‘पहिले उनीहरू
कम्युनिष्टलाई खोज्दै आए
म चूप रहेँ
किनभने म कम्युनिस्ट थिइनँ
त्यसपछि उनीहरू यहुदीलाई खोज्दै आए
म चुप रहें
किनभने म यहुदी थिइनँ
त्यसपछि उनीहरूक्याथोलिकलाई खोज्दैआए
म चुप रहें
किनभने म प्रोटेस्टेन्ट थिएँ
त्यसपछि उनीहरू मलाई नै खोज्दै आए
मेरो लागि बोलिदिने कोही थएन ।’
– मार्टिन निमोलर
नेकपाका हरेक नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आज पटकपटक पढ्नुपर्ने यो कविता अंश निकै मार्मिक छ ।
सरकारका हरेक मन्त्रीहरूले त झनै मनन गर्नु अपरिहार्य छ । किनभने, हिजो देशलाई बिकृति र बेथितिको दलदलमा पुर्याउनेहरूको दुष्ट र अपराधिक हमला छानीछानी चलिरहेको छ ।
तिनले भ्रष्टाचारको कथा आफैँ लेख्छन्, आरोप आफैँले लगाउँछन्, भ्रष्टाचारी आफँैले करार गर्छन् र रिस उठ्नासाथ त्यस्तो पगरी लगाइदिन्छन् ।
आफ्नो रजगज गुमेकोमा असैह्य छट्पटी छ किनभने लामो समयदेखिको हालीमुहाली अहिले चलेको छैन । मुठ्ठीभरको स्वर्गमा तनाव छ । र, यो दुश्चक्र जारी छ ।
अनि शिकार खेल्ने उपक्रम चलिरहेको छ- योग्य, कामकाजी र निष्ठाकासाथ जिम्मेवारी बहन गरिरहेका आशालाग्दा व्यक्तिहरूविरूद्ध !
रवीन्द्र अधिकारीलाई केही निर्णय नै नगरेको तथाकथित वाइडबडीको प्रपंचमा बदनाम गर्न लखेटियो, उहाँलाईदजीवनपर्यन्त एकथरि दुष्टहरू लखेट्न लागिपरे । गोकुल बाँस्कोटा अर्काथरि दुष्टहरूले सत्यजस्तै लाग्ने झूट (डीप फेक) को प्रपञ्च रचे र निशाना बनाइनुभयो ।
गुठी विधेयकमा पद्मा अर्याल र शेयर बजारको कृत्रिम संकटको लखेटाइमा परेर पनि डा. युवराज खतिवडा बल्लबल्ल जोगिनुभएको छ । तर, निशाना निरन्तर सोझिरहेकै छ !
योगेश भट्टराईलाई लखेट्न नपुगेर आफ्नै योग्यता र पौरखमा नर्सिङ काउन्सिलको रजिस्टार हुनुभएकी श्रीमती विन्दा घिमिरेविरूद्ध जालसाजी गर्ने अपराधिक प्रयाश भयो, तर त्यस नियोजित कृत्यको कुनै पार चलेन ।
अहिले कोरोना महामारीविरूद्द अहोरात्र खटिरहनुभएका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियतवश लखेटाइमा पारिनुभएको छस हिजो अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत मौज्दात राख्न बिर्सनेहरू वा स्वास्थ्य मन्त्रालयको खरिदमा नाजायज हालीमहाली र सेटिङ चलाएर बसेकाहरूको शहरमा कोलाहल छ ।
तिनीहरू एक दिन चिकित्सक र नर्सहरूले पीपीई नपाएर कसरी महामारीको उपचार गर्छन् भनेर उचाल्छन् । जो हो कि जस्तो सुनिन्छ !
अर्काे दिन मन्त्रीले सेल्फ क्वारेन्टाइनमा बस्ने भन्न मिल्छ ? सरकारले सारा व्यवस्था गर्नुपर्दैन ? भन्दै उफ्रन्छन् !
तेस्रो दिन अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किदा तेर्साइएको क्यामेरासँग नबोलेर पाहुना आएका हुनाले हतारमा छु भनेको एउटा अंश टिपेर हुर्मत लिन्छन् ! जबकि जहाँ पायो त्यहाँ बोल्नैपर्ने कुनै करकाप र बाध्यता हुँदैन । नो बाइट भन्न मज्जाले पाइन्छ ।
चौथो दिन स्वास्थ्य सामग्री नल्याउने ? भनी तिनैले आगो बाल्छन् ।
पाँचौ दिन जहाज समग्री लिन प्रस्थान गरेपछि सत्यजस्तै गरी झूठ पस्कन्छन्– २० करोड भ्रष्ट्राचार भनेर ! कठै तिम्रो मनोदशा ? कति दयनीय हर्कत ? सबै तिमीहरूजस्तै त होइनन् र पक्कै त्यस्ता छैनन् नै ।
काँक्रो चोरेर आफूले खाने, अनि बियाँ अरूको गालामा टाँसिदिएर दोष लगाइदिने र बदनाम गर्ने ? ‘फाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखेको’ जस्तै छ यो दुष्टता र पाखण्डीपन । यति ठूलो राष्ट्रिय संकटमा पनि रचनात्मकसम्म नभएर यत्रो जालझेल ?
यस्तो नीचता, दुष्टता र डीप फेकका विरूद्द एकजुट भई नलडे यो षडयन्त्र र घेरा हालेर अप्ठेरोमा पारी मार हान्ने रवैया निरन्तर जारी रहनेछ ।
अहिले आफूबाहेक अरू, सरकार सञ्चालनमा रहेका व्यक्तिहरू र मन्त्रीहरूलाई त हो भनेर खुच्चिङ कसैले नगरे हुन्छ।
यता कसले कस्ता टिप्पणी र स्टाटसहरू पोष्ट गरिरहेको छ ? जनताले निगरानी सबैको गरेका छन् ।
खासमा यो व्यक्तिविशेषभन्दा नेकपामाथिको “गजेटेड“ दलाल र भ्रष्टहरूको हमला हो । त्यसैले कसैले पनि पानीमाथिको ओभानो बन्न, आफ्नो कुण्ठा र असन्तोषमा रमाउन, अनाहक आक्रमण गरिरहँदा हाइसञ्चो मानेर रमिते बस्न र शत्रुवत् व्यवहार गर्नसमेत पछि नपर्ने वा मौन बस्ने तरिका अपनउने तरिका बदल्नै पर्छ ।
सत्यसँग त कसैको कुनै लडाई आवश्यक छैन, झूठ र बकवासहरूको सामना नगरी सत्य स्थापित हुँदैन ।यस्तो सद्बुद्धि हरेकमा बेलैमा आउन जरूरी छ । अन्यथा पछुताउनुबाहेक केही बाँकी नरहेपछि होस पाउने दिन आउने निश्चित हुनेछ । त्यतिबेला बोलिदिने कोही रहने छैन ।