भारतको तमिलनाडुस्थित सालेममा बुधवार बस दुर्घटनामा मृत्यु भएका सातजना नेपालीको शव सोमबार इटहरी र काठमाडौं पुर्याइने भएको छ।
बुधवार नेपाली तीर्थयात्री चढेको बसलाई लहरीले ठक्कर दिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप दुईजनाको मृत्यु भएको नेपाली दूताबास दिल्लीले जनाएको छ।
नेपाल सरकारको खर्चमा मृतकको शव सिलिगुडीको बागडोग्रा र काठमाडौं हुँदै स्वदेश ल्याउन लागिएको छ। त्रियुगा ७ उदयपुरका विष्णुप्रसाद दाहालको शव काठमाडौं ल्याउने तयारी छ भने ६ जनाको शव सिलिगुडीको बागडोग्रा विमानस्थल हुँदै ल्याउने तयारी छ।
अस्पतालबाट शव एम्बुलेन्समा पठाइसकिएको र सोमवार बैङ्लोरबाट जहाजको कार्गोबाट सिलिगुडी हुँदै स्वदेश पुर्याइने दिल्लीस्थित नेपाली दूताबासका द्धितीय सचिव बाबुराम सिग्द्याले बताए।
एकजनाको शव आफन्तले आफैँ स्वदेश ल्याएका छन्।
बाँकी छ जना मृतकमध्ये एकजना इटहरी र बाँकी खनारका हुन्। इटहरी १० का वीरबहादुर राई, खनाका बुद्धमी थारुनी, रासीलाल चौधरी, टीकाराम चौधरी, फुसरी देबी चौधरी र गोपाल तामाङको मृत्यु भएको थियो ।
दुर्घटनाका घाइतेमध्ये आठजना उपचाररत छन्।