जीप दुर्घटनाका घाइते चारलाई हेलीकोप्टरबाट काठमाडौं पठाइयो

गोरखाको सौरपानीमा जीप दुर्घटनामा परी घाइते भएका चारजनालाई हेलिकोप्टरबाट उद्धर गरिएको छ । 

गम्भीर घाइते भएकी बारपाक सुलिकोट गाउँपालिका–४ की १९ वर्षीया विमला गुरुङ, २० वर्षीया रमा गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङलाई माउण्टेन एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित ग्रिनसिटी हस्पिटलमा लगिएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ। 

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले जानकारी दिए।

जिप सडकबाट झण्डै ५० मिटर पछाडि खसेको गुरुङले बताए।

दुर्घटनामा बारपाक सुलिकोट गाउँपालिका–४ का ६० वर्षीय बुद्वबहादुर गुरुङ,३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ घाइते छन्।

अन्य घाइतेमा सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले जानकारी दिए।

घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ। घाइतेको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-11 01:28:19

प्रतिकृया दिनुहोस्