५३ सन्तानकी आमा मीना

सेवा, त्यो पनि निःस्वार्थ। सुन्दा सामान्य लागे पनि सेवामा समर्पित हुन भने निकै कठीन छ। बिना त्याग र समर्पण सेवा सम्भव हुन्न। र, समाजसेवाका लागि समर्पण अत्यावश्यक मानिन्छ।

आजको युगमा सेवा भावको अभाव धेरै महसुस हुन्छ। लाग्छ, आजको युग स्वार्थी युग हो। आजको स्वार्थी दुनियामा सेवाभाव भएका मानिस धेरै कम भेटिन्छन बजारमा, सेवा गर्नेहरुको जमात नभेटिने होइन। समाजसेवालाई माध्यम बनाएर ‘आफ्नो सेवा’ गर्नेहरुको भीड धेरै देखिन्छ। तर सबै मानिस त्यस्ता हुँदैनन्। सेवा, त्यो पनि निःस्वार्थ गर्नेहरु पनि यही समाजमा छन्, यीनै मध्येकी एक हुन,  समाजसेवी मीना बराल। समाजसेवा उनका लागि अपरिहार्य बनेको छ। उनको निःश्वार्थ सेवा भाव र सक्रियताका कारणनै उनले नमूना बाल गृह सम्हाल्दै आएकी छिन्।

बरालको रुची सानैदेखि समाजसेवा तर्फ रह्यो। त्यही रुचीले उनलाई सेवाभावतर्फ आकर्षित गर्दै लग्यो। फलतः ०५७ सालमा बरालकै सोचअनुसार उर्लाबारीमा नमूना बालगृह स्थापना भयो। 

समाजसेवा प्रति उत्साहित बराल दिनरात नभनी ती बालबालिकाको सेवामा जुटने गर्छिन्। उर्लाबारी–७, मोरङकी बरालका ५३ भन्दा बढी आश्रित सन्तान छन्। आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उनले आमाबुबाको भन्दा कम माया दिएकी छैनन्। ती बालबालिकाको हेरचार गर्नु नै बरालको दैनिकी हो। आफूले नजन्माएका काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन् उनी। अनाथ बालबालिकाको नागरिकता बालगृहले नै बनाइदिन्छ। यहाँ बस्ने प्रत्येक बालबालिकाको जन्म दर्ता उर्लाबारी नगरपालिकाले गरिदिने गरेको छ। यहाँका बालबालिकाको नागरिकता बनाउँदा बाबु वा आमाले गर्ने सनाखत समेत बालगृहले नै गर्दै आएको छ।

यसरी भयो बालगृहको स्थापना
२०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुगेकी मीनाको वैवाहिक जीवन सफल हुन सकेन। पढ्ने उमेरमा विवाह गरेर पछुतो मानिरहेकी उनले नयाँ घरमा लामो समयसम्म संघर्ष गरिरहिन्। तर श्रीमानले अरू दुई श्रीमती थपेर आफूलाई पाखा लगाएपछि आत्मसन्तोष र शान्तिको खोजी गर्दै उनी समाज सेवामा लागेकी थिइन्।

आफूले सानैमा विवाह गर्दा भोगेको जस्तो पीडा कुनै अरू अनाथ बालबालिकाले भोग्नु नपरोस् भनी २०५७ सालमा बरालकै सोचअनुसार उर्लाबारीमा नमूना बालगृह स्थापना भयो। सुरुमा सात अनाथ बालबालिकालाई आश्रय दिएर सञ्चालन गरिएको सो बालगृहमा बिभिन्न जिल्लाका तीनदेखि १९ वर्षसम्मका ५३ बालबालिका बस्छन्, जो चेपाङ, लोपोन्मुख सन्थाललगायत १५ जातजातिका छन्। एक बिगाहा क्षेत्रफलमा रहेको यो आश्रम दाताकै सहयोगको भरमा चलेको छ। सुरुमा उर्लाबारी–६ स्थित राधिका माविले आश्रमका लागि चार कट्ठा जग्गा उपलब्ध गरायो।

बालगृह चलाउन वार्षिक १७ लाख रुपैयाँ खर्च हुन्छ। यो सबै खर्च स्थानीय वासिन्दाको सहयोग तथा संस्थाको अक्षय कोषमा निर्भर छ। संस्थापक बरालले संस्थालाई ७० लाख रुपैयाँ दान गरेकी थिइन्। त्यसमध्ये करिब ५७ लाख नगद र केही जिन्सी सामान अक्षय कोषमा सुरक्षित छ।

गृहका बालबालिका स्थानीय बोर्डिङ स्कुलहरूमा पढ्छन्। उनीहरूमध्ये केहीको शुल्क विद्यालयले छुट दिएको छ भने केहीको लाग्ने गरेको छ। गृहभित्रै चल्नेगरी दर्ता भएको नमूना शिक्षा सदन पनि पाँच वर्षदेखि सञ्चालनमा छ। साना बालबालिका गृहभित्रैको विद्यालयमा पढ्छन्। कक्षा चारदेखि माथिका बालबालिका उर्लाबारी–८ स्थित लक्ष्मी माविमा अध्ययरत छन्। ठूला उर्लाबारी बहुमुखी क्याम्पसमा बढ्छन्।

बालबालिकामा प्रतिभा छ, बाहिर ल्याउन खर्च छैन

यहाँ रहेका धेरैजसो बालबालिकामा आ–आफ्नै प्रतिभा छ। तर उनीहरूको प्रतिभालाई प्रशिक्षणको अवश्यकता रहेको मीनाको भनाइ छ।यहाँ रहेका बालबालिका कोही गाउन सक्छन्, कोही राम्रो नाच्न सक्छन्, कोही राम्रो चित्र बनाउँछन्। कोही राम्रो फुटबल खेल्न सक्छन्। मीना भन्छिन्, ‘सबै नानीहरूमा प्रतिभा छ, तर उनीहरूलाई प्रशिक्षणको खाँचो छ, प्रशिक्षण दिनका लागि हामीसँग पैसा छैन।’ कसैले उनीहरूका लागि एक जना प्रशिक्षकको सहयोग गरे पनि धेरै हदसम्म सहयोग मिल्ने मीनाले बताइन्।
बालगृह सञ्चालनमा आफूहरूसँग दिगो आयस्रोत नभएकाले उनले सबैसँग सहयोगको याचना गरिन्।उनले भनिन्,‘हामी सबैलाई सहयोग गर्न आग्रह गर्छौं, यी बालबालिलाको सुनौलो भविष्यका लागि ।’ उनले बालगृहमा जस्तो पनि सहयोग गर्न सकिने बताइन्। ‘कसैले बालगृह सञ्चालनका लागि कोष नै स्थापना गरिदिए हामीलाई केही सहज हुने थियो’, मीनाले भनिन् ।

बरालको अनुरोध
संस्था सञ्चालनका लागि आर्थिक समस्या देखिन थालेपछि अहिले ‘एक रुपैयाँबाट एक करोड’ भन्ने अभियान थालिएको छ। ८ हजार ५ सय मानिसबाट दैनिक एक रुपैयाँको दरले पाँच वर्षसम्म सहयोग संकलन गर्दा डेढ करोड जम्मा हुन्छ। त्यति रकम अक्षय कोषमा जम्मा गर्न सके संस्था सञ्चालनका लागि आर्थिक स्रोतको चिन्ता नहुने बरालले बताइन्।

अक्षय कोषमा सहयोग पनि जुटिरहेको छ। यो कोष नै गृह सञ्चालनको दिगो आयस्रोत भएकाले यथाशक्य सहयोग गर्न बरालले सबैलाई अनुरोध गरेकी छन्।

बराल अनाथ बालबालिकालाई सहयोग गर्नु सबैभन्दा ठूलो मावन धर्म ठानेकी छिन्। त्यसैले पनि उनी यो मानव धर्ममा निरन्तर सक्रिय भएर लागिरहेकी छिन्।

सुरूका दिनमा वाल गृह सन्चालन गर्दा ‘कमाईने खाने’ भाडो बनाउन संस्था खोलेको भन्दै कतिपयले कुरा काट्दा  मीनालाई साथ नपाइने हो कि भनेर चिन्ता लाग्थियो। तर सोच सही भएकाले आज तिनै बराल सफल तथा उदाहरणिय महिला समेत बनेकी छिन्। ‘अहिले सुरुमा विरोध गर्नेले पनि मलाई सकारात्मक रूपमा लिन थालेका छन्,’ उनले भनिन्।

सायद यही सोचको परिणती हो,बरालको समाजसेवाप्रतिको लगाव र सक्रियता। र, यहि लगावका कारण उनको समाजसेवाको कर्ममा कुनै वाधा अडचन आएको छैन। उनी निरन्तर आफ्नै गतिमा समाजसेवामा हिँडिरहेकी छिन्। समाज विकासको त्रिवेणीमा उनको यात्रा निरन्तर छ। उनी यसैमा निरन्तर लागिरहन चाहन्छिन्। वैवाहिक जीवन विफल भएपछि सीमित सन्तानको आमा बन्ने अवसर छाडेर असंख्य सन्तानकी आमा बन्ने अवसर अंगालेकी मीना बराल अहिले पूर्वाञ्चल क्षेत्रकै उदाहरणीय महिला भएकी छन्।

 

प्रकाशित मिति: : 2021-05-11 08:50:00

प्रतिकृया दिनुहोस्