हामी आफैले आफ्नो देश चिन्न सकेका छैनौं

भन्नलाई नेपाल कृषि प्रदान देश मानिन्छ। तर, देशको कुल भूभागमध्ये १७.९७ प्रतिशत भूमि मात्र कृषि योग्य छ। यसमा पनि १८ प्रतिशत भूभागमा मात्र खेती हुने गरेको छ। यस कारण पनि नेपाल संसारका गरिब देशको सूचीमा पर्न गएको हाे।प्राकृतिक सम्पदाका हिसाबले पनि नेपाल धनि मुलुकै सूचिमा पर्छ। विश्वको सर्वोच्च शिखर, जलस्रोत, बहुमूल्य जडीबुटी, सुनखानी, पेर्टोलखानी हाम्रै देशमा पाइन्छ। 

तर, यति हुँदा पनि हाम्रो देश गरिब किन छ? सम्भवत यो प्रश्न मेरो मात्र होइन होला, आम नेपाली सबैको हो।

यसकाे साेझाे उत्तर–अध्ययन र प्रयोगको कमिका कारण हाम्रो देश धेरै सम्भावनाबाट बञ्चित भएको छ। 

हिमाली परिवेशबाट हेर्ने हो भने जडीबुटी उत्पादन, पशुपालन र त्यसको सदुपयोगबाट देशले प्रशस्त लाभ लिन सक्छ। पहाडमा बस्नेका लागि पशुपालन, फलफुल खेती, पर्यटन, व्यापार र तराईमा बस्नेका लागि विभिन्न अन्नवाली र नगदेवालीको व्यवसायिक उत्पादन गर्न सकिन्छ।

त्यस्तै तराईका समथर भूमिमा उद्योग सञ्चालन गरेर आवश्यक सामग्रीको उत्पादन गरी स्वदेशमै आत्मनिर्भर हुन सकिन्छ। यति धेरै सम्भावना हुँदाहुँदै पनि आमनागरिक विदेश गएर खलखल्ति पसिना बगाउन र आफ्नो ज्यानलाई धरापमा राखेर काम गर्नमा सन्तुष्ट देखिन्छन्। 

स्वदेशमा कसैले लौरो टेक्ने, भारी बोक्ने अनि पढेलेखेको शिक्षित बुज्रुक व्यक्तिले खेती किसानी गरेको आँखामा पर्न हुँदैन कानेखुसी चल्छ। त्यही मान्छेले देख्छ, विदेश गएर पैसाको रुख फलाउने सपना। तर कहिल्यै देख्दैन उसले रुखबाट पैसा फलाउने सपना, हाम्रै पसिनाका थोपा थोपाको मूल्यमा छ भनेर। 

नेपालमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म खोजी हिड्दा, श्रम गर्न, कला लुकाउन खप्पिस नेपाली, त्यही समयमा विदेश गएर दिन रात नभनी आफ्नो जिउ ज्यानलाई थाती राखी, घरपरिवार छरछिमेक र सारा मातृत्वलाई त्यागेर विदेश पलायन हुँदा खुसी छन्। मान्छे जन्मन्छ, हुर्कन्छ र मर्छ । यो कहिल्यै कल्पना समेत गर्दैनन्, जन्मपछिको मरण अवश्यै छ भनेर।

अन्त्येष्टिमा चिहान बनाउन नेपालकै माटोले पच्छयाउँछ। हुँदा खादासम्मको तागत, बल नेपालमा फाल्न सके असम्भव केही छैन। विदेशी सर–समानदेखि रहनसहन, धर्म संस्कृति, बोलीचाली हरेकमा नक्कल गर्न सक्ने हामी नेपाली आफ्नो वरिपरिको परिदृश्यलाई कहिल्यै चिन्न सक्दैनौं ।

बजार जाँदा कुनै कस्मेटिक सामानदेखि टाउकोमा प्रयोग गर्ने स्याम्पु समेतमा पनि मेड इन इन्डिया, मेड इन चाइना हेर्न थाल्छौं। आफ्ना हातमा आएको सामानमा नेपाल मेड देख्ने वित्तिकै नाक खुम्चाउँछौं अनि यस्तो अवस्थामा आफै सवल र सक्षम छौ भन्न सकिन्छ त? हाम्रा आफ्नै चाडवाड र दिनचर्या अचम्मका छन्।

केही समयअघि भ्यालेन्टाइन डे अगाडी नै विश्वभरी मनाइदा हामीले पनि साताभरी विभिन्न नक्कलबाजी गरेर मनायौं तर आफैलाई जन्म दिने बाबुआमाको लागि वर्षमा १ दिन मनाइने मुख हेर्ने दिन हामी बिर्सन लागेका छौं। 

दशै, तिहार, छठ जस्ता परम्परागत प्रमुख चाडवाड वर्षमा १ दिन मनाइन्छ। अनि यो मायाप्रेमको सम्बन्ध दर्शाउन भनौ या रङ्गीचङ्गी फुलहरुको ओइरो बढाउन वर्षमा ७ दिन प्रेम दिवस आफ्नाआफन्तजन साथीभाईसँग बसेर मनाउँदा हुन्न र?

अरे! हामी कस्तो धर्म र संस्कारमा बिकेका? साँच्चै हामी नेपाली सामाजिक रुपमा अपाच्य कुराको पछि दौडिरहेका छौं। कुनै बुढाबाले स्वदेशमा उत्पादित उनको मोटो स्वेटर लगाएको देख्दा ‘छ्या पाँखे’ भन्न सक्ने हामी नेपाली। कुनै विदेशी नेपालमा शरिरको आधा अङ्ग छोपिने कपडा लगाएर आउँदा आहा र ओहो भन्न थालिहाल्छौ। उस्तै परे छोटा, मोटा, टलकदार, टुटे–फुटेका कपडा हेर्न पछि पर्दैनौ। तर मैले अहिल्यैसम्म देखेको र सुनेकी छैन– कुनै विदेशीले नेपालीको पहिरनको नक्कल गरेको, अपवाद बाहेक।

स्वदेशमा भएका चिजवस्तुलाई बिर्सनु र नक्कलको पछि लाग्नु भनेको कदापि फाइदाजनक छैन। विदेशका कुनाकुनामा गएर कुवाको भ्यागुतो बन्दै, हो लाई हो र होइनलाई पनि हो भन्दै छातीमाथि ढुङ्गा राख्दै हास्ने हामी नेपाली खाली विदेशीको दासी भएर जिउन खोज्छौं। यहि हाम्रो विडम्बना हो।

अरु देशमा जस्तो छिमेकी राष्ट्र चीनकाे कुरा गरौं–त्यहाँका नागरिक काठमाडौंको सडक निर्माणमा लागि रहेका छन्।

उनीहरु हाम्रो देशको विभिन्न स्थानमा उत्पादित जडीबुटी ओसारी रहेका छन् । यसले गर्दा नेपालको जडीबुटी ओसार्नेहरु धनी भइसके। हामी भने दैनिक जिविका चलाउन समेत धौ धौ हुने अवस्थामा छौं । अझै विदेशीले हाम्रो देशका कुनाकुनामा डलरको लोभ बढाइरहेका छन् । डलर मोहका कारण हामी चाहीँ जस्तो सुकै जोखिम मोलेर विदेशीको दासी (नोकरी) बन्न तयार देखिन्छौं ।

कमै मात्र नेपाली दाजुभाई दिदिबहिनीले विदेशमा सम्मानित भएर व्यवसाय गरेका हाेलान। उमेर र ज्यानमा तागत हुन्जेल विदेशमा रमाएर भविष्यमा पछुताउदै नेपाल फर्कनुको विकल्प छैन। त्यसैले आफ्नो हैसियत अनुसार स्वदेशमै व्यवसाय गरेर आफ्नै मनको, आफ्नै धनको मालिक हुन छोडेर विदेशी भूमिमा किन विदेशीको दास हुने? हामीले अझै पनि आफ्नो देशलाई चिन्न सकेका छैनौं । 

विदेशीले नेपाललाई दुहुनो गाई ठानेर हाम्रो देशमा उत्पादित स्रोत साधनलाई भरपुर प्रयोग गरिरहेका छन् । तर हामी घरमा दुहुना गाई भएर पनि दुध खान पाइरहेका छैनौं । हाम्रो देश प्राकृतिक सम्पदा र बहुमूल्य सम्पत्ति तथा जलस्रोतमा धनि हुँदाहुँदै त्यसको प्रयोग गर्न सकिरहेको छैनौं।

विदेशीले हामीलाई त्यसको थोरै हिस्सा दिएर हाम्रा प्राकृतिक सम्पदाबाट भरपुर फाइदालिइरहेको छन्। देशभित्र काम अनुरुपको दाम भेट्टिन्न, एउटा नेपाली सन्तान पढेर, सिकेर, जानेर पनि इच्छा आवश्यकता पुरा भएन भन्दै डिग्री र पिएचडीको सर्टिफिकेट बोकेरखाडी मुलुक, जापान, अमेरिका, अस्ट्रेलिया जस्ता विदेशी भूमिमा पलायन हुन्छन् भने तिनीहरु पढेको के का लागि, अर्काको देशमा नोकर बन्न हो? यो कदापि हुन सक्दैन। ऋण काडेर  विदेश गएको सन्तान बाकसमा आउँदाको पिडा कसले सुन्ने ? बच्चा टुहुरो र चेलीको सिन्दुर पुछिँदाको पीडा, श्रीमती खोसिँदा एक्लो भएको पुरुषको पीडा कसले बुझ्ने ? यो जस्तो दुःखको कुरो अरु के हुन सक्ला ?

अब तपाई हामी सबैले सोच्न पर्ने बेला आएको छ– परिश्रम विनाको फल खोज्नु नेपाली विदेशमा गएर टवाइलेट सफा गर्ने परे निर्धक्कगर्ने हामीले नेपालमै केही गर्नुपर्छ भन्ने लाग्छ भने नेपालमैै पौरख गरौं । नेपालमा भएको स्रोत साधनको सदुपयोग गर्नुपर्छ । विदेशीलाई हाम्रो जडीबुटी कौडीको भाउमा सुम्पनु हुँदैन। नेपालमा उत्पादित हरेक सामानको उपयोगिता र प्रयोग सम्बन्धि अध्ययन अनुसन्धान गरेर उद्योग कलकारखाना निर्माण तथा सञ्चालन गरी सम्मुन्नत विकासका लागि सरकारको तर्फबाट उचित कदम चाल्नु आजको आवश्यकता हो।
 

प्रकाशित मिति: : 2020-03-16 02:01:08

प्रतिकृया दिनुहोस्