केही वर्षपहिले पनि कैलाली जाँदा म आफ्नो बाल्यकालका हिउँदहरूमा खेलेको हुर्केको गाउँ गएको थिएँ, तीव्रतासित गएको थिएँ। त्यो नोस्ट्याल्जिया, त्यो स्मृति–तीव्रताको कारण स्वजन र परिवारका सदस्यहरू त्यति थिएनन् जति त्यहाँको माटो, जड्डलका ती पाटा र रूखहरू जहाँ काले घर्तीसित म भैँसी चराउन जान्थेँ, पैरा र परालका थुप्राहरू, ती दङ्गाली र राना थारु–थरुनीहरू र ती तोरी फुलेका वागहरू थिए।
सबैभन्दा स्मरणयोग्य त त्यो इमिलीको बोट थियो, जहाँ म किशोरावस्थामा आइपुग्नुभन्दा दुई वर्षअघिसम्म ती थरुनी बालिका र केही बालकहरूसित खेलवाड गरिरहन्थेँ र खेले बापत नियमित रूपले दाजुहरूको कुटाइ खान्थेँ। त्यो बोट अझै त्यही उभिरहेको छ, राना थारु केटी झुमरिया अझै पूर्णस्वास्थ्यमा थिइन्। म कैलाली गएको बखत लगभग सधैँ व्यूशाहा (मेरो गाउँ) जान्छु। त्यही इमिलीको रूखमा चढ्छु, आनन्दित हुन्छु।
अलिकति दिक्दारी मिस्सिएको आनन्द आउँछ। आनन्द किनकि त्यो बेला ऐश्वर्यपूर्ण थियो, दिक्दारी किनकि अब त्यो ऐश्वर्य रहेन, त्यो रूख र त्यो झुमरिया र यो म आमा त्यो गइसकेको ऐश्वर्यको छाया मात्र बाँकी छ। त्यही छाया अरू धेरै छायाँहरूजस्तै मलाई तानिरहन्छ। लाग्छ— मेरो जीवनको अस्तित्व नै छायाहरूको भीडमाथि आश्रित भएको छ। ब्रमज्ञानीहरू भन्छन्— संसार छाया हो, ब्रह्म सत्यम् जगत् मिथ्या।
प्लेटो र शंकराचार्य मात्र होइन, अरू धेरै ज्ञानी र दार्शनिकहरू त्यही भन्छन्। प्लेटोको ‘गुफाको बिम्ब’ भन्ने बोधकथा संसार प्रसिद्ध छ। एक गुफाभित्र तीन मानिसहरू बाँधिएका छन्, तिनीहरूको मुख पर्खालतिर छ, पछिल्तिर बलिरहेको आगोको छाया भित्तामा पर्छ, तीनैजना त्यो छायालाई नै अन्तिम सत्य भनिठान्छन्, ती तीनमध्ये एक जना बन्धनमुक्त भएर बाहिर जान सल हुन्छ।
सूर्यको प्रकाश हेरिसकेपछि त्यो गुफाभित्र पर्खालमा देखिने छाया असत्य र भ्रम हो भनिठान्छ र गुफाभित्र पसेर ती बाँधिएका दुई मित्रहरूलाई पनि सूर्य प्रकाशको सत्य र अग्नि–छायाको असत्य बुझाउन खोज्छ, तर ती दुई मित्रहरू उसको भनाईमाथि विश्वास गर्दैनन् र छायालाई नै सत्य भनि ठान्छन्।
म पनि प्लेटोका ती दुई गुफाभित्रका बन्दीहरूजस्तै छायालाई नै सत्य भनी विश्वास गरिरहेको छु। मेरो जीवनमा पनि छाया असत्य हो, सूर्यको प्रकाश सत्य हो भन्ने शास्त्र र सन्तहरू धेरै आए, आए भन्नु ठीक पदावली होइन, म गएँ भन्नु बढी उचित हुन्छ। म वेद, उपनिषद्, योगवाशिष्ठ, गीता, बाइबल, बुद्ध, धम्मपद, महावीर, शंकराचार्य, सुफीहरू, कवीर, झेन फकिरहरू, रमण महर्षि, रामकृष्ण परमहंस, कृष्णमूर्ति, ओशोलगायत धेरै घाटहरूमा भड्केँ, त्यहाँको पानी खाए’।
तैपनि अहिलेसम्म मूढ नै छु, मुर्छित छु, त्यसैले छायालाई नै सत्य मानेर हिडिरहेको छु। विश्वकवि रवीन्द्रनाथको एक गीतको बोल छ— 'रूप सागरे डुबी दिएछि अरूप रतन आशाकरी, घाटे घाटे घुरब न आर, भासिए अमार जीर्ण तरि' (अरूप रत्न पाउने आशामा मैले रूप–सागरमा डुबुल्की लगाएको थिएँ, अब त मेरो जीर्ण नाउँ नै खिइसक्यो, अब म घाटघाट घुमेर आफनो समय र ऊर्जा नष्ट गर्ने छैन)।
मेरो पनि रवीन्द्रनाथकै स्थिति छ, मेरो पनि नाउँ अब जीर्ण भइसक्यो। न त ज्ञान प्राप्त गर्न सकें न त प्रभुको अथवा प्रकाशको झलक नै पाउन सकें। रवीन्द्रनाथ महान् प्रतिभा थिए, आफनो पीडा र वेदनालाई गीतको माध्यमबाट अभिव्यक्त गरेर केही शान्ति पाउँदथे, केही विरेचनको अनुभव गर्थे।
मसित न प्रतिभा छ न त गीत गाउने क्षमता छ। प्लेटोको गुफाभित्र, सूर्यप्रकाशतिर पिठ्युँ फर्काएर बसेका छायालाई नै सत्य भनिठान्ने ती दुईजना बन्दीहरूको जस्तै मेरो जीवन र जीवन–दृष्टि गइरहेछ। म छायामा बाँचिरहेको छु— सत्यबाट धेरै टाढा छायामा बाँचिरहेको छु। शायद छाया नै मेरो अस्तित्व हो, मेरो सारतत्व हो। तत्व भन्दा पहिले अस्तित्व आइरहेछ, ‘एक्जिस्टेन्स प्रेसिडस् एसेन्स’, कतै अस्तित्ववादीहरू प्लेटो र शड्ढरभन्दा बढी बलवान् सत्य त बोलिरहेका छैनन्?
म आफैँभित्र गुन्गुनाउँछु। आफनै गुन्गुनाहट सुन्दछु, त्यही गुन्गुनाहटसित, त्यही पूर्वस्मरण, आत्मपरीक्षणको सिलसिलामा झुमरियासित खेलेको खेल, इमिलीको बोट, खरिहान, परालको थुप्रो, गुरु र दाजुहरूले परणान्त हुने गरी कुटेको, ती माहुरीहरूको गुनगुन, सुगा र अरू चराहरूको बोली एकै साथ आएर धक्का दिन्छन् र अनि म पूर्वदृष्टि लगाएर आफ्नो जीवनलाई हेर्न थाल्छु। हेराइको क्रम समाप्त नहुँदै ती दृश्य र अनुभूतिहरूको छायाजस्तै मेरो स्मृति र पृष्ठदृष्टिको द्वारनिर अनियन्त्रणीय भीड लगाउन थाल्छ।
वस्तुतः भीड छाया हो असत्य हो। यदि सत्य हो भने व्यक्ति सत्य हो, एकान्त सत्य हो। म एकान्त पनि हुन सकिरहेको छैन, सहन गर्न पनि सकिरहेको छैन, मेरो मन पनि अन्तरालहरूमा भीडतिर नै आकर्षित भइरहन्छ। स्मृतिहरूको बथान पनि केवल माया हो, किनकि गइसकेको अतीतबाट प्रभावित भइरहनु मूर्छित र अज्ञानी नर–नारीहरूको लक्षण हो। ज्ञानीहरू, सन्तहरूलाई न त अतीत आकर्षित गर्न सक्छ, न भविष्य आकर्षित गर्न सक्छ। ती मुक्तात्माहरू त पल प्रतिपल वर्तमानमा पूर्णरूपले बाँचिरहेका हुन्छन्।
दुई वर्ष पहिले व्यूँशाहा जाँदा झुमरिया, उनका परिवारका सदस्यहरू र निकटस्थहरूलाई भेट्न गएको थिएँ। तिनीहरूलाई भेट्नमा मलाई सधैँ आनन्द, मजा आउँदछ, तिनीहरूका निकटस्थ समकक्षी प्राचीन परम्परामा बाँचिरहेका प्राकृतिक, आदिम रहनसहन भएका आदिवासीहरू सबै आधुनिक सभ्यताबाट अप्रदूषितहरूलाई भेट्नमा, कुरा गर्नमा, ठट्टा गर्नमा विशेष मजा आउँदछ, जो शहरमा बसेका सड्ढीर्ण कल्पना भएका स्त्री र पुरुषहरू सोच्न पनि सक्तैनन्।
जति आदिम र निर्दोष, निर्बोध व्यक्ति र व्यक्तिहरूको समूह छ, त्यति नै भगवान् र रहस्यको निकट त्यसको बास हुन्छ। ईश्वर साक्षरहरू भन्दा निरक्षरहरूलाई, निर्बोध बालबालिकालाई, वृद्ध–वृद्धाहरूलाई धेरै मन पराउँछ भन्ने मेरो पुरानो विश्वास छ। म ती गोठाला–गोठाल्नीहरू, थारु–थरुनीहरूको बीचमा बस्दा काठमाडौंका बुद्धिजीवीहरूको माझमा बसेको, उपस्थिति भएको भन्दा अनन्त गुणा आनन्द पाउँदछु। पूर्ण पारदर्शिता छ त्यहाँ, पूर्ण उत्सव छ त्यहाँ पृथ्वीसित, प्रकृतिसित गहन रूपले लयबद्ध छ तिनीहरूको जीवन र जीवनशैली।
हामीहरू सभ्य हुने हतारमा प्रकृतिबाट, पृथ्वीबाट निस्कने वासनाबाट धेरै टाढा गइसकेका हुन्छौं र जति जति टाढा जान्छौं, उति उति विषादपूर्ण हुन जान्छ हाम्रो जीवन। म राना थारुहरूको बस्तीमा पुगेँ र सोधेँ, ‘म को हुँ ?’ झुमरियाले भनिन्— ‘तै छोट्का जिमदार रहै नै। तोरेसँग मै बचपन मे खेलत रहुँ, अभौ तै जवान रहै, मै बूढौ हो गौ। अत्तो दिनके बाद कहाँ से आवो रे, बैठ। तै रजुवा से मिलत है कि नाही?’ (तँ सानो जिमदार त होस्, तँ त अहिलेसम्म जवान नै छस्, म बूढी भइसकेँ, यतिका दिनपछि तँ कहाँबाट आइस्, परालको मूठामा बस्, तेरो राजासित भेट हुन्छ कि हुँदैन)। जति जति झुमरिया मलाई तँ भनेर सम्बोधन गर्थी उति उति म हर्षित हुन्थेँ।
झुमरियाको उमेर करिब बाउन्न त्रिपन्न वर्षको हुँदो हो। बूढौली त्यति आइसकेको थिएन, तर ऊ आफूलाई बूढी भन्नमा मजा लिन्थी, उसलाई आफ्नो उमेर कति हो भन्ने थाहा थिएन, धेरै थारुलाई थाहा हुँदैन, प्रकृतिसित नजिक रहने धेरैलाई थाहा हुँदैन— थारु होस् कि ब्राह्मण होस् थाहा हुँदैन। प्रकृतिबाट टाढा जानसाथ उमेर पनि थाहा हुन थाल्छ, उमेर घटाउने कला पनि थाहा हुन्छ, शहरिया, व्यापारी र राजनीतिज्ञहरू मात्र होइन लगभग सबै झूटो बोल्ने बानीमा अथवा शिल्पमा निष्णात हुँदै जान्छन्।
झुमरियालाई बाल्यकालमा, जवानीमा र हालसालै आउन थालेको बूढौलीमा कहिले पनि झूटो बोल्ने साहस भएन। अहिले पनि मसित त्यस्तै निश्चलतासित व्यवहार गर्छिन् जस्तो उनी बाल्यकाल र जवानीमा गर्थिन्। करिब चालीस वर्षको अन्तरालभित्र धेरै घटनाहरू घटिसके उसको जीवनमा। बाल्यकालमा नै विवाह भएर उर्माबाट उनी व्यूँशाह आएकी थिइन्।
बीचबीचमा गोठ जाँदा, पानी पँधेरो जाँदा, उनको घर जाँदा उनीसित मेरो भेट भइरहन्थ्यो। पैंतालीस वर्ष पूर्व प्रयोग भएका उनका शब्दहरू, भावभड्डिमाहरू अहिले पनि प्रयोग हुन्छन्। वास्तवमा त्यस्ता प्राकृतिक महिलाहरूसित भड्डिमा कम हुन्छ, स्पष्ट बोली बढी हुन्छ। झुमरियाको मप्रति माया छ, तर माया देखाउने र माया लुकाउने चलाकी ऊसित छैन। कस्तै परिस्थितिमा पनि मनमा आएको कुरा भनि दिइहाल्छे।
म परालको होचो मुढामाथि बसिरहेको थिएँ, ऊ उभिएकी थिई। फेरि सोध्न थाली— 'नैपालमा (काठमाण्डू) खाने जस्तो कुरा यहाँ छैन। हामी चिया पनि खाँदैनौँ, तँ मट्ठा वा दही खान्छस् भने म ल्याइदिन्छु।’ मैले 'हुन्छ' भनें। पित्तलको कचौरामा दही ल्याई। उसको भित्री मायाको कारण मैले दही खाएँ, ऊ प्रसन्न भएकी थिई। कुरैकुरामा तिम्रो लोग्ने कहाँ छ? छोराछोरीहरू कहाँ छन् भनेर मैले सोधेँ। 'पति मरेको तीन वर्ष भयो। छोरीको रामपुरमा बिहे भइसक्यो, छोरा जड्डल दाउरा लिन गएको छ', उसले अलि शान्त स्वरमा भनी।
यस्तै हामीहरूबीच संवाद चलिरहेको बेला उसको ससुरो आइपुग्यो, 'पाई लागी महाराज' भनेर मेरो खुट्टा छोयो। ऊ जमीनमा बस्यो, माछा मार्ने जाली बुन्दा बुन्दै टिप्पणी गर्न थाल्यो 'तँ धेरै वर्षपछि गाउँमा आउँछस्, तेरो बुवाको स्वर्गवास भएपछि तँ गाउँमा आउनै छोडिस्। हामीहरू सबै तँलाई सम्झन्छौँ, तैंले केटाकेटी हुँदा गरेका सबै बदमाशीहरू सम्झन्छौं, तँ हामीहरूलाई साह्रै दुःख दिन्थिस्। अहिले तँ बूढो हुन थालिस्, तेरो कपाल किन खुइलिएको? तँ कहिले मन्त्री हुन्छस्? राजासित तेरो भेट हुन्छ होला हगि? राजाले के भन्छ? चीलगाडीमा आइस् कि रेलमा ? बालबच्चा कति भए?' आदि प्रश्नहरू सोधिरह्ययो, जाली बुन्दै रह्ययो।
म पुनः अन्तरमुखी भएर ती ग्रामीणहरू, तिनीहरूको स्वभाव, संस्कृति र सरलतामाथि चिन्तन गर्न थालें, एकछिन भावपूर्ण पनि भएँ। झुमरिया घरधन्दा गरिसकेपछि म कहाँ बात मार्न आइपुगी, म त्यहाँ त्यो दिन करिब तीन घण्टा जति बसें। बस्नुको कारण मेरा काव्यपूर्ण इतिहास थियो। जब गाउँ, जड्डल, पशुपक्षी, भोलाभाला गाउँले–गाउँलेनीहरूसित मेरो भेट हुन्छ, तब मभित्र अजीव, भन्न नसकिने सड्डीतमय नादको जन्म हुन्छ, जो संयोग र वियोगको संझना दिलाउँछ।
झुमरिया, इमिलीको रूख, आँपको बगिया, ती राँगाहरू जसमाथि हामीहरू चढेर केही टाढासम्म जान्थ्यौं, भैंसी चराउँदा जड्डलको मध्यमा बाघका गर्जनहरू, ती लहडु र लडीहरू (बैलगाडा, राँगागाडाहरू) सबैको संझना आउँछ, गाउँ गएको बेला, कहिलेकाहीं गाउँ नगएको बेला पनि। त्यसैले मैले आत्मस्वीकृतिसाथ घोषणा गरें कि म अतीतको छायामा बढी बाँचिरहेको छु, वर्तमानको यथार्थमा कम बाँचिरहेको छु।
जगत त मिथ्या हुने कुरै भएन, अस्तित्व नभएको, गइसकेको समय पनि मलाई मिथ्या लागिरहेको छैन। भ्रममा बाँच्नका लागि नै नियतिबद्ध भएको छु जस्तो लागिरहेको छ। यदि कुनै चमत्कार वा शक्तिले भ्यायो भने म त्यही अतीततिर, बाल्यकालतिर फर्कनेछु। भविष्यतिर धेरै लामो समयसम्म बगिरहने मेरो इच्छा छैन, किनकि यहाँको भविष्य अति कुरूप र अन्धकारपूर्ण हुँदै गइरहेछ। यहाँका निर्णयकर्ताहरू जति भ्रष्टाचारी हुन सके उति नै सम्मान र सुविधा पाउँदा रहेछन्।
संयुक्त सरकारभित्रको एक घटक त यस्तो छ, जो अरबौंको भ्रष्टाचार गरे पनि सजिलैसित पाचन गर्ने क्षमता राख्दोरहेछ। भ्रष्टाचार गर्ने योग्यताको फलस्वरूप आफू विदेश जाँदा छोराछोरी, नोकरचाकर सबैलाई कूटनैतिक राहदनी मन्त्रि मण्डलको निर्णय गराएर बनाउन सक्तोरहेछ।
संयुक्त राष्ट्रसंघको वार्षिक औपचारिकतामा भाग लिन भारत एघार जना प्रतिनिधिहरू पठाउँछ भने नेपाल आफ्नो अति सम्पन्नताको कारण तेईस जना पठाउँछ। दिनप्रतिदिन द्रुतगतिले नैतिकता, मानवीय मूल्य र गरिमामा ह्रास आएको देख्दा आफ्ना पहाडी गाउँ र मधेसको गाउँमा गएर फेरि गोठालो भएर जीवनयापन गर्ने इच्छा बलियो भएर जागिरहेछ।
त्यहाँबाट फर्कने बेलामा झुमरियाले सोधिन्— 'कति दिन तँ गाउँमा बस्छस्? अब गाउँमै बस, खेती गरेर खा, किन त्यति टाढा जान्छस्?' आदि प्रश्नहरू। मैले भनें— 'चार दिनपछि जाँदैछु, तँलाई पनि लग्छु, त्यहाँ राम्रो लुगा लाउन पाउँछेस्, राजा र रानीसित कुरा गर्न पाउँछेस्।' आश्चर्य मान्दै सोधी, 'राजा रानी हामीजस्तो थरुनीलाई भेट्छन् र ?' 'भेट्छन्' मैले भनें। एकछिन घोरिइरही र अन्त्यमा उत्तर दिई— 'चीलगाडी मे डर लगत है, मै तोरेसँग चीलगाडी मे नाही जाम रे मलाई हवाईजहाज चढ्न डर लाग्छ, म तँ सित हवाईजहाज (चीलगाडी) मा चढेर जान्न।'