अध्यक्ष ओलीले उल्टाए सचिवालयकाे निर्णय, बामदेवकाे सट्टामा युवराजलाई निरन्तरता दिइने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।

नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन्।

यसअघि प्रधानमन्त्री ओली समेत सहभागी नेकपा सचिवालयको बैठकले बामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।

तर, निर्णय गरेको केही बेरमै प्रधानमन्त्री ओलीले निर्णय उल्टाएका हुन्। ‘ प्रधानमन्त्रीज्यूले उहाँलाई सिफारिस नगर्ने बताउनु भएको छ,’ एक नेताले भने,‘ उहाँले युवराज खतिवडालाई नै निरन्तता दिने बताउनु भएको छ।’

दुई वर्षअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको कार्यकाल फागुन २० गते सकिँदैछ। नेकपा सचिवालयले उनको ठाउँमा गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा दख्खल राख्ने भएकाले पार्टी राजनीतिभन्दा बाहिर रहेका खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए।

पछिल्लो समयसम्म खतिवडाले अघिल्लो साता कमिसन काण्डमा गोकुल बाँस्कोटाले राजीनामा दिएपछि  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्।

प्रकाशित मिति: : 2020-02-27 04:59:44

प्रतिकृया दिनुहोस्