रुकुम पूर्व: खनजोत गर्दा भूमिको श्राप लाग्छ !

बिएल संवाददाता

रुकुम पूर्व

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाअन्तर्गत तकवासीले खेतबारीमा खनजोत कार्य सुरु गरेका छन् । चार महिनादेखि बन्द गाउँको खनजोत गएको बुधबारबाट सुरु भएकाे हो । त्यसका लागि आवश्यक विधि र वाचा यसअघि नै पूरा भइसकेको छ। 

पुथाउत्तरगङ्गा गाउँपालिका १० काे तकमा हरेक वर्ष मङ्सिर, पुस, माघ र फागुनमा खनजोत गर्न पाइँदैन । वडा कार्यालय, गाउँपालिका वा अरु कुनै सरकारी निकायको नियमले खनजोत गर्न बन्देज गरेकाे होइन ।

परम्परादेखि नै तकगाउँमा हरेक मङ्सिरको अन्तिमदेखि फागुनको पहिलो हप्तासम्म खनजोत गर्न नपाइने चलन चल्दै आएको हो । याे समयमा यस क्षेत्रमा हलो प्रयोग पूर्णतः बन्द रहन्छ । सकेसम्म कुटो–कोदालो पनि नचलाउने चलन छ।

खनजोत गर्न बन्द गर्ने र फुकाउने विधि घर्तीमगर थरका एक जना व्यक्तिले मात्रै गर्छन् । उनले पूजाआजा र विधिवाचा पूरा गरेपछि सबै गाउँलेले जोत्न तथा खन्न सुरु गर्छन्। विधि वाचाका लागि गएको बुधबार राम्रो दिन मानिएकाले त्यही दिनबाट तकमा जोत्न तथा खन्न सुरु गरिएको हो। 

यस वर्ष सुर्जे घर्तीमगरले विधि वाचा गरेर हल्सार अर्थात् भूमि र हलोको पूजा गरी जोत्ने र खन्ने कार्य फुकुवा गरिदिनु पर्ने हो। तर सुर्जे देश बाहिर रहनुभएकाले उहाँका बुबाले भूमि र हलो पूजा गरेर खनजोत फुकुवा गर्नुभएको हो। गाउँका कटवालले खनजोत कार्य सुरु हुने भनेर गाउँमा हाक हालेका थिए। आइतबार भूमि पूजा भएको थियो भने आइतबारपछिको राम्रो बार बुधबार हुने भएकाले धामीले बुधबारदेखि जोत्न र खन्न सकिने गरी साइत मिलाइदिएका हुन्।

तकगाउँमा खनजोत गर्न पनि त्यसरी नै सूचना दिएर बन्द हुन्छ। मङ्सिर मसान्तको दिन घरका छतछतमा गएर गाउँका कटवालले खनजोत कार्य बन्द भएको सूचना दिन्छन्। गाउँलेले त्यसैलाई आधिकारिक सूचना मानेर गाउँमा खनजोत बन्द गर्छन्। फेरि घर्तीमगरमध्येका एक जनाले हल्सार अर्थात् भूमि र हलोको पूजा गरेपछि उनै कटवालले त्यसबारेमा गाउँलेलाई जानकारी दिएर खनजोत गर्न लगाउने गरेको स्थानीय युवा मैत्या घर्तीमगरले बताए।

हरेक वर्ष घर्तीमगरका छोराहरूको पालैपालो हल्सार गर्ने जिम्मेवारी आउने गरेको उनले बताए। त्यस क्षेत्रमा व्यापक हिउँ पर्ने भएकाले त्यस समयमा खनजोत गर्न हुन्न भनेर चलन चलाएको बताइन्छ। त्यो समयमा खनजोत गर्दा भूमिको श्राप लाग्ने जनविश्वास छ। तकमा अहिले २६ घरधुरी रहेका छन्। 
 

प्रकाशित मिति: : 2020-02-23 20:49:30

प्रतिकृया दिनुहोस्