पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ।

लोकन्थलीस्थित निर्माणाधीन घरमा बुधबार बिहान बम विस्फोट भएको प्रहरीले जनाएको छ।

घरको कम्पाउन्डमा गराइएको विस्फोटले पर्खालमा क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता श्याम ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार प्रेसर कुकर बम विस्फोट गराइएको छ।

प्रहरीका अनुसार बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किएको छ । झ्यालका सिसाहरु फुटेका छन् । 

त्यसैगरी संगै रहेका दुई वटा घरका शिशा पनि फुटेका छन् । एउटा मारुती भ्यानमा क्षति पुगेको छ। 

उनले बम विस्फोट कसले गराएको भन्ने पत्ता लागि नसकेको भन्दै अनुसन्धान सुरु भइसकेको बताए ।

 

विस्फोटमा ठूलो क्षति भने नभएको प्रहरीको प्रारम्भिक आँकलन छ। घरको पर्खालमा सामान्य क्षति पुगेको छ। घटनाको कुनै पनि पक्षले जिम्मेवारी लिएको छैन।

घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ। आज चन्द समूहलाई प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ। २०७५ फागुन २८ गते सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै पक्राउ र खोजी कार्य जारी राखेको छ।

केही समयअगाडि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिरिएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।

प्रकाशित मिति: : 2020-03-11 21:16:31

प्रतिकृया दिनुहोस्