भारतीय विमानमा पनि अब इन्टरनेट सुविधा

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा विमानबाट यात्रा गर्नेहरूका लागि खुसीको खबर प्राप्त भएको छ। विमानमा यात्राको बेला यात्रीले इन्टरनेटको सुविधा पनि पाउने भएका छन्। भारतको विमान मन्त्रालयले आकाशमा विमान भएको बेला इन्टरनेट चलाउने सुविधालाई स्विकृति प्रदान गरेको छ। 

अब भारतीय आकाशमा यात्रुले ल्यापटप, स्मार्टफोन, ट्याबलेट, स्मार्टवाच, ई–रिडर र पिओएस डिभाइसलाई इन्टरनेट सेवासँग कनेक्ट गर्न सक्ने छन्। आकाशमा भएको बेला यात्रुले ल्यापटप र मोबाइललाई फ्लाइट मोडमा राखे पनि इन्टरनेटको सुविधा लिन सक्ने छन्। 

केही दिनअघि निजी विमान कम्पनी एयर भिस्टाराले दावी गरेको थियो–घरेलु फ्लाइटमा इन्टरनेट सुविधा दिने उ पहिलो एयरक्राफ्ट बन्दैछ।

भिस्टारा इलेक्ट्रोनिक सामान बनाउने कम्पनी प्यानासोनिकसँग मिलेर इन–फ्लाइट इन्टरनेट सुविधा दिने कार्यमा जुटिसकेको छ।  

विमान उडेको बेला इन्टरनेट सुविधा दिने कार्य २००८ देखि नै सुरु भइसकेको थियो। अमेरिकाको भर्जिनिया एटलान्टिक एयरलाइन्समा सबैभन्दा पहिले यो सेवा सुरु भएको थियो। यसमा स्याट्लाइट इन्टरनेटको सहयोगले यात्रीलाई ३–एमबिपिएससम्म इन्टरनेट स्पीडको सुविधा प्रदान गरिएको थियो। अमेरिकापछि जर्मनीको केही विमान कम्पनीले इन्टरनेट सुविधा उपलब्ध गराएका थिए। 

कसरी काम गर्छ इन्टरनेटले विमानभित्र 

जमिन माथि विमान उडिरहँदा कसरी इन्टरनेटले काम गर्छ? यो धेरैका लागि कौतुहलको विषय बन्न सक्छ। खासमा एयर–टु–ग्राउन्ड (एटिजी) प्रविधिका कारण विमानमा इन्टरनेट सुविधा उपलब्ध गराउने काम हुन्छ। यसमा स्याटलाइट सिग्नललाई जमीनमा भएको रिसिभर्स (मोबाइल टावर्स) मा पठाउने काम गरिन्छ। पछि विमानमा भएको एन्टिनाको सहयोगले इन्टरनेट सुविधा उपलब्ध गराइन्छ।

तर, यो जमिन माथि उडिरहेको बेला मात्र सम्भव छ। समुन्द्र माथिबाट उडेको बेला इन्टरनेटले काम गर्दैन। यति बेला स्याटलाइट इन्टरनेट कनेक्टिविटी प्रविधिको सहयोग लिएर फ्लाइटमा इन्टरनेट सर्भिस उपलब्ध गराउने काम हुन्छ। 

यसमा स्याटलाइटद्धारा इन्टरनेटको सिधा ट्रान्समिशनलाई क्यू ब्याण्डबाट पठाउने कार्य हुन्छ।  विमानमा सिग्नल रिसिभ गर्नका लागि एयरलाइन्समा सर्भर इन्स्टल गर्नुपर्ने हुन्छ, जसले एन्टिना र डाटा राउटर्सबाट स्याटलाइट सिग्नललाई डाटा प्याकेजमा परिवर्तन गर्नेछ। सर्भर इन्स्टल गर्न लाग्ने खर्चका कारण यात्रीलाई यसको सुविधा लिँदा केही अधिक रकम खर्चिनु पर्ने हुन सक्छ। 
 

प्रकाशित मिति: : 2020-03-03 02:51:21

प्रतिकृया दिनुहोस्