डोल्पाको रूघाखोकी र ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मी

बिरामीको र्‍याल परीक्षण पछि मात्र रोगबारे यकिन हुने स्वास्थ्यकर्मीको भनाई

डोल्पाको त्रिपुरानसुन्दरी नगरपालिका १ करेलीकाँडा गाउँमा सोमबार एकै गाउँका ८० जना रूघाखोकी र ज्वरोले थलिएपछि स्वास्थ्यकर्मीको टोली पुगेको छ।

एकै गाउँका घरैपिच्छे व्यक्तिहरू बिरामी परेपछि हालै चीनबाट फैलिएको कोरोना भाइरसको आशंकामा गाउलेहरू त्रशीत भएका छन्।

समुन्द्र सतहदेखि ३२ सय मिटर उचाईमा रहेको करेलीकाँडा गाउँ पुग्न त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगरबाट करिब तीन घण्टाको उकालो पैदलमार्ग पार गर्नुपर्छ।

कोरोना भाइरसको आशंकामा बाहिरका कोही पनि मान्छे करेलीडाँडा जान डराइरहेका छन्।

चिकित्सकले पनि उच्च गुणस्तरको मास्क बिना उक्त क्षेत्रमा नजान सल्लाह दिएका थिए।

‘म पुग्नासाथ गाउँ सुनसान थियो। अघिल्लो पटक त्यहाँ पुग्दाको जस्तो चहलपहल थिएन। सायद रूघाखोकी र ज्वरोको संक्रमणले घर भित्रै थलिएर होला भन्ने मैले सोचेँ। गाउँ पुगेर बस्तीको तस्वीर लिँदै गर्दा विस्तारै मानिसहरु बाहिर आउन थाले’, प्रभावित क्षेत्रको स्थलगत रिपोर्टिङमा गएका पत्रकार विष्णुप्रसाद देवकोटाले बिएल नेपाली सेवासँग भने, ‘एकछिन पछि त मानिसको चहलपहल/ओहरदोहर बढ्यो। रूघाखोकी र ज्वरोले सिकिस्त भए पनि उनीहरू निर्धक्कका साथ एकआपसमा कुरा गरिहेका थिए।’

गाउँलेहरू एकै पटक बिरामी परे पनि उनीहरू नियमित काम गरिरहेको पत्रकार देवकोटाले बताए।

‘उनीहरू भन्दै थिए हाम्मो गाउँ पुरै विरामीले थला परेको छ, हामी कहिले सन्चो हुने कहिले विरामी हुने गर्छौ,’ गाउँलेको भनाई उद्धृत गर्दै देवकोटाले भने।

बाहिर समाचारमा आए जस्तो आत्तिइहाल्नुपर्ने स्थिति नरहेको उनले दाबी गरे।

टाउको दुख्ने, ज्वरो आउने रूघाखोकी र पखाला लाग्ने घाँटी दुख्ने भएकाले कोरोना भाइरसको आशंका गरे पनि गाउँमा फैलिएको रुघाखोकी र ज्वरो मौसमी भएको र औषधी सेवन पछि सामान्य हुदै गएको वडा सदस्य ज्ञानबहादुर बुढाले जानकारी गराए।

५७ घरधुरी रहेको करेलीकाँडा गाउँमा अहिले ४५ घरधुरीका झण्डै ८० जना रूघाखोकी र ज्वरोले थलिएका छन्। सबै भन्दा बढी वृद्ध वृद्धा र बालबालिका प्रभावित बनेका छन्।

मौसम परिवर्तनसँगै फैलिएको रूघाखोकी र ज्वरोले गाउँनैं थला परेपछि नगरपालिकाबाट सिनिएर अहेव शेरबहादुर बुढा, नर्स लक्ष्मी न्यौपानेसहितको चार सदस्यीय स्वास्थ्यकर्मी टोली पुगेर अस्थायी सिविर राखिसकेको छ।

स्थानीय लेखनाथ आधारभूत विद्यालयमा राखिएको सिविरमा उपचारको लागि आउने विरामीको घुइँचो लागेको छ।

स्वास्थ्य परीक्षणमा संलग्न अहेव शेरबहादुर कठायतले रुघाखोकी र ज्वरो प्रभावित विरामीमा १०२ फरेनहाइटसम्म ज्वरो देखिएको बताए।

सोमबारदेखि शुरू गरिएको स्वास्थय जाँच तथा परीक्षणमा मंगलबारसम्म ५४ जनाको स्वास्थ्य जाँच गरिएको उनले जानकारी दिए।

एउटै घरका ९ जना सम्म रुघाखोकी र ज्वरोले ओछ्यानमै थलिएका छन्। ‘१० दिन भयो परीवारका सबै ओछ्यानको ओछ्यानमै छौं। टाउको दुख्ने ज्वरो आउने, रूघाखोकी लाग्ने घाँटी दुख्ने र पखाला समेत लागेको छ,’ बुजबहादुर बोहराले भने।

गाउँभरि रूघाखोकी र ज्वरोका विरामी हुदासमेत प्रभावकारी उपचारमा सम्बन्धित निकायको ध्यान नदिएको उनले गुनासो गरे।

अर्का विरामी चन्द्रमति लामाले आफूसहित ५ वर्षिय छोरा लक्ष्मीकान्त लामा र ३ वर्षिय छोरा सोनाम लामा एक सातादेखि ज्वरो र खोकीले थला परेको बताइन्।

यसैबीच जिल्ला अस्पताल दुनैका डाक्टर मेलिना हमालले करेलीकाँडामा फैलिएको रोग कुन हो भन्ने  विरामीको र्‍याल परीक्षण नगरेसम्म भन्न नसकिने बताइन्।

उनले आवश्यक औषधि, ल्यावसहित आफू पनि रोग प्रभावित गाउँमा हिँडेको बताउँदै उनले स्थलगत पुगेर विरामीको र्‍याल संकलन गरी काठमाडौं पठाइने र त्यसपछि मात्र रोगबारे थाहा हुने बताइन्।

उनले एकै गाउँमा एकैचोटी ८० जना विरामी परे पनि विश्वभर फैलिएको कोरोना भाइरस नै हो होइन भन्ने ल्याव टेस्ट पछि मात्र जानकारी हुने भएकाले नआत्तिन, सोफा सुग्गर गर्न र तातो पानीको प्रयोग गर्न डा मेलिना हमालले सुझाव दिएकी छन्।

विद्यालय बन्द

रूघाखोकी र ज्वरोले बालबालिका थला परेपछि करेलीकाँडा गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालय बन्द भएको छ।

गाउँमा फैलिएको रोगले सबैभन्दा बढी विद्यालयका बालबालिका प्रभावित भएपछि विरामी सामान्य अवस्थामा नफर्कन्जेलका लागि मंगलबारबाट पठन पाठन बन्द गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक नवराज बुढाका अनुसार विद्यालयमा बालबालिका रून, काम्न थालेपछि र एक पछि अर्को गर्दै सबै थला परेकाले विद्यालय ब्यवस्थापन समितिको बैठक बसेर विद्यालय बन्द गरिएको बताए।

प्रकाशित मिति: : 2020-03-04 07:58:54

प्रतिकृया दिनुहोस्