परराष्ट्रमन्त्री भन्छन्– यस वर्ष हाेली नमनाउनू

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस वर्षको होली नमनाउन आग्रह गरेका छन्। कोरोना भाइरसको रोकथामका लागि भरसक भीड हुने कार्यक्रम आयोजना नगर्न आग्रह गरेका हुन्।

परराष्ट्र मन्त्रालयमा साेमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भीडभाड हुने गरी कुनै काम नगरौं। सकभर भीड हुने कामबाट बचौं। यसपटक होली नमनाऔं।’ यस वर्षको होली फागुन २६ र २७ गते परेको छ।

उनले विवाहजस्ता उत्सव पनि परिवारका सीमित सदस्यमाझ मात्र गर्न आग्रह गरेका छन्। मन्त्री ज्ञवालीले खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरलाई नियमित राख्‍ने जानकारी पनि पत्रकार सम्मेलनमा दिए।

ज्ञवालीले अहिलेसम्म नेपाल कोरोना भाइरसबाट मुक्त रहेको बताए। 

कोरोनाबाट प्रभावित पाँच वटा देशका पर्यटकलाई जारी गरेको अन एराइभल भिसा रोक्का गरिएको र अत्यावश्यक बाहेक भ्रमण विदेश भ्रमणमा नजान ट्राभल एड्भाइजरी जारी गरेको उनले बताए।

‘नेपाल प्रवेश नाकामा कडाइ गरेका छौं। यात्रीले मेडिकल रिपोर्ट अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेका छौं,’ ज्ञवालीले भने। सरकारले कोरोना भाइरसको रोकथामका लागि तीन तहका समन्वय गर्न संयन्त्र स्थापना गरिएको पनि उनले बताए।

उप प्रधानमन्त्री ईश्वर पोखरेलका नेतृत्वमा मन्त्रीहरु सम्मिलित कारोना भाइरस रोकथाम समन्वय समिति, मुख्य सचिवको नेतृत्वमा स्टेरिङ कमिटी र प्रधामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीको संयोजकत्वम वर्किङ टिमले काम गरिरहेको बताए।
 

प्रकाशित मिति: : 2020-03-03 10:33:17

प्रतिकृया दिनुहोस्