काेरियामा कोरोना भाइरसको संक्रमणमा वृद्धि, दूतावास भन्छ– नेपाली सुरक्षित

गत डिसेम्बरमा चीनको उहान शहरबाट सुरु भएकाे कोभिड—१९ (नोबेला कोरोना) भाईरस हालसम्म बिश्वका ६४ राष्ट्रसम्म फैलिएको छ भने यहि कोरोना भाईरसबाट दक्षिण कोरियामा आईतबार साँझ सम्म ३० जना उपचार पछि घर फर्किएका छन्। १८ जनाको मृत्यु हुनुको साथै ३७ सय ३६ जना संक्रमित भएकाे बताइएकाे छ। सबैभन्दा बढी संक्रमित पच्चिस लाख जनसंङख्या रहेको भनिएको देशको चौथो ठूलो शहर थेगुमा मात्र २२ सय २४ जनामा भाईरस सकारात्मक देखिएको छ। 

साथै कोरोना भाईरस फैलिएको भनिएको सिन्चेओन्जी चर्चका करिब २ लाख ६० हजार  सदस्यको स्वास्थ्य जाँच भइरहेको हुँदा भाईरस संक्रमितको संङख्यामा बृद्धि हुँन सक्ने अनुमान गरिएको छ। दक्षिण कोरियामा कोरोना भाईरसको संक्रमणको डरबाट प्राय: शपिङ्ग मल तथा मुभी थियटर खाली नै छन्। सार्बजनिक सवारी साधनको उपयोग न्युन भएको छ।

सभा समारोहलगायतका कुनै पनि कार्यक्रम आयोजना गरिएका छैनन्। सरकारले मोबाईल फोनमा कोरोना भाईरसबाट बच्न र प्रभाबितको बारेमा हाईअर्लट सूचना बेलाबेलामा जारी गरिरहेको छ। कतिपय कम्पनि अस्थाईरुपमा बन्द भएका छन्।

थेगु शहर र आसपासमा गरि लगभग ७ हजारसहित करिब ५० हजारको हाराहारीमा नेपाली रहेको दक्षिण कोरियामा हालसम्म कसैलाई पनि कोरोना भाईरसको लक्षण नदेखिएको र भाईरसबाट नेपालीहरु सुरक्षित रहेको दक्षिण कोरियास्थित नेपाली दुतावासले जानकारी गराएको छ। 

दक्षिण कोरियामा तैनाथ थेगु शहरदेखि ३० किमी उत्तरमा रहेको अमेरिकी सेनाको क्याम्प कैरलमा रहेका एक अमेरिकी सेनामा समेत कोरोना भाईरस सकारात्मक देखिएको छ। भाईरसकै कारण मार्चदेखि सुरु हुँने भनिएको दक्षिण कोरिया र अमेरिकी सेनाको बीचकाे संयुक्त सैन्य अभ्यासलाई अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ।

त्यस्तै फुटबल खेल के—लिग २०२० पनि स्थगित सँगै अर्काे महिना दक्षिण कोरियाको बुशान शहरमा हुन गइरहेको हाना बैड्ड २०२० बिश्व टिम टेबल च्याम्पियनसिप प्रतियोगिता पनि कोरोना भाईरसका कारण स्थगित गरिएको छ। दक्षिण कोरियाको संसदको फेब्रुअरी २५ मा गरिनुपर्ने पूर्णसत्र पनि स्थगित भएको छ। बिश्व बजारको ३० प्रतिशत हिस्सा ओगटेको दक्षिण कोरियाको उल्सानसिटीमा रहेको हुण्डाई मोटर्स कम्पनिमा कार्यरत केही कर्मचारीमा समेत कोरोना भाईरस सकारात्मक भेट्टिएपछि कम्पनिले केही समयका लागि काम बन्द गरेको छ ।

राजधानी सोलदेखि २ सय किमी दुरीमा रहेको सामसुङ ईलेक्ट्रोनिक्स कम्पनिमा कार्यरत कर्मचारीमा पनि कोरोना भाईरस पुष्टि भएसँगै कम्पनिको कामलाई बन्द गरिएको छ । त्यस्तै भाईरसकै कारण के–पप सुपरस्टार बिटिएस कर्न्सट पनि स्थगित भएको छ। 

बिश्वको बाह्राै ठूलाे अर्थब्यबस्था भएको दक्षिण कोरियाको केन्द्रिय बैङ्कले कोरोना भाईरसको प्रभाबबाट आयातनिर्यात प्रभाबित भई अर्थब्यबस्थामा नकरात्मक प्रभाब पर्ने घोषणा गरेको छ भने स्वतन्त्रता दिवसको समारोहमा राष्ट्रपति मुन जे ईनले समस्या उच्च स्तरसम्म पुगेपनि संक्रमण नियन्त्रणका लागि हरसम्भब प्रयास जारि राखेको बताएका छन्। उनले भाईरस नियन्त्रण पश्चात डामाडोल अर्थब्यबस्थालाई उकास्न सकिने बताएका छन्। 

कोरोना भाईरसबाट आफ्नो राष्ट्र जस्तै महामारीको रुपबाट आक्रान्त आफ्नो असल छिमेकी देश दक्षिण कोरिया र जापानमलाई भाईरस नियन्त्रण गर्नका निम्ति चीन सरकारले ईमजेन्सी प्रणालीलाई बलियो बनाउने,एकआपसमा महामारीको सूचनालाई साझा गर्ने,रोकथामका उपाय अनुभवलाई आदानप्रदान गरिने,उपचार औषधी लगायत अनुसन्धानको क्षेत्रमा सहयोग गरिने चीनका बिदेश मंन्त्रालयका प्रबत्ता चाओ लि च्येनले बताएका छन्। 

त्यस्तै कोरोना भाईरसको कारण देखाउँदै दक्षिण कोरिया लगायत आफना केही गन्तब्यमा एयर न्युजिल्याण्ड, डेल्टा एयरलाईन्स,क्याथे प्यासिफिक,जापान एयरलाईन्स,हंगकंग एयरलाईन्स,सिंगापुर एयरलाईन्स,थाई एयरबेज लगायतले केही समयका निम्ति उडान स्थगित गरेका छन् ।
 

प्रकाशित मिति: : 2020-03-02 08:30:06

प्रतिकृया दिनुहोस्