‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला,ग्राहकको व्यक्तिगत विवरण चोरियाे

बिएल संवाददाता

काठमाडाै‌ं

अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ। ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेका छन्।  

शनिबार राती भएको यो हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ। करिब ३० हजार ग्राहकको व्यक्तिगत विवरण चोरिएको हुन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। 

‘हाम्रो सानो कमजोरी पत्ता लगाएर ह्याकरले साइबर हमला गरेछ, हामीले त्यसको एक घण्टापछि मात्रै थाहा पायौं,’ विज्ञप्तीमा भनिएको छ,‘ग्राहकको व्यक्तिगत विवरणप्रति हामी जिम्मेवार र संवेदनशील हुँदा हुँदै घटना भयो, यसले हामीलाई दुखित बनाएको छ।’

कम्पनीले एक विज्ञप्तिमा आफ्नो कमजोरी सच्याइएको बताएको छ। चोरिएको व्यक्तिगत विवरणहरु ह्याकरले एक वेबसाइटमार्फत सार्वजनिक गरिरहेको छ।

हमलाबारेको जानकारी प्रहरीको साइबर अपराध डिभिजनमा पनि गराएको फुडमान्डुले जनाएको छ।  घटनापछि पनि फुडमान्डुले सेवा भने जारी राखेको छ।

प्रकाशित मिति: : 2020-03-09 05:24:23

प्रतिकृया दिनुहोस्