हुम्लामा ११ औं पटक हिमपात 

बिस्तारै जाडो कट्दै गइरहेको बेला हुम्लामा पुनः चिसो बढेको छ। आइतवार बेलुकाबाट सुरु भएको ११ औं पटकको भारी हिमपातका कारण हुम्लामा चिसो बढेको छ भने  सिमकोटको तापक्रम माइनस् ६ मा डिग्री सेल्सियसमा झरेको छ। 

बिहान घाम लागेर तातो भएको भएपनि एकाएक मौसम परिवर्तन भएपछि चिसो बढेको हो।  

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार हुम्लाको उत्तरी भेगमा हिमपात भएको छ भने दक्षिणी भेगमा बर्षा भएको छ।

मौसममा आएको बदली सँगै बाक्लो हिमपात सुरु भएर जमिनमा हिउँ जम्न थालेको स्थानीयले बताएका छन्। हुम्ला प्रहरी प्रमुख रामप्रशाद घर्तिमगरले दिउँसो एक्कासि मौसम परिवर्तन हुँदा हिमपात सुरु भएको बताए। 

हुम्लामा हिमपात हुँदा जिल्लाका उत्तरी क्षेत्रहरु सेताम्य भएका छन्। हिमपातले हुम्लाको जनजीवन कष्टघर बनाएको भएपनि यस वर्षको हिउँदमा मंसिरदेखि फागुनसम्म बेलाबेला हिमपात हुनुले बर्षे बालीका राम्रो हुने भन्दै किसानहरु उत्साहित भएका छन्।

खेतबारीमा लगाइएको गहुँ, जौँ, उवा लगायतका बाली राम्रो हुने हुनाले किसान मख्ख छन्। यस वर्ष अन्नबालीहरु राम्रो हुने संकेत भन्दै जिल्लाका किसानहरुमा खुशी छाएको खार्पुनाथ ५ का कृषक बृषबहादुर शाहीले बताए।
 

प्रकाशित मिति: : 2020-03-02 21:38:03

प्रतिकृया दिनुहोस्