तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ। उक्त भवन लायन्स क्लब इन्टरनेशनलको सहयोगमा सम्पन्न भएको हो।
रु दुई करोड सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित भण्डारीले जानकारी दिए। लायन्स क्लबले अपाङ्गता भएकालाईसमेत सहयोग गरेको उनको भनाई छ।
'ह्विलचियर, न्यून दृष्टियुक्त व्यक्तिलाई सेतो छडी र बहिरा व्यक्तिलाई श्रवणयन्त्र वितरण गरिएको छ' उनले भने।
यसअघि लायन्स क्लबकै सक्रियतामा व्यास –१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशालाका लागि रु एक करोड आर्थिक सहयोग र दमौली अस्पताललाई रु १६ लाख बराबरको उपकरण हस्तान्तरण भएको थियो।
विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन निर्माणका लागि लायन्स क्लब इन्टरनेशनले आर्थिक सहयोग गरेको थियो ।