तपाई‌ंमा कोरोनाको संक्रमण त छैन? यसरी घरमै बसेर थाहा पाउनुहोस् (भिडियोसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालययले घरमै बसेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको नभएको थाहा पाउने एप्लिकेशनको निर्माण गरेको छ। कोरोनाको लक्षण देखिने वित्तिकै स्वास्थ्य संस्था जाँदा संक्रमणको जोखिम अझ धेरै बढ्ने भएकाले घरमै बसेर आफूलाई संक्रमण भए नभएको थाहा पाउने एप्लिकेशन तयार पारेको हो।

सेवाग्राहीले उक्त एप्लिकेशनमा इन्ट्री गरेको लक्षणका आधारमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन केन्द्रले मूल्याङ्कन गरेर सुझाव दिने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। एप्लिकेशनमा कसैलाई आफूलाई कोरोना संक्रमणको शंका लागेमा उक्त एप्लिकेशनमा इन्ट्री गरेर स्वमूल्याङ्कन गर्न सक्ने उनको भनाइ छ। 

उपत्यका बाहिर पनि कोरोना संक्रमित भेटिएकाले यसको संक्रमण मुलुकको जुनसुकै भागमा देखिनसक्ने भन्दै संक्रमितको पहिचानका लागि एप्लिकेशन तयार पारिएको मन्त्रालयले जनाएको छ।

‘इन्टरएक्टिभ म्यापिङ’ गर्न सकिने सुविधा सहितको उक्त एप्लिकेशनमार्फत सेवाग्राहीले आफू नजिकको स्वास्थ्य संस्थाको बारेमा समेत जानकारी लिन सक्नेछन्। उक्त एप्लिकेशनले सेवाग्राहीलाई आफूलाई जस्तो प्रकारको उपचार सुविधा चाहिएको हो उक्त सुविधा नजिकको कुन अस्पतालमा छ भनेर जानकारी गराउनेछ। त्यसबाहेक एप्लिकेशनले मन्त्रालयले जारी गरेको सबै सूचना समेत थाहा पाइनेछ।

उक्त एप्लिकेशनको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार उद्घाटन गरे। उद्घाटन गर्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सावधानीपूर्वक लडाइँलाई व्यवस्थित गरिरहेको बताए। उनले नेपालमा हालसम्म ५ जनामा मात्र संक्रमण भेटिएपनि बाहिर कतै नगएकोमा यो संक्रमण नभेटिनु सुखद पक्ष भएको बताए।

मन्त्री ढकालले चाँडै सातवटै प्रदेशमा ल्यावसहितको परीक्षण केन्द्र बनाएर तत्काल परीक्षण गरिने बताए। उनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक धेरै सामग्री प्राप्त गरेको बताए।

प्रकाशित मिति: : 2020-03-30 02:31:00

प्रतिकृया दिनुहोस्