बेल्जियममा किन आत्महत्या गर्नु पर्‍याे सुमन जैसीले?

‘श्रीमतीलाई अरुले नै प्रयोग गरेपछि श्रीमानले सहन नसकेर आत्महत्या गरेको’ भनिएको एक दर्दनाक कथाले अहिले बेल्जियमको नेपाली समुदाय स्तब्ध छ। सामाजिक मान्यता र कानुनी बाध्यतालाई टाढा राख्ने हाे भने यो मुद्धा बेलायती राजकुमारी डायना र राजकुमार चार्ल्ससँग ठ्याक्क मिल्न जान्छ।

श्रीमानसँगको बिछोडमा बिक्षिप्त डायनाले आफ्ना साथी डोडीलाई रोजिन्। दुबै कार दुर्घटनामा एकसाथ मारिए। उनका श्रीमान चार्ल्स र उनकी प्रेमिका केमिला पार्कर हाल सम्मानित जीवन बिताइरहेछन्।

बेल्जियममा यस्तै घटनाकाे पट्टाक्षेप भयाे, जहाँ सुमन जैसीले आत्महत्या गरे। उनकी श्रीमती र श्रीमतीका प्रेमी सकुशल छन्।

रेल गुडिरहेको लिकमा हाम फालेर सुमन जैसीले गत सोमबार आत्महत्या गरे। क्षतबिक्षत उनको शरीर प्रहरीले निकाल्याे।अनुसन्धानपछि प्रहरीले शव परिवारलाई बुझायाे र गत शुक्रबार जैसीकाे कर्मकाण्ड पनि पुरा भइसकेकाे छ। दाह–संस्कार भइरहँदा जैसीका बुबाले रुँदै भने, ‘वीरमान म तिमीलाई छाड्ने छैन।‘

जैसीकाे दाह–संस्कार भइरहँदा हलमा नेपालीहरुकाे भीड थियाे। बुबाले भीडकै बीचमा सबैले सुन्ने गरि यसाे भनिरहँदा सबै अकमक्क परे। एकले अर्काकाे मुख हेरे। र, आफैसँग प्रतिप्रश्न गरे–‘छाेराको आत्महत्याको प्रसँगमा वीरमान कहाँबाट आयो!’

दाह–संस्कार कार्यक्रममा सुमनकी श्रीमतीले भनिन्, ‘तिम्रो र मेरो जात मिलेन। त्यही कारण तिमीले ज्यान गुमायौं। मैले तिमीलाई जोगाउन सकिन म दु:खी छु। तीन बर्षयता हाम्रो सम्बन्ध राम्रो थिएन।’

सुमन जैसी र उनकी श्रीमती निमा लामाकी एक नावालिग छोरी छिन्। सुमन जैसीका बुबाले आफ्नो छोराको मृत्युमा वीरमान जिम्मेवार रहेको भनेर आराेप लगाएपछि वीरमान घर्तिमगरले बिज्ञप्ती नै सार्वजनिक गरेर जैसीकाे श्रीमतीसँग आफ्नाे सम्बन्ध भएकाे स्विकार गरे। तर, उनले सुमनको बुबाले भने जस्तै मृत्युकाे जिम्मेवार चाहिँ आफु नभएकाे स्पष्ट पार्न खाेजेका छन्। 

उनले भनेका छन्, ‘निमा लामा(सुमन जैसीकी श्रीमती) सँग मेरो सम्पर्क र सम्बन्ध हो, थियो, त्यो लुकाएर लुक्ने कुरा हैन। किनकि सुमनको पूर्वश्रीमतीसँग मैले विवाह गर्ने भनेर नै एउटै घरको एउटै छानामुनि महिनौ बिताएका थियौ। विहे गर्ने, बच्चा जन्माउने सपना देखेका थियौ।’

बिज्ञप्तिमा थप भनिएकाे छ, ‘निमासँग बिताएका ती सुखद पलहरुको अडियो, भिडियो प्रमाणहरु मसँग सुरक्षित छन्। राजीखुसी हामीसँगै बसेका थियौ भन्ने प्रमाण चाहियो भने म दिन तयार छु।’

अडियो र भिडियो कसलाई देखाउनका लागि खिचिएको थियो भन्ने चाहिँ वीरमानले बिज्ञप्तिमा खुलाएका छैनन्।

कार्यक्रममा निमा लामाले जातीय मामिलाका कारण उनकाे सम्बन्ध राम्रो थिएन भनेपछि बिएल नेपाली सेवाले निमा लामासँग सम्पर्क गर्न खोजेकाे थियाे। तर, उनी अस्पतालमा रहेको र बोल्न नसक्ने भन्दै कुरा हुन पाएन।

मृतकका बुबाले टेलिफोन सम्पर्कमा भने–‘जातीय कुरा निकालेर छोरा र बुहारीलाई हेला गरेको भन्ने कुरा गलत हाे। गाउँमै पन्चेबाजा बजाएर बुहारी घर भित्र्याएको हो। छोराकाे बिहेमा जाने मानिस यही बेल्जियममा भेटिन्छन्।‘

उनीहरु पर्वत जिल्लाबाट बेल्जियम आइपुगेका हुन्। उनले भने, ‘मसँग छोरा बुहारीका बिहेका तस्विर सुरक्षित छन्। बिहे गरेर आएपछि बेल्जियमको हाम्रो अपार्टमेन्ट सानो भयो। अनि उनीहरुले बाहिर बस्ने इच्छा देखाएपछि राजीखुसीले घर छाडेर गएका हुन्। घर छाडेर बाहिर बस्दा र छोरालाई आर्थिक कठिनाई हुँदा मैले सहयोग गर्दै आइरहेको थिएँ।’

उनले आराेप लगाए, ‘उनीहरुले तनावमा पारेर मारे। इज्जत र नामका लागि अहिले जे पनि बोल्न थालेका छन्। जातीय कुरो आत्महत्याको मुद्दाबाट उम्किन ल्याइएको नाटक मात्र हाे।’

जैसी पारिवारिक  स्रोतले दिएको जानकारीअनुसार सुमन जैसी र निमा लामाको छोडपत्र प्रकृयामा थियो। तर, उनीहरु कानूनी रुपमा छुट्टिसकेका थिएनन्।

बेल्जियम युरोपियन युनियनको छातामुनि रहेका कारण याे देशमा पनि इयूकाे पारिवारिक कानून लागु हुन्छ। जसमा प्रेमी–प्रेमिका त्यतिबेला मात्र एउटै छानोमुनि सँगै बस्न सक्छन्, जतिबेला कागजी रुपले पहिलाका श्रीमान श्रीमतीबीच पूर्ण रूपमा छाेडपत्र हुन्छ।

कानुनी रुपले बिछाेड नभइसकेको अवस्थामा वीरमान र निमाको हिमचिम बढिरहेको परिवार र उनका श्रीमान दुबैलाई पाच्य थिएन। तर, निमा र वीरमानको सम्बन्धमा केही महिनामै नाटकीय परिवर्तन आयो। उनले साथीसंगीसँग वीरमानको जवरजस्ती गर्ने स्वभाव रहेको बताएर म के गर्ने होला भनेर सल्लाह लिन थालेकी थिइन। 

साथीहरुले उसोभए वीरमानलाई छाडेर श्रीमानसँग मिलेर बस्ने सल्लाह दिएकाे बिएल नेपालीलाई बताए। उनले पनि वीरमानसँग दूरी बनाउन खाेजेकाे साथीसंगीकाे भनाइ छ।

यहीबीच वीरमानले पनि उनको कोठा छाेडेर हिँडेकाे, जुन कुरा उनले बिज्ञप्तिमा समेत स्विकार गर्दै लेखेका छन्, ‘एक दिन उनले आफू श्रीमानसँगै मिलेर जान चाहेको, डिभोर्सको निवेदन फिर्ता लिन चाहेको बताइन्। मलाई अनौठौ लाग्यो। ल जे निर्णय गर्यौ ठिक भयो। राम्रोसँग मिलेर बस भन्ने सल्लाह दिएर म आफ्नै पुरानो कोठामा सामानहरु लिएर फर्के।’

आफ्नो कोठामा फर्केपछि वीरमानले फेसबुक भित्तोमा निमा र आफ्नो फोटो सार्वजनिक गरे। र, निमासँग बार्गेनिङ गर्न थाले। निमाकी एक साथीले भनिन्–‘उनले निमासँग दुबैकाे अन्तरंग भिडियो र अडियो भएकाे भन्दै धम्काउन थाले। तिमीले मलाई ‘क्लिन चिट’ दिएनौ भने सबै सार्वजनिक गरिदिन्छु भनेर धम्काउँथे।’

बिएललाई प्राप्त एक अडियाेमा निमाले भनेकी छिन्, ‘तिम्रो र मेरो बाटो फरक छ। म तिमीले मागेको ड्राफ्ट दिन सक्दिन।’

वीरमानले अनेकाै धम्की दिँएपछि निमाले वीरमानलाई आफूहरु बीचकाे सम्बन्ध सुमधुर र साथीत्वको रहेको भनेर हातैले लेखेर दिएकी थिइन। ‘वीरमानले यसो किन गराए? कुरा रहस्यमै छ’, परिवारिक स्रोतले बतायाे।

अलिअलि गाइँगुँइ भएको सम्बन्ध फेसबुकमार्फत सार्वजनिक भएपछि सुमन जैसी तनावमा थिए। उनी ‘डिप्रेसन’ मा गए। उनी केही दिनदेखि काम छाडेर बिरामी बिदामा घरमै बस्न थालेका थिए।अलग बस्न थालेका श्रीमान–श्रीमती भने सँगै बसेनन् तर उनीहरुबीच आवतजावत भइरहन्थ्याे। 

गत सोमाबार रेलको लिकमा हाम फालेर मर्नु अघि उनले निमालाई फोनमा भनेका थिए, ‘मैले तिमीलाई खुशीराख्न सकिन। बरु तिमी तनाबमा छ्यौ। छिटै कोठा सर हैँ। मलाइ म:म खान मन छ। भन, म कहिले आउँ।‘

प्रतिउत्तरमा निमाले भनेकी थिइन, ‘म भोलि तिमीले जहाँ भन्छौ त्यहीँ ल्याइदिउँला।‘

तर, उनीहरुको जीवनमा सँगै बसेर म:म खाने क्षण जुरेन।

पारिवारिक  स्रोतका अनुसार अहिले बेल्जियम प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ भने थुप्रै नेपालीले घटनाको सत्यतथ्य छानबिनको माग गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-03-09 06:41:00

प्रतिकृया दिनुहोस्