नवेल कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जनालाई भर्ना गरिएको छ। चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली संक्रमणको आशंकामा अस्पताल भर्ना भएका हुन्।
संक्रमित देशबाट फर्केका उनीहरु ज्वरो आएपछि आफै चेकजाँचका लागि अस्पताल पुगेको अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले बिएल नेपाली सेवालाई जानकारी दिए। उनका अनुसार उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ।
उनले भने,‘चीन र कोरियाबाट फर्केका उहाँहरु ज्वरो आएपछि अस्पताल आउनुभएको थियो। संक्रमणको अशंकामा हामीले आइसोलेसनमा राखेर नमुना परीक्षणका लागि पठाइसकेका छौँ,भोलिसम्ममा रिपोर्ट आउँछ।’
प्रवक्ता बास्तोलाको अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन्। उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए।
दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।