थपिएछन् अनुहारमा अलि बढि मुजा
हिडाइ पनि फेरिएछ, पहिलेभन्दा
कम देख्न थाल्नुभएको हो कि, आँखा
प्रष्ट छ, बोली उस्तै
उसैगरी सुमसुम्याउनु हुन्छ, मेरो कपाल
उस्तै न्यानो छ, अंगालो
ओ हो, मैले त हजुरआमालाई धेरै पछि देखें, यति नजिकबाट
बिर्सिएछु, उहाँले अंगालो मार्दा अनुहारमा ठोक्किने न्यानो श्वास
हाम्रो चकचकमा रिसाउँदा तन्किने र खुम्चिने आँखीभुई
हामीलाई तातोपानी, दूध दिँदाको जाँगर
स्कूल, कलेज, साथीहरुसँगको भेटघाट
सिनेमा, मोबाइलका खेल
भुलेछु, त्यसैत्यसैमा
एउटै छानोमुनी भएर पनि
जुधेनन हाम्रा आँखा
हतारमा रहें, सधै
फर्किएर हेरिन, घर बाहिर जाँदा
ध्यान दिइन, सन्ध्याकालिन प्रतिक्षा
निर्जिब थिए मेरा आँखा
देख्न सकिन,उहाँको स्नेह
केमा अल्झिएको थियो, मेरो मन ?
थाहा छैन, अरु कति दिन नजिक हुनेछौं हामी यसैगरी
हतार छैन, अहिले कतै जान
न कलेज, न साथीहरु
सुनसान छ, सडक
बन्द छ कोलाहाल
शान्त छ, शहर अनि मेरो मन
मौका हुनेछ, यो म आफूलाई हेर्ने
कहाँ भूले, कहाँ चुकें पर्घेल्ने
किन निर्जिव रहे मेरा आँखाहरु
किन भित्ता मात्र रहे, घर मेरा लागि
हजुरआमा किन एक बुढि मात्र हुनुभो, मलाई
किन छोएनन् मेरा औलाहरुले उहाँका कपाल, उहाँले जसरी
हेर्नेछु, बुझ्नेछ, बदल्नेछु आफूलाई
सकिँदा एकान्तवास,
म हुनेछु, अरु परिपक्क