पितालाई ढाेगेर गएका प्रधानमन्त्री पितालाई ढाेग्दै बालुवाटार फिरे

दीप सुवेदी

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली १२ दिन लामो उपचारपछि बालुवाटार फर्किएका छन्।

६९ वर्षको उमेरमा स्वदेशमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्य लाभ गर्दै ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई सिधै सरकारी निवास बालुवाटार लगिएको थियो। बालुवाटार पुगेका प्रधानमन्त्री ओलीलाई पिता मोहनप्रसाद ओलीले स्वागत गरेका छन्। 

निवासमा प्रधानमन्त्री ओलीलाई उनका पिताले स्वागत गरेपछि अ‍ोलीले शिर झुकाएपछि मोहनप्रसादले आर्शिवाद दिएका छन्।

‘निवास फर्कँदा प्रधानमन्त्रीज्यूलाई पिताजीको स्वागत’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्। थापाले तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। 

यसअघि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुन जाने क्रममा पनि पिताको आशिर्वाद लिएर गएका थिए। 

उपचार खर्च छ लाख

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको उपचार खर्च ६ लाख भएको छ। तर उपचार खर्चको बिल भने बनिनसकेको छैन। 

प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसको दुई दिन अघि उनी अस्पताल भर्ना भएका थिए। उनलाई उनकी भाञ्जी ३० वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। समीक्षा भने पूर्ण स्वास्थ्य लाभ गर्दै फागुन २८ गते डिस्चार्ज भएकी थिइन्। 

प्रधानमन्त्री ओलीको १२ दिनको उपचार खर्च ५ देखि ६ लाखसम्म भएको अनुमान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले जानकारी दिए। 

‘अहिले उपचार खर्चको बिल बनिसकेको छैन’, डा खड्गाले भने, ‘उहाँको उपचार खर्च ५ देखि ६ लााखसम्म भएको अनुमान गरिएको छ।’ 

प्रधानमन्त्री ओलीले ६९ वर्षको उमेरमा स्वदेशमै दोस्रो पटक फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका हुन्।

नियमित ‘फलोअप’मा बस्नुपर्ने

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको हेरचार बालुवाटारमा निजी चिकित्सक र नर्सले गर्ने बताइएको छ। 

प्रधानमन्त्रीकी निजी चिकित्सक तथा शिक्षण अस्पताल मिर्गौला रोग तथा प्रत्यारोपणा चिकित्सा विभाग प्रमुख प्राडा दिव्या सिंह शाहले डिस्चार्जपछि प्रधानमन्त्री ओली नियमित फलोअपमा रहनुपर्ने बताएकी हुन्।  ‘डिस्चार्जपछि उहाँ समयसमयमा नियमित फलोअपमा रहनुपर्नेछ’, विज्ञप्तिमा डा सिंहले भनेकी छन्, ‘साथै उहाँ नियमित चिकित्सकको निगरानीमा रनुहुनेछ।’ 

चिकित्सक सिंहले प्रधानमन्त्रीका सबै भाइटल तथा ल्याब पारामिटर राम्रो अवस्थामा रहेकाले नियमित काम गर्न सक्ने बताएकी छन्। ‘आज उहाँलाई अस्पतालबाट पूर्ण स्वास्थ्यलापछि डिस्चार्ज गरिएको छ। उहाँका भाइटल तथा ल्याब पारामिटरहरु राम्रो अवस्थामा रहेका छन्। उहाँले आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरु गर्न सक्नुहुनेछ।’ 

कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रसँग मिलेर अघि बढ्ने प्रतिवद्दता 

मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगञ्जबाटै प्रधानमन्त्री ओलीले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै कोरोना भाइरस संक्रमणविरुद्ध लड्न दक्षिण एशियाली राष्ट्रबीच सहकार्यका लागि नेपाल सरकार तयार रहेको उल्लेख गरेका छन्।

उनले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको उल्लेख गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावको स्वागत गर्दै प्रधानमन्त्री ओलीले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताए।

मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका थिए।

यसअघि प्रधानमन्त्री ओलीले भारतको अपोलो अस्पतालमा २०६४ सालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए। बीचमा स्वास्थ्यमा समस्या देखिएपछि गत भदौमा स्वास्थ्य उपचारका लागि ओली सिंगापुर पुगेका थिए। उनको त्यहाँ प्लाज्माफेरेसिस गरिएको थियो। सिंगापुरको १५ दिन बसाइपछि स्वेदश फर्केका प्रधानमन्त्री ओली पछिल्लो समय नियमित डायलासिस गराउँदै आएका थिए।

प्रकाशित मिति: : 2020-03-14 10:20:11

प्रतिकृया दिनुहोस्