प्रि–मनसुन सुरु भएको छ। मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रि–मनसुन मा मेघगर्जनसहित वर्षा हुने मौसमविद् मिनकुमार अर्यालले बताए। उनका अनुसार प्रि–मनसुन मा स्थानीय वायुको प्रभाव बढ्दै जाने जान्छ।
मार्च, अप्रिल र मे महिनामा मेघगर्जनसहित वर्षा हुनुका साथै हावाहुरी चल्छ।
स्थानीय वायुको प्रभावका कारण यो समयमा एक ठाउँमा पानी परे पनि नजिकै पानी नपर्न पनि सक्ने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। प्रि–मनसुन मा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुने उनले बताए।
‘जाडो महिना सकिएलगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन शुरु भएको हो’, उनले भने। तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ।
प्रि–मनसुन को समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन्।
यसपालिको हिउँदमा पर्याप्त पानी परेको छ। मौसमविदका अनुसार पोहोर परार हिउँदको अन्त्यतिर मात्रै वर्षा हुन्थ्यो भने यसपालि हिउँद लागेदेखि नै वर्षा भईरहेको छ। यो वर्षाले फलफूल र कृषिबालीलाई फाइदा पुगेको छ।