गृहले भन्याे– लोला नहान्नू, रङ नखेल्नू र खाद्यान्न नथुपार्नू

गृहमन्त्रालयले होली खेल्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नेपाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९को उच्च जोखिममा रहेको भन्दै अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै होलीमा विगतको जस्तो भिडभाडमा नजान र लोला फ्याँक्ने, शरिरमा रंग दल्ने लगायतका काम जोखिमपूर्ण हुने हँुदा त्यसो नगर्न अपिल गरिएको छ।

‘बढी भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम कोभिड–१९ को सम्भावित जोखिमको सन्दर्भमा हाललाई स्थगित गर्न र सन्निकट होलीमा विगतमा जस्तै भीडभाड र भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरिरमा रंग दल्ने, अविर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नुरनगराउनुहुन आम दाजुभाई, दिदीबहिनीमा हार्दिक अनुरोध छ,’गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै गृहले बजारमा उपभोग्यबस्तुको कालोबजारी गरेको पाइएमा तत्काल सम्बन्धि निकायमा खवर गर्न पनि अपिल गरेको छ।

‘अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न, कहीँकतै कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न अपिल गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-03-08 10:54:23

प्रतिकृया दिनुहोस्