अपाङ्गता भएको व्यक्तिले प्रायः परिवारबाट माया ममता नपाउनू, समाज र राज्यबाट उचित सहयोग र सेवा सुविधा नपाउनूजस्ता समस्याको सामना गरिरहनूपरेको छ।
यस्तै ग्रामिण भेगका अपाङ्गका लागि त गुणस्तरीय शिक्षा दिक्षासमेत टाढाको देवता बनेको छ। बाहिरी आँखा बन्द भए पनि केही दृष्टिविहीनहरू अन्धकारमा उज्यालो खोजिरहेका हुन्छन्। अन्ततः सफल भएरै छोड्छन्।
हाम्रै समाजमा कोही दृष्टिविहीनहरू अधिकृत भएका छन् भने कोही शिक्षक तथा कोही गायक र केही दृष्टिविहीनहरू पत्रकारिता क्षेत्रमासमेत काम गरिरहेका छन्। यस्तै सामाजिक क्षेत्रमा काम गरिरहेका दृष्टिविहीन हुन् टिकाराम पौडेल।
३१ वर्षिय टिकाराम गुम्लीमा जन्मिए पनि उनको बाल्यकाल नवलपरासीको सुनवलमै बित्यो। मोतिबिन्दुबाट दुबै आँखाको ज्योति गुमाएका टिकाराम लो भिजन भएका दृष्टिविहीन हुन्।
सानामा अरू साथीहरूसँगै फुटबल लगायतका खेलहरू खेल्ने उनी अरूको शोषण र दमनमा बस्न रूचाउँदैनथे।उनलाई कक्षा चारमा पुग्दासमेत आफू दृष्टिविहिन छु जस्तो लाग्दैनथ्यो रे। उनले विगत सम्झदै बिएल नेपाली सेवासँग भने, ‘म चार कक्षा पढ्दासम्म आफूलाई दृष्टिविहीन छु जस्तो लागेन। तर कक्षा पाँचमा पढ्दै गर्दा किताबको अक्षर सानो हुँदा मात्र म आँखा नदेख्ने रहेछु भन्ने लाग्यो।’
एक वर्षको उमेरमा मोतिबिन्दुले सताएपछि पोखरामा त्यसको अपरेसन गरेका थिए रे। त्यहाँ सफल नभएपछि उनले साढे तीन वर्षको उमेरमा भैरहवाकै रड अम्बिका आँखा अस्पतालमा पुनः दुवै आँखाको अप्रेसन गरे। तर पनि उनको आँखाको भिजन आउन सकेन। केही प्रतिशत मात्र उनी देख्थे।
पारिवारिक अवस्था कमजोर भएका टिकारामको बुबाले जोतिष काम गर्थे भने आमा गृहणी थिइन्। उनकी आमाले खेतमा कसैको मेला पात गएर घर खर्च पुर्याउने गरेकी थिइन्। उनलाई विद्यालयको पढाइ पुरा गर्ने क्रममा विद्यालय व्यवस्थापन समिति र सिबिआर नामक संस्थाले सहयोग गरेको थियो।
परिवारमा माइलो छोरो टिकारामको दाजु र दिदी दुबै दृष्टिविहीन हुन्। २०६५ सालमा सुनवलको ज्योति माविबाट प्रथम श्रेणीमा एसएलसी पास गरेपछि सबैभन्दा बढी खुसी उनकी आमा भएकी थिइन्। ट्यूमर रोगबाट ग्रसित उनकी आमा पनि उनले एसएलसी पास गरेपछि बोलेकी थिइन्। 'आमा ट्यूमरले थला पर्नु भएको थियो, बोल्न पनि सक्नुभएको थिएन। तर, रिजल्ट आउँदा आमा बोल्नु भएको थियो, खुसि हुनु भएको थियो', उनले विगत सम्झिए।
ट्युमर रोगबाट २०६५ सालमा आमा गुमाएका उनलाई आमाले जाँदा जाँदै भनेको कुरा स्मरण गरे- 'आमाको निधन हुनुअघि उहाँले मामालाई यदि म मरिहालेँ भने पनि भाञ्जालाई तिमीले पढाउनु भन्नुभएको थियो।' आमाको मृत्युमा विक्षिप्त पौडेलका बुबाले आमा बित्ने बित्तिकै अर्को बिहे गरे। यसपछि बुबाको पनि माया पाउन छोडेका उनलाई मामाले काठमाडौं ल्याए।
उनी मामाघरमै बसेर बनस्थलीको सहिद रामनाथ दाहाल कलेजमा शिक्षा विषय लिएर पढाइलाई निरन्तराता दिए। जीवनलाई संघर्षको मैदान ठानेका उनी काठमाडौंमा १०+२ सकेर पुनः बुटवल फर्किए। बुटवल बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरिसकेका पौडेललाई अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने इच्छा थियो।
आफ्नै दिदी रूपन्देही नेत्रहीन संघको सदस्य भएकाले उनलाई यो क्षेत्रमा घुलमिल हुन कुनै गाह्रो भएन। यहीबाट उनी अपाङ्गसँग घुलमिल भए।
२०६८ सालदेखि रूपन्देही नेत्रहीन संघको गतिविधिमा प्रत्यक्ष रूपमा जोडिएका उनी हाल रूपन्देही नेत्रहीन संघको सचिवको रूपमा काम गरिरहेका छन्।
नेत्रहीन युवा संघ रूपन्देहीका अधक्षसमेत रहेका उनलाई आफू जस्तै अपाङ्गता भएका व्यक्तिको समस्या उठान गर्ने र समाधान गर्नका लागि संस्थामा लागेको बताए। उनले पछिल्लो समय दृष्टिविहिनलाई हेरिने दृष्टिकोण केहि फरक भएको बताए।
'हाम्रो सुनवल तिर पहिला दृष्टिविहिनलाई हेयको दृष्टिले हेरिन्थ्यो। आजभोलि केही हदसम्म परिवर्तन भएको छ', उनले भने, 'जनमानसले अपाङ्ग पनि यही समाजका अङ्ग हुन्। अवसर पाए केही गर्न सक्छन् भन्ने राम्रोसँग बुझिसकेका छन्।'
पौडेलका अनुसार अझै पनि समाजले अपाङ्गको शैक्षीक, वैवाहिक, आर्थिक र पारिवारिक अवस्थाको बारेमा समाजले बुझ्नसेको छैन। २०५४ सालमा स्थापना भएको नेपाल नेत्रहीन संघको रूपन्देही शाखाले दृष्टिविहीनलाई अडियो पुस्तक उपलब्ध गराइरहेको र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र आवश्यक सामाग्रीको लागि सम्बन्धित निकायमा लडिरहेको उनले बताए।
यस्तै संस्थाले विभिन्न अपाङ्ता भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था देखि आय आर्जनका लागि बिउबिजनसमेत उपलब्ध गराइरहेको छ।हालसम्म संस्थाले सात जनालाई बिउबिजन उपलब्ध गराएर आत्मनिर्भर बन्न सघाउ पुर्याएको उनले बताए।
साथै दृष्टिविहिनका लागि विभिन्न तालिम, अगरबत्ती बनाउने तालिम तथा कम्प्युटर तालिमसमेत दिने गरेको उनले बताए। आजिवन सामाजिक कार्यमा लागिरहने पौडेलले सरकारी जागिर खाएर विवाह गर्ने योजना बनाएका छन्।