बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पूनः मिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद दिँदै यो निर्णयसँगै नेपाली चिकित्सकहरुप्रतिको भरोसा बढाएको टिप्पणी गरेका छन्। उनले भने,‘उहाँ पूनः प्रत्यारोपणको लागि विदेशपनि जान सक्नुहुन्थ्यो, तर उहाँले नेपालमै गर्ने निर्णय गर्नुभयो। यो अत्यन्तै राम्रो पक्ष हो। यो हामी नेपाली चिकित्सकहरुले आर्जन गरेको कुरा पनि हो। हामी सेवा दिन सक्छौं भन्ने पक्ष हो।’
राजधानीमा आयोजित एक कार्यक्रमा बोल्दै उनले प्रधानमन्त्रीको मिर्गौलाको पूनः प्रत्यारोपणको तयारी राम्रो भएकोले शल्यक्रिया सफल हुने विश्वास दिलाए। उनले भने,‘प्रत्यारोपणपूर्व गरिएका महत्वपूर्ण चेकजाँचका रिपोर्ट राम्रो आएका छन्। मुटु, कलेजो र फोक्सोको अवस्था राम्रो छ। यी सबै टेष्ट गर्दा पूर्ण रुपमा स्वस्थ देखियो। त्यही भएर अस्पताल भर्ना गरिएको हो।’ नेपालमा ९८ प्रतिशत प्रत्यारोपण सफलता भएको सुनाउँदै यो नेपालको लागि पनि सुखद पक्ष भएको काफ्लेको टिप्पणी छ। उनले भने,‘हिजो प्रधानमन्त्रीज्यू भर्ना हुनुभयो, आज अब्जर्भेशनमा राखिएको छ। भोलि, उहाँको ट्रान्सप्लान्ट हुन्छ।’
साक्षात्कारमा बोल्दै उनले मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने पनि विश्वास दिलाए। उनले भने,‘शरिरले साथ दिएसम्म उहाँ स्वस्थ हुनुहुन्छ। कुनै ईन्फेक्शन भएन, हृदयघात वा सडेन डेथ भएन भने लामो समयसम्म चल्न सक्छ।’ नेपालभित्रै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओलीको निर्णय अत्यन्तै सकारात्मक भएको उनको तर्क छ। उनले प्रत्यारोपण सफल हुने भन्दै यसमा शंका नगर्न आग्रह गरे।