रतिदिन अधपतनको बाटोमा हिँडिरहेका हुने थिएनौँ शायद ।
३. स्वदेश फर्केको नाङ्गो मान्छे
कोरोना भाइरसको महामारीका कारणले त्यहाँको सरकारले पूरै देशभरि २१ दिनको लकडाउन गरेपछि परदेशमा भोकै मर्नुभन्दा देशको पखेरामा गएर नै मिट्टी बिसाउने निश्चय गरेर भारतबाट आएको (सम्भवत: दैनिक ज्यालादारी मजदूर) एउटा अभागी नेपाली गज्जब तमासाको विषय बनेको छ । महाकाली नदीमाथि बनेको पूलबाट नेपालमा पस्न खोजेको उसलाई यताको प्रहरीले किन हो प्रवेशाज्ञा दिएन, खेदेर दशगजा कटाइदियो । त्यो पहाडिया पनि रहेछ ज्याद्रो ! पूलको बाटो रोके के भयो त पौडिदै भए पनि मातृभूमिको धर्तीमा माथा टेकिछोड्छु भनेझैँ उ महाकाली नदीमा हेलियो र दशगजा पार गरी नदीको यतापट्टिको किनाराको आफ्नो माटोमा आइपुगेर लम्पसार पर्यो ।
एउटा कट्टु बाहेक सर्वाङ्ग नाङ्गो, महाकाली नदीको नेपालपट्टिको किनारामा आएर पल्टेको उसलाई नेपाल प्रहरीले गिरफ्तार गरेर एउटा बजारको बाटो कतै लगिरहेको देखिन्छ सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा । बीचमा स्वदेश फर्केको त्यो नाङ्गो मान्छे छ । उसको दायाँबायाँ र पछाडि पुलिसका सिपाहीहरू छन् । पुलिसहरूको अनुहारमा पढ्न नसकिने अस्पष्ट भाव थपक्क बसेको देखिन्छ तर उसको अनुहारमा भने दृढ निश्चयको तीखो चमक फैलिएको छ । पुलिसको रवाफदार वर्दी लगाएका र नाक-मुख छोप्ने कपडाको मास्कको पातलो पर्दामा लुकेका जस्ता लाग्ने ती सिपाहीहरू भन्दा कता हो कता सुहाउँदो परिधानमा सजिएको झैँ लाग्यो त्यो नाङ्गो नेपाली मलाई ।
मेरो देशको सत्ता र व्यवस्थालाई यी प्रश्न :
# आफ्नो जमीनतिर फर्किन चाहिरहेको त्यो अदना व्यक्तिलाई न्युनतम् मानवीय प्रतिष्ठासम्मत व्यवहार गर्न मिल्दैनथ्यो?
# त्यसको शरीरमा एउटा काम्लो हालिदिएर भए पनि त्यसको इज्जतको रक्षा गर्न सकिंदैनथ्यो।
# कोरोनाको सन्दर्भमा भारतमा मजदूरी गर्न गएका नेपालीहरूले स्वदेश फर्किने अधिकार पूर्णत: गुमाएका हुन् ? हुन् भने कुन कानूनले?
# स्वदेश फर्किरहेका नेपालीहरूमाथि गरिने यस प्रकारको ब्यवहारमा कोरोना टेस्ट र क्वारेन्टाइन सम्बन्धी ब्यवस्थापनमा सरकार पूर्णत: असफल भएको सत्य प्रतिविम्वित भएको हो ?
आजको नेपालमा सरकार चलाइरहेका मानिसहरूले मेरा यी प्रश्नको जवाफ देलान् जस्तो चाहिँ मलाई लाग्दैन ।