फ्रान्समा काेराेनाकाे छैन भय, खुलेआम राेगविरुद्ध लड्दैछन् जनता

फ्रान्समा म‍ंगलबारसम्म कोरोना भाइरस अर्थात कोभिड–१९को एक हजार सात सय ८४ सङ्क्रमितहरु भेटिएका छन्। जसमा ३३ जनाको मृत्यु भएको छ भने ८६ मानिसहरु गम्भिर अवस्थामा छन्। 

कोरोना भाइरस देखिएका शहरहरुमा यतिबेला स्कुलहरु बन्द गरिएका छन्। शिक्षक तथा शिक्षिकाहरुले बच्चाहरुलाई इन्टरनेटबाट गृहकार्य दिने र पढाउने गरिरहेका छन्। यसकालागि आफ्ना बच्चाहरु हेर्न बावु या आमा मध्ये एकले छुट्टी लिने र घरमै बच्चाहरुलाई पठनपाठनमा सघाउने गरिहेका छन्।

कोरोनाका कारण काममा जान नपाएका बुवाआमाहरुलाई सरकारले नै बिशेष तलब दिइरहेको छ। नेपालमा कोरोना सङ्क्रमित देखिएको छैन तर मानिसहरु त्रासमा छन्। नेपालमा श‌ंका लाग्ने बितिकै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना टेस्ट हुँदैन भन्ने बित्तिकै सामाजिक सन्जालहरुमा बिरोधको भएको थियो। तर फ्रान्समा पनि नेपालका स्वास्थ्यमन्त्रिले भनेजस्तै कोरोनाको शंका लाग्दैमा टेस्ट हुँदैन। 

यसको लागि सङ्क्रमित मानिस सङ्क्रमण फैलिएको क्षेत्रमा बसोबास गरेको हुनुपर्छ या पुगेको हुनुपर्छ। उसमा रुघाखोकीका साथ उच्च ज्वरो आएको हुनुपर्छ र स्वासप्रश्वासमा कठिनाइ हुनुपर्छ। यस्तो अवस्थामा मात्र कोरोना सङ्क्रमणको टेस्ट हुन्छ। 

यो बाहेक रुघाखोकी र ज्वरो आएको खण्डमा घरमै आराम गर्न र केही गरी कोही कोरोना सङ्क्रमितसँग बसिसकेको छ भने र अवस्था गम्भिर छैन भने घरमै आइसोलेटेड भएर बस्न प्रोत्साहित गरिएको छ । 

फान्समा कोरोना संक्रमणको कारण मानिसहरु आत्तिएको देखिएको छैन,बरु रोगलाई स्वीकार गरेको देखिएको छ। मिडियाहरुले यसलाई नाटकिय बनाएका छैनन्। कोरोना सम्बन्धि सबै जानकारीहरु पारदर्शी बनाइएको छ। कोरोनालाई ज्यादै छिटो सार्ने कडा खालको रुघाखोकीको प्रकोपको रुपमा व्यख्या गर्दै मिडियाहरुले दिनमा धेरैपटक हात धुन र कोही पनि मानिससँग हात नमिलाउन र गाला जोडेर मुइ नखान अनुरोध गरिरहेका छन्।

स्वास्थ्यकर्मीहरुलाई बिशेष खालको मास्क चाहिने भएकोले नागरिकहरुलाई जथाभावि मास्क नकिन्न र अल्कोहल मिश्रीत जेल नकिन्न सरकारले अनुरोध गरेको छ। मास्क र अल्कोहल मिश्रित जेलको उत्पादन रातारात बढाइएको छ र सरकारकै निगरानीमा प्रत्येक सरकारी अस्पतालहरुमा यिनिहरुको न्यायोचित वितरण गरिरहेको छ। कालो बजारी पूर्णतया नियन्त्रण गर्दै सरकारले तोकेको भन्दा बढी मूल्यमा मास्क र अल्कोहल मिश्रित जेल बिक्री गर्न नपाइने बनाइएको छ। 

हरेक दिनका समाचार बुलेटिनहरुमा रिपोर्टरहरुले नागरिकहरुका जिज्ञासा लिने र डाक्टरहरुले उनीहरुको जवाफ दिने गरेको पाइएको छ। समाचार बुलेटिनहरुमा सबैभन्दा बढी प्रश्न कस्तो खालको मानिसमा कोरोनाको सङ्क्रमण प्रभाव ज्यादा देखिन्छ भन्ने प्रश्न आउने गरेको छ। 

जवाफमा डाक्टरहरुले मुटु तथा स्वासप्रश्वास सम्बन्धि रोगीहरु र बृद्दहरुमा कोरोनाको प्रभाव ज्यादा देखिएको र याे रोगसँग लड्ने क्षमता घटाएको देखिएको उल्लेख गरेका छन्। 

यसले गर्दा यहाँका नागरिकहरुमा कत्तिपनि हत्तोसाह देखिएको छैन। मानिसहरु यथास्थिति या कम्यूटरमा घरै बसेर अफिसियल काम गर्ने प्रयत्न गरिरहेका छन् । 

यसको मतलब कोरोनाले फ्रान्सको अर्थतन्त्रमा धक्का नपुर्याएको भने होइन। कोरोना लागेका ठाउँका रेष्टुरेन्ट र होटलहरुको व्यापार चौपट हुँदै गइरहेको छ र व्यवासायीहरुले व्यवसाय गरेवापत सकारलाई तिर्नु पर्ने करमा छुट पाउनु पर्ने माग गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-03-11 20:14:06

प्रतिकृया दिनुहोस्