भारतीय नागरिक र सवारीसाधान आवागमनमा रोक

पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतीय नागरिक र भारतीय नम्बर प्लेटका सवारीसाधानको आवागमनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति कञ्चनपुरमा हिजो बसेको बैठकको निर्णय अनुसार भारतीय नागरिक र भारतीय नम्बर प्लेटका सवारीसाधानको आवागमनमा रोक लगाइएको हो ।

प्रहरीका अनुसार नेपालका अन्य ठाउँमा जाने भारतीय नागरिकलाई रोक लगाइएपनि महेन्द्रनगरसम्म आउनेहरुलाई भने कुनै रोक लगाइएको छैन ।

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि गड्डाचौकी नाकाबाट मात्रै दैनिक ५ हजार बढी नेपाली तथा भारतीय नागरिकहरु नेपाल भित्रिने गरेका थिए ।

यसअघि स्थानीय प्रशासनले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै महेन्द्रनगरबाट भारतका विभिन्न शहरहरुमा चल्ने मैत्री बससेवा स्थगित गरेको थियो ।

बससेवा बन्द गरिएपनि साना गाडीको आवागमनमा भने कुनै रोक लगाइएको थिएन ।

जसले गर्दा भारतीय नम्बर प्लेटका साना गाडीहरुले दिल्ली, देहरादून लगायतका शहरहरु तथा सीमावर्ती बजारबाट यात्रुहरु लिएन नेपाल आउने गरेका थिए ।

साना गाडीका कारण नाकामा स्वास्थ्य परीक्षणका लगायतका काममा समस्या उत्पन्न भएपछि सुरक्षा समितिको बैठकको निर्णय अनुसार तत्कालका लागि भारतीय नम्बर प्लेटका सवारीसाधनको आवागमन रोक्न लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।

उनले भारतका विभिन्न शहरबाट फर्किएका नेपालीहरुलाई भने नेपाल फर्किन कुनै रोक नलगाइएको बताए ।

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि रोगजारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु धमाधम घर फर्किन थालेका छन् ।  

प्रकाशित मिति: : 2020-03-21 00:53:45

प्रतिकृया दिनुहोस्