फिर्ता बाेलाउने सरकारी निर्णय अप्रत्यासित लागेन: राजदूत पौड्याल

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सरकारी निर्णय अप्रत्यासित नलागेको बताएका छन्। 

उनलाई फिर्ता बोलाउने सरकारी निर्णय भएको भोलिपल्ट सोमबार बिहान बेइजिङबाट पौड्यालले आफूलाई फिर्ता गर्ने सरकारी निर्णय सञ्चारमाध्यमाट थाहा पाएको बताए। सरकारसँग आफ्नो कुनै गुनासो नभएको र कामको सिलसिलामा असमझदारी नभएको पनि उनले बताए । 

राजदूत पौड्यालले भने, ‘मलाई सञ्चारमाध्यमबाट सरकारले फिर्ता बोलाएको थाहा भयो। जतिसक्दो चाँडो फिर्ता हुँदैछु।’

सरकारले उनलाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिएको छ। आइतबार मन्त्रीपरिषद्को बैठकले पौड्याललाई फिर्ता बोलाएर नेकपा नेता एवं पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा अनुमोदनका लागि संसदीय समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो । 

पौड्याल २०७३ कात्तिक १३ गते चीनका लागि राजदूत नियुक्त भएका थिए ।  तत्कालीन माओवादी र कांग्रेसको गठबन्धन सरकारले उनलाई चीनका लागि राजदूत नियुक्त गरेको थियो ।

उनको चार वर्षे कार्यकाल आगामी कात्तिक १२ सम्म थियो । पौड्यालको कार्यकालमा नेपाल र चीनबीच कनेक्टिभिटी, यातायात तथा पारवहन, द्धिपक्षीय उच्चस्तरीय भ्रमण भएका छन् । 

प्रकाशित मिति: : 2020-03-03 04:52:32

प्रतिकृया दिनुहोस्