चन्द्रागिरि ‘साक्षर नगरपालिका’ घोषणा

काठमाडौंको चन्द्रागिरि नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा भएको छ । चन्द्रागिरि नगरपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा आज ‘साक्षर नगरपालिका’ घोषणा गरेको हो । 

सो अवसरमा शिक्षामन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। ‘कक्षा १२ अध्ययन गर्नुपूर्व नै सीपमूलक शिक्षा दिनसके विद्यार्थीले १२ कक्षा उर्तिण गरेपछि रोजगारको अवसर पाउन सक्छन्’, उनले भने। 

शिक्षामन्त्री पोखरेलले विदेशमा सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै भए पनि नेपालमा भने क्रमशः घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे। सामुदायिक विद्यालयले अङ्ग्रेजी शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र बसोबास गर्ने ९६.४७ प्रतिशत जनता साक्षर भएको बताए। नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणाअनुुसार कक्षा सञ्चालन गरेको थियो ।
 
नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले चन्द्रागिरि नगरपालिकाभित्र जम्मा ८० विद्यालय रहेको बताए। कूल १५ वडा रहेको चन्द्रागिरिमा सामुदायिक २४, संस्थागत ४६, गुरुकुल आश्रम दुई, अनौपचारिक तथा वैकल्पिक चार, विशेष शिक्षा विद्यालय दुई र क्याम्पस दुई रहेका छन् । 
 

प्रकाशित मिति: : 2020-03-04 11:10:12

प्रतिकृया दिनुहोस्