नेपालले मंगलबारदेखि थप तीन देशका नागरिकलाई पनि अनअराइभल भिसामा रोक लगाउने निर्णय गरेपछि यस्तो रोक लगाइएका देशको संख्या ८ पुगेको छ । थपिएका नयाँ देशमा स्पेन, फ्रान्स र जर्मनी रहेका छन्। यसअघि पाँचदेश चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकमाथि यस्तो रोक लगाइएको थियो ।
अध्यागमन विभागले एक विज्ञप्तिमार्फत यस्तो जानकारी गराएको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई 'अन-अराइभल' भिसा नदिइने प्रावधान लागू गर्न लागिएको बताए।
नयाँ प्रावधानअनुसार अब यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ।
हाल विश्वका १३ वटा देशका नागरिकबाहेक सबैलाई नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य सिमानाकामा नै 'अन-अराइभल' भिसा दिँदै आएको थियो।
नेपालले थप तीन देशका नागरिकलाई नेपालमा अनअराइभल भिसामा रोक लगाएपछि यस्तो देशको संख्या आठ पुगेको छ। ती देशहरूमा चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनी रहेका छन्।
यस सुविधाका कारण नेपाल आउने पर्यटकले सम्बन्धित देशमा नेपालको दूतावास खोज्नुपर्ने र आवेदन दिनुपर्ने झन्झट नहुँदा धेरै पर्यटक नेपाल भ्रमणका लागि आकर्षित हुने गरेका थिए । तर, कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्नका लागि सरकारले तत्कालका लागि केही देशका नागरिकका निम्ति त्यस्तो व्यवस्था स्थगन गर्ने निर्णय गरेपछि त्यसको प्रभाव पर्यटन आवागमनमा पर्ने बताइएको छ।