कोरोना भाइरस अर्थात कोभिड–१९को सङ्क्रमणबाट बच्नका लागि भारतसँग सिमाना जोडिएका १६ नाकासहित सबै नाका आजदेखि सप्तरी प्रशासनले पूर्णरूपमा बन्द गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी नाकासहित भारतसँग सिमाना जोडिएका सबै नाकाहरु बन्द गरिएको छ। कोभिड–१९ सङ्क्रमणबाट जोगिनका लागि सबै नाका बन्द गरिएको भए पनि नाकामा अति आवश्यक समस्या र काम परेका बेला त्यसलाई विशेष स्वास्थ्य जाँच गरेर आउजाउ गर्ने व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिए।
सप्तरीको सिमानासँग जोडिएको विहार राज्यमा भाइरस सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाइएको छ। भारतबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत सप्तरी प्रशासनले मिलाएको जनाइएको छ।
क्वारेन्टाइनमा राख्नका लागि राजविराजस्थित बन्द अवस्थामा रहेको साइकृष्णा अस्पतालमा ५०÷६० श्यया तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
भारतबाट आउने व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राख्ने तथा त्यसपछि अवस्था पहिचान गरेर मात्रै घर फर्काउने वा आइसोलेसन कक्षमा पठाउने तयारीसमेत गरिएको छ। त्यस्तै आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ श्यया तथा छिन्नमस्ता अस्पतालमा २० श्यया, रुपनीस्थित युनिक अस्पतालमा २० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी ५६ श्यया तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
भाइरसको सङ्क्रमणबाट बच्न सबैले सावधानी अपनाउनुपर्ने भएकाले अनावश्यकरूपमा हिँडडुल नगर्न तथा घरभित्रै बस्न सप्तरी प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ।