कोभिड–१९ ले संसार नै हल्लायो। मैले त यसलाई तेस्रो विश्व युद्वको संज्ञा समेत दिएको छु।
यही रोगले हिजो आज पृथ्वीमा नरोएका देश सायदै होला। हरेकमा दिनानुदिन तनाब बढिरेहेको छ। शहरहरू सुनसान छन्। बन्दाबन्दीले मानिसहरु आजित बनेका छन्। सबैलाई बाँच्नु छ। बाहिर हिँड्डुल गर्नसक्ने अवस्था कतै पनि छैन। चुपचाप कोठा भित्र बस्नुबाहेक अर्को विकल्प पनि त छैन, त्यसैले बसिरहेका छौं।
भारतमा बन्दाबन्दी (लकडाउन) को अवधि लामो छ। केन्द्रीय सरकारको निर्देशनमा सबै राज्यहरू जनताको दैनिकीप्रति चिन्तितः र जिम्मेवारीसमेत देखिएका छन्।
भारतीय नागरिकसमेत जसोतसो सरकारको निर्णयप्रति समर्थक बनेका छन्। यो कुनै राजनीतिक खिचातानीको विषय होइन, यो समयको माग हो। हरेक देशका जनताले सरकारको नियम पालना गर्नु यतिबेलाको आवश्यकता हो।
नेपालमा पनि कोरोना भाइरसको त्रास बढिरहेको छ। संक्रमित बिरामी बढ्न थालेपछि, सरकारले बन्दाबन्दी गरेको छ। यो सरकारको सम्मानजनक निर्णय छ। नेपाल सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत प्रवासमा लाखौं नेपालीहरू बसोबास गर्ने कुरा बिर्सिएकोप्रति प्रवासी नेपालीको ठूलो चित्त दुखाई छ।
यहाँ बसेर काम गर्ने पनि नेपाली जनता हुन्। यी मानिसले बगाएको पसिनाको एक रूपैयाँ भए पनि तपाईँ चढ्ने चिल्लो गाडीमा लगानी छ। भारतमा कोरोनाको आतंक तिब्र फैलिरहेको छ। नेपालीहरु ठाउँ–ठाउँमा अलपत्र परेका छन्। उनीहरु सुरक्षित छैनन्। आफ्नै देशमा फर्किन्छु भन्दा, किन सरकारले वास्ता गर्दैन – प्रवासीको प्रश्न?
सरकारको नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई हाम्रो आग्रह छ– गाउँ जान चाहानेलाई लैजाउ, नत्र भारत सरकारसँग समन्वय गरेर नेपाली जनतालाई सुरक्षित र ढुक्क साथ बस्ने प्रबन्ध मिलाउ।
चीनमा रहेका नेपालीलाई जहाजमार्फत नेपाल ल्याउने काम निकै राम्रो थियो। खै... त – यता सरकार देखिएको, भारतमा रोइरहेका के नेपाली जनता होइनन् – प्रधानमन्त्रीज्यू? एक पटक फर्किएर भारतमा बसोबास गर्ने नेपालीहरुको जनजीवन हेरौं त? कस्तो अवस्थामा बाँचिरहेका छन्। जनताले सरकार खोज्ने यस्तै बेलामा होइन र?
तपाईँको काम गर्ने इच्छाशक्ति र आत्मविश्वासप्रति पूर्ण सलाम छ। पछिल्लो केही समय नेपाली जनताले इच्छाएको र आशा गरेको नेता मध्ये एक हो। तर पनि अब तपाईँबाट धेरै आशा गर्नु मुर्खता हुन्छ, कि? तपाईँको वरिपरि घुम्ने गोकुल बाँस्कोटा, बिष्णु रिमाल, भानुभक्त ढकाल र सूर्य थापाजस्ता ‘अवसरवादी’ पात्रले तपाईँको आशा र जनताको अपेक्षामा होली खेलिरहेका छन्। बस्... हाम्रो आग्रह – चम्चादेखि सावधान?
प्रधानमन्त्रीज्यू – नेपालभारत सीमा विवाद कहाँ पुग्यो? हुनत, यतिबेला यो प्रसंग लिकाल्ने बेला होइन तर सन्दर्भले तान्यो। तपाईँले लाखौं नेपालीहरुको जीवन रक्षा र कुटनीतिक सम्बन्ध स्थापित गर्न ढाका टोपी लगाएर दिल्लीमा चिल्लो गाडी चढ्न पठाएका राजदूत कमरेड के गर्दै होलान्?
प्रधानमन्त्री ज्यू – तपाईँलाई दिल्ली दूतावासले के कति काम गरिरहेको छ, केही याद छ? कि, निलाम्बर आचार्यलाई राजदूत बनाउनु अघि नै थाहा थियो – दिल्ली दूतावासबाट केही काम हुनेवाला छैन भन्ने? राजदूत आचार्य मिठो बोल्नुहुन्छ, भनिन्छ नि कुराले चिउरा भिज्दैन। कोरोना आतंकले प्रवासी नेपालीहरु आतंकित बनेका छन्, तर दूतावासले पटक–पटकको प्रयासपछि मात्रै फोन उठाउँछ। यस्ता पात्रहरु किन दूतावासमा राखिएको होला? ताकी जनताका कुरै सुन्न चाहदैनन्। दूतावासले कसैका फोन उठाउँदैन।
परराष्ट्रमन्त्रीज्यू – तपाई त भन्नुहुन्छ गिद्धले सिनो मात्रै हेर्छन् – यी दिल्ली दूतावासका जागिरेहरुले के हेरिहेका छन्, होला?
प्रधानमन्त्री ज्यू – तपाईँलाई थाहा छ? भारतमा अलपत्र परेका नेपाली कसरी बाँचिरहेका छन्? उनीहरुको उद्धार कसले गरिरहेको छ? के दूतावाससँग डाटा होला – पक्कै पनि छैन। किनकि, दिल्ली दूतावास नेपाली जनताको लागि होइन? दूतावासमा भात खाएर बसिरहेका कर्मचारी नेपाल सरकारको आवश्यकतामा आएका हुन् कि, आफ्नै चाहानामा आएर बसेका छन्? यस्ता कर्मचारी र राजदूतबाट नत प्रवासी नेपालीहरु सुरक्षित हुनेछन्, न देशको कुटनैतिक सम्बन्ध नै राम्रो र जीवन्त हुन्छ।
अन्त्यमा, अनुरोध छ – ओली ‘बा’ दूतावास काठमाडौंबाटै चलाउँ र तिम्रा राजदूत फिर्ता लैजाउ!