अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस नभएको जनाइएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी स्टेफेनी ग्रिसमले एक प्रेस वक्तव्यमार्फत् यो जानकारी दिएकी हुन्।
शुक्रबार साँंझ गरिएको कोरोना भाइरस सक्रमणको परिणाम नेगेटिव आएको प्रेस वक्तव्यमा उल्लेख छ।
राष्ट्रपति ट्रम्पले शनिबार ह्वाइट हाउसमा आयोजित प्रेस व्रिफिङमा आफूले कोरोना भाइरस परीक्षण गरेको खुलासा गरेका थिए।
उनले आफूमाथि कोरोना भाइरस हुन सक्ने भन्दै प्रश्न उठेपछि आफूले त्यसको निदानका लागि परीक्षण गराएको बताएका थिए। उनले परीक्षणको रिपोर्ट आउन एक दुई दिन लाग्ने बताएका थिए। तर, उनकी प्रेस सेक्रेटरीले भने आजै नतिजा आएको भन्दै ट्रम्पलाई कोरोना भाइरस नभएको जनाइन्।
यसअघि शुक्रबार मात्र उनका फिजिसियनले राष्ट्रपति ट्रम्पलाई कुनै पनि प्रकारको परीक्षण आवश्यक नभएको जानकारी गराएका थिए। उनले राष्ट्रपति ट्रम्प कोरोना भाइरस भएका केही मानिससँग सम्पर्कमा आए पनि त्यसबाट कुनै खतरा नभएको बताएका थिए।