सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना अर्थात् कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधबार ३० अप्रिलसम्मलाई बन्द गर्ने निर्णय गरेको हो।
निर्णयको २ नं. बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने।’
यस्तै सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो।
त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ। सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ।
यस्तै सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको छ।
‘चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने’, बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको छ। समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको छ।
चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो।
यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ।