पूर्वसञ्चारमन्त्रीको अडियो छानबिन नहुनुमा सरकारकाे गम्भीर नियत देखियाे: देउवा

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन मागेको अडियो बारे छानबिन गर्न माग गरेका छन्।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै सभापति देउवाले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक भएको एक सातासम्म छानबिन नहुनुमा सरकारकाे गम्भीर नियत रहेको बताए।

उनले भने, ‘हामीलाई कति आउँछ भनेर सोधेको अडियोमा प्रष्ट सुनिन्छ। म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनेका हुन्? हामीमा कोको पर्छन् प्रष्ट गर्नुस्।’

सम्बन्धित निकायले छानविन गर्नुअघि नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा समेत उनले आपत्ति जनाए।‘छानविन हुनुभन्दा पहिले नै तपाई‌ंले निर्णय दिनुभयो भने तपाईंको बोलीको विश्वसनीयता कमजोर भएन?,’ उनले प्रश्न गरिन्,‘यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन?’

बास्कोटाको अडियो प्रकरणबाट ध्यान मोड्न नेपाल ट्रष्टको श्वेतपत्र ल्याएको देउवाको आरोप छ।  ‘ मन्त्रिपरिषद्बाट नेपाल ट्रष्टको जग्गा लिजमा दिने कुनै निर्णय मेरो छैन्,’ उनले भने,‘राजनीतिक पूर्वाग्रहका साथ मेरो नाम जोडेकोमा गम्भीर आपत्ति छ।’

ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो।

यसमा सत्तारुढ नेकपाका नेता समेत रहेका पूर्वमन्त्री शर्माले पनि आपत्ति जनाएका छन्।

प्रकाशित मिति: : 2020-03-02 02:45:19

प्रतिकृया दिनुहोस्