सर्वोच्च अदालतले नोवेल कोरोना अर्थात कोभिड–१९ भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि आदेश दिएको छ ।
यसअघि सर्वोच्चले कोरोनाको अधिवक्ता राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न, ती देशका नागरिकलाई भिसा नदिन, चीनसँगको स्थलमार्गमा हेल्प डेस्क राख्न, विपद व्यवस्थापन ऐनअनुसार विपदको मूल्यांकन र विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्न, स्कुल कलेजसमेत बन्द गर्न अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए ।