मिनी क्रुजसिपमा गृहमन्त्री सरर‍‍‍‍‍‍‍‍.....

गृहमन्त्री रामबहादुर थापा (बादल)ले चितवनको नारायणी नदी किनारमा निर्माण भैरहेको मिनी क्रुजसिपमा चढेर अवलोकन गरेका छन्।

क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिका सञ्चालक थानेश्वर कँडेलका अनुसार गृहमन्त्री बादल विहान करिब ८ बजे क्रुजसिप निर्माण भैरहेको भरतपुर महानगरपालिका १६ को काप्रेघाट पुगेका थिए। 

गृहमन्त्री थापाले नारायणी नदीको भगेरथानदेखि ज्ञानेश्वरसम्म क्रुजसिप चढेर करिब ३० मिनेट शयर गरेको उनले जानकारी दिए।

गृहमन्त्री थापासहित चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, गृहमन्त्रीका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी ‘पथिक’ पनि उपस्थित थिए।

क्रुज निर्माण अन्तिम चरणमा पुगेको छ। सञ्चालक थानेश्वर कँडेलका अनुसार १५ दिनभित्र सबै काम सकिने छ। झण्डै १५ करोडको लागतमा तयार गरिएको क्रुजसिपभित्र साँस्कृतिक कार्यक्रम गर्दा आवश्यक ड्रेस चेन्जिङ रुम बनाउने, ट्वाइलेट, रिसेप्सन, किचन, पानी ट्यांकी राख्ने लगायतका काम सकिएका छन्। 

क्रुजको पहिलो तलामा ९०, दोस्रो तलामा १०० जना अटाउन सक्ने क्षमता छ। पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र तथा म्यूजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ राखिएको छ।

क्रुजसिपको सञ्चालनको लागि आवश्यक १५ जना चालक दलका सदस्य र प्राविधिक हाल विदेशी हुने छन्। क्रुज राख्न पानीको च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन बनाइएको छ।
 

प्रकाशित मिति: : 2020-02-26 02:06:32

प्रतिकृया दिनुहोस्