प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतनलाई ७ दिन हिरासतमा राख्न अनुमति

 नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने रतन तिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो।

आज नै जुत्ता प्रहारको घटनाबारे छानबिनका लागि एक जना प्रहरी वरिष्ठ अधिकृतको नेतृत्वमा समिति गठन भएको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो।

समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य छन्।

समितिले प्रकरणबारे छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनेछ।

आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो। लगत्तै उनी पक्राउ परेका थिए।

प्रहरीलाई बयान दिँदै तिरूवाले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको भनेका छन्।
 

प्रकाशित मिति: : 2020-03-03 04:09:37

प्रतिकृया दिनुहोस्