सरकारले चोर बाटोबाट कर वृद्धि गर्‌याे : गिरी

बिएल संवाददाता

काठमाडाै‌ं

समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीलाई बोल्न समय दिएका थिए।

पार्टीका तर्फबाट प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गिरीले विश्वव्यापी सिद्धान्त र अभ्यासको विपरीत सरकारले चोर बाटोबाट कर वृद्धि गरेको आरोप लगाइन्।

मन्त्रिपरिषदको निर्णयअनुसार पूर्वाधार विकास करमा गरिएको बृद्धि संसदकै अधिकारमाथि हस्तक्षेप भएको बताइन्।

‘कुनै पनि कर लगाउने अधिकार मन्त्रिपरिषदलाई छैन्,’ उनले भनिन्,‘ करको निर्णय संसदले मात्र गर्न पाउछ।’  

अर्थमन्त्री डा.युवराज खतिवडाले पूर्वाधार करमा गरिएको वृद्धिले जनतालाई भार नपर्ने दावी गरेकोमा पनि उनले आश्चर्य प्रकट गरिन्। अर्थमन्त्रीले आयल निगमको मुनाफाबाट उक्त कर पूर्ति हुने दावी गरे पनि निगमले जनतासँग नै असुलेर नाफा आर्जन गर्ने भन्दै सांसद गिरीले भनिन्, ‘जनतालाई यसरी भ्रममा पार्नु भएन।’

७ महिनामा सरकारले लक्ष्यको ४६ प्रतिशतमात्र राजश्व संकलन गर्न सकेको भन्दै उनले राजश्व संकलनमा भएको असफलता लुकाउनका लागि नयाँ कर थोपरिएको आरोप लगाइन्।
 

प्रकाशित मिति: : 2020-03-02 03:18:35

प्रतिकृया दिनुहोस्