क्वारेन्टाइनमा राखिएका नेपालीमा काेराेनाकाे सङ्क्रमण नभएकाे पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

चीनबाट उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन अर्थात् डाक्टरको निगरानीमा राखिएका नेपालीहरुमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको पुष्टि गरेको हो। मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको वुहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिए। 

मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ। सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर भक्तपुरमा राखिएको छ। 

यसैबीच चीनबाट ल्याइएका नेपालीहरुलाई खरिपाटीमा राखिएपछि सुरुमा डराएका स्थानीयमा अहिले त्रास हटेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा खरिपाटी आसपासमा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै चीनबाट ल्याएकाहरुमा कोरोना सङ्क्रमण नभएको बुझाएपछि अवस्था सामान्य हुन थालेको हो।

यस्तै पछिल्लो समयमा सिन्धुपाल्चोकको गुम्बा डाँडा, हुम्लाको सिमिकोट लगायतका ठाउँमा फैलिएको रुघाखोकीको सङ्क्रमण मौसमी ‘फ्लु’ भएको डाक्टरहरुले बताएका छन्।

प्रकाशित मिति: : 2020-02-20 02:33:29

प्रतिकृया दिनुहोस्