पाल्पामा लुगाधुने पाउडर उत्पादन गदै महिला

पाल्पा रामपुर नगरपालिका वडा नं ८ स्थित जनचेतना आमा समूहका महिलाले आयआर्जन गर्न लुगाधुने पाउडर उत्पादन शुरु गर्न थालेका छन्।

 पाँच महिलाले फुर्सदको समय सदुपयोग गनका साथै व्यावसायिक तवरले सो पाउडरको उत्पादन गर्न थालेका हुन् ।

समूहमा आवद्ध पाँच महिला मिलेर तालीम लिएपछि पहिलो चरणमा परीक्षणका रुपमा करिब रु ३० हजार बराबरको लुगा धुने पाउडर उत्पादन गरिसकेको सविता अर्यालले बताइन्। 
       
अहिले शुरुको समय भएकाले महिलाले थोरैथोरै रकम उठाएर सो पाउडर उत्पादन शुरु गरेको समूहका अर्का सदस्य दिलमाया श्रेष्ठ बताइन्। 
‘बिस्तारै लगानी बढाउँदै उत्पादनलाई वृद्धि गरी फुर्सदमा रहेका महिलालाई यस कार्यमा सहभागी बनाउने छौँ’ उनले भनिन्।
  
पहिलो चरणमा परीक्षणका रुपमा उत्पादन गरिएको सो पाउडरको उत्पादन राम्रो रहेको बताउँदै यसको प्रवद्र्धनका लागि वडा कार्यालयले सहयोग गर्ने वडा सदस्य मोहन श्रेष्ठले बताए।

‘तालीम लिएर आएपछि महिला यसको व्यवसायमा उत्साहजनक रुपमा लागेका छन्’, उनले भने, ‘नगरपालिकाले महिलालाई लक्षित गरी सो पाउडर उत्पादन तालीम दिएपछि व्यावसायिक रुपमा उनीहरुले उत्पादन कार्य शुरु गरेका हुन्।’

नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन महिला विकास शाखाअन्तर्गत रु एक लाख ५० हजार बजेटमार्फत लुगा धुने पाउडर उत्पादनसम्बन्धी तालीम दिएको सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिए। 

 नगरका ३० महिलालाई दुई दिनसम्म पाउडर उत्पादन तालीम दिएपछि उनीहरुले व्यावसायिक तरिकाले उत्पादन कार्य शुरु गरेको उनको भनाइ छ। 
       
चुनढुङ्गा, सोडा, सेन्ट, क्यामिकललगायत आठ थरीका सामानको मिश्रणबाट सो पाउडर बनाउन सकिने वडा नं ५ स्थित हरितक्रान्ति बहुद्देश्यीय महिला समूहबाट सहभागी तुलसी रेग्मीले जानकारी दिए।

बिक्रीका लागि मात्र नभई घरायसी प्रयोजनका लागि उपयोगी हुने भएकाले यसको उत्पादनमा महिला आकर्षित भएको रेग्मीको भनाइ छ।

प्रकाशित मिति: : 2020-03-08 05:33:21

प्रतिकृया दिनुहोस्