कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमण देखिएका विश्वका ८ देशका नागरिकलाई नेपाल प्रवेश गर्न 'अन-अराइभल' भिसा बन्द गरिएको छ।
अध्यागमन विभागले विज्ञप्ती निकालेर मंगलबारदेखि कोरोनाको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, जर्मनीका नागरिकलाई 'अन-अराइभल' भिसा बन्द गर्न लागिएको जानकारी दिइएको छ।
नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई 'अन-अराइभल' भिसा नदिइने प्रावधान लागू गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए।
अब यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ।
हाल विश्वका १३ वटा देशका नागरिकबाहेक सबैलाई नेपालले त्रिभुवन अनर्राष्ट्रिय विमानस्थल र अन्य सिमानाकामा नै 'अन-अराइभल' भिसा दिँदै आएको थियो।
नेपालले थप तीन देशका नागरिकलाई नेपालमा अनअराइभल भिसामा रोक लगाएपछि यस्तो देशको संख्या आठ पुगेको छ। ती देशहरूमा चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनी रहेका छन्।
पर्यटकका रुपमा नेपाल आउने विश्वका धेरै देशका नागरिकहरूले त्रिभुवन विमास्थलमा उत्रिएपछि र नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान रहेको छ।
उक्त सुविधाका कारण नेपाल आउने पर्यटकले सम्बन्धित देशमा नेपालको दूतावास खोज्नुपर्ने र आवेदन दिनुपर्ने झन्झट नहुँदा धेरै पर्यटक नेपालको भ्रमणका लागि आकर्षित हुने गरेको बताइन्छ।
तर, कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले त्यस्तो व्यवस्था तत्कालका लागि केही देशका नागरिकका निम्ति स्थगन गर्ने निर्णय गरेको हो।