प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा, दिव्यासिंह शाहले ओली तुरुन्तै डिस्चार्ज हुन चाहेको बताएकी छिन्। प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएकी हुन्।
तर डा शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताइन्। ‘प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ तर जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं,’ उनले भनिन्।
उनले परिवारबाटै एक दुई दिन अस्पतालमा राख्न आग्रह गरेको पनि बताइन्।
‘प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ, उहाँहरुले तयारीको समय पनि माग्नु भयो,’ उनले भनिन्।
डा. शाहले प्रधानमन्त्री ओली पुरै सक्रिय हुन ६ महिनासम्म लाग्ने बताइन्।
‘पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन् ‘ प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ।’