विश्वब्यापी महामारी फैलिएको COVID-19 को संक्रमण रोकिने कुनै लक्षण देखिएको छैन। उत्कृष्ट स्वास्थ्य व्यवस्था भएका अमेरिकी र युरेपीली मुलुकहरूसमेत घुँडा टेकिसकेका छन्।
यी पंक्तिहरू लेख्दासम्म विश्वका १९९ राष्ट्रमा ७ लाख ३६ हजारभन्दा बढी संक्रमित छन् भने ३५ हजार बढीको ज्यान गइसकेको छ। संक्रमितको १८ प्रतिशत मृत्यु हुँदा यद्यपी ८२ प्रतिशत मानिसहरू निको भएर घर फर्किसकेका छन्।
नेपालमा पनि ५ जनामा संक्रमण देखिएकोमा १ जना पूर्ण निको भएर घर फर्किसकेका छन्।
नेपालमा अहिलेसम्म करिब ३०० वटा मात्र आकस्मिक कक्ष तयार पारिएको छ। बिरामीको २०% लाई आकस्मिक कक्ष चाहिने भए पनि स्वास्थ्य मन्त्रालायले पर्याप्त तयारी गर्न सकिरहेको छैन। यस्तो अवस्थामा संक्रमण फैलिइहालेमा विकराल अवस्था आउने निश्चित प्रायः छ। यसर्थ हामी जस्तो न्यून पूर्वाधार भएको राष्ट्रले एउटै उपाय भनेको सकभर संक्रमण फैलिन नदिनु नै हो।
ढिलै भए पनि लकडाउन गर्ने सरकारी निर्णय सकारात्मक मान्न सकिन्छ। अहिले देखिएका COVID positive Case मा यही १-२ हप्ताभित्र विदेशहरु बाट आएकोलाई मात्र देखिएको हो। यद्यपी विदेशबाट आउने सबैलाई समय मैं क्वारेन्टाइनमा राख्न सकेको भए अवस्थाले अर्कै मोड लिने थियो।
अझ पनि स्थिति हाम्रै हातमा छ। सरकारको निर्देशन पालना गर्नुको सट्टा हामी नागरिक लकडाउनलाई नेपाल बन्द सम्झी साँझ- बिहान भीडभाड गर्ने, लखरलखर हिड्ने जस्ता कामहरु गरिरहेका छौं र यसै गरी गैरजिम्मेवारी हुँदै जाने हो भने ईटालीको भन्दा नराम्रो भयावह दुर्दशा भोग्नुपर्ने हुन्छ।
संयोगवस विश्वलाई घुँडा टेकाएको Covid 19 ले भने हामीलाई तयारीको लागि यथेष्ट समय दिएको छ, जसको सक्दो सदुपयोग गरौं।
कतिपय स्थानको क्वारेन्टाइनमा स्वास्थ्यकर्मीमाथि उल्टै हातपात भएको जस्ता लज्जित समाचारसमेत सुनिँदै आएको छ।
आम मानिसभन्दा रोगको प्रकृति र फैलावट सम्बन्धित व्यक्ति नै बढी जानकार भएर होला स्वास्थ्यकर्मीहरू बढी त्रसित र चिन्तित देखिन्छन्।
आकस्मिकबाहेक अन्य अवस्थामा अस्पताल धाउँदा बिरामी र अभिभावक दुबैलाई संक्रमणको जोखिम बढ्ने कुरा सम्झाउँदा उल्टै अनावश्यक डराएको, काम ठग्न खोजेको जस्तो आरोप लगाइएका छन्।
मेरो अहिलेको समयमा शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत रहँदाको अनुभवमा पनि कतिपय बिरामीहरू कार्यालय तथा विद्यालय बिदा भएकाले सामान्य जाँचहरु गराउन आइरहेको पाएको छु।
अब सर्वसाधारणले यस रोगको संबेदनशीलता नबुझ्ने हो भने राज्य सयंन्त्रले मात्र भबितव्य रोक्ला भन्ने सोच्नु मूर्खताबाहेक अरू केही हुँदैन। जुन कुराको ज्वलन्त उदाहरण ईटाली बनेको देखिन्छ।
स्वास्थ्यकर्मीको लागि अत्यावश्यक ब्यक्तिगत सुरक्षा पोशाक नलगाई परीक्षण गरेमा स्वयं स्वास्थ्यकर्मी, उनका घर-परिवारलगायत अन्य व्यक्तिसमेत संक्रमित हुने जोखिम बढ्दो छ।
त्यसैले अहिलेको मुख्य माग भनेकै सुरक्षा सामग्री हो। तर, उच्च पदस्त निकाय सुरक्षा सामाग्री पुर्याउने भन्दा पनि भ्रमित कुरा गरेर निकम्मापन प्रस्तुत गर्दैछन्। यसको पछिल्लो उदाहरण स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवज्यूको अभिव्यक्ति लिन सकिन्छ।
स्वास्थ्यकर्मी निरास अवश्य छन्। तथापि पेशागत धर्मबाट विचलित भने छैनन्। आ-आफ्नै तरिकाले सुरक्षा सामग्री बनाएर भए पनि उपचारमा दिनरात खटिरहेका छन्। तर, के ती सामाग्रीहरू संक्रमण रोक्न सक्षम होलान्? यो भने अर्को बहस को बिषय बन्न सक्छ।
स्मरण रहोस् हतियार र तालिम बिनाको योद्धा कहिल्यै युद्ध जित्न सक्दैन। तसर्थ आवश्यक सुरक्षा सामग्री र तालिम प्रदान गरि स्वस्थ्यकर्मी तथा अन्य बिरामीलाई संक्रमणबाट बचाउनुपर्छ।
यस महत्वपूर्ण घडीमा हामी सबै एक जुट भई सरकारको निर्देशन पालन गरौं। सरकारले पनि समयमै संक्रमण पहिचानका लागि COVID-19 को टेस्ट गर्ने प्रविधिको पहुँच देशैभरि पुर्याउनु जरुरी छ।
विदेशबाट तथा पोजिटिभको सम्पर्कमा रहेका सबैलाई खोजेर क्वारेन्टाइनमा राख्न ढिला गर्नुहुन्न। हामीसँग अहिले गाउँ गाउँमा जनताप्रति उत्तरदायी बहन गर्ने जनप्रतिनिधि पनि भएकाले केन्द्रस्तरबाट मापदण्डहरू बनाएर कार्यान्वयन गराउने अवसर पनि छ।