रेडियो नेपाल एउटा इतिहास मात्रै हुन बेर छैन

हेमन्त विवश

काठमाडाै‌ं

नसक्छु म जून तारा झार्न 
नसक्छु म माया अन्तै सार्न 

बिहे अघि धेरै थिए दिमाग हल्लाउनेहरू। धेरै समयसम्म झुलुक्क झल्किए जिन्दगीको मजघारमा।  अधिकांशजसो सुटुक्क गए उही तवरले खवरै नगरिकन। कस्तो हुन्छ माया न धेरै सोच्ने समय दिए। न त तिनले सम्मुख आएर केही भनेर गए। एकतर्फी सल्लाझैं सुसाइरहनेहरु पनि थिए कल्पनाको भूमरीमा। सुसाउन बाध्य तुल्याउने पनि थिए। बिस्तारै चल्यो हुरी र छोएर गयो शरीरका अङ्गअङ्गलाई। कहिल्यै भनेन् उसले कसको सन्देश बाहक बनेर आएको थियो। ऊ आयो मनमा अलिकति हलचल मचायो, भित्रभित्रै हल्लायो र आफ्नो बाटो लाग्यो। मनमा कैयौंका जिन्दगीका पटकथाहरु पनि घुमे बेलाबखत। बाडुलीका लयहरु पनि पुगे तर उनले चाल पाउन सकेनन्। र एकान्तमा गरे आफैंसँग प्रश्न – ‘हैन बेला न कुबेला कसले पठाउछ यो बाडुली।’ यी सबैखाले तर्कना ल्याउनुमा थियो उनको गम्भीर अनि मुस्कानपूर्ण चेहरा। अनि अँग्रेजी साहित्य र अँग्रेजी भाषामा समाचार वाचन गर्दाको  स्वरको आयतन।

रेडियो नेपालभित्र प्रवेश गरेको बेला आक्कल झुक्कल भेट हुँदा मुसुक्क मुस्कान फ्याकेर बिस्तारै हात मिल्थे हाम्रा। केवल नयनको इशारामै सबै कुरा भनेजस्तो गरेर हिँड्ने ती गजबका पात्र थिए महेन्द्र रायमाझी। मैले उनलाई देखेको र सामान्य चिनाजानी भएको धेरै भयो। तर खासै त्यस्तो कुराकानी केही भएन। एकाएक खवर पाएँ उनी जागिर राजिनामा दिएर बाहिरिए रेडियोको त्यो सेतोघरबाट। जहाँ जिन्दगीको रहर पुरा गरे। उनको त्यो त्यही रहर थियो अँग्रेजी भाषामा समाचार वाचन गर्ने। कसैले समाचार वाचन गर्दा ताकाको पहिलो अनुभव सोध्दा उनी एकछिन् टोलाउछन्, त्यो परिवेश सम्झिन्छन् र क्षणभरको लागि लजालु मुस्कान फ्याक्दै भन्छन्– ‘समाचार प्रमुखले ल जाऊ भन्नु भयो। स्टुडियोभित्र गएर कानमा एयरफोन लगाई कुर्सीमा टुकरुक्क बसेँ। रातो बत्ती बल्यो। अँग्रेजी भाषामा समाचार वाचन गर्न पाउदा फुरुङ्ग भएको मन। कतिखेर सुरु गरेँ। कतिखेर अन्त गरेँ। के के पढे थाहा भएन। वाचन सकिएपछि फुरुक्क निस्किएँ शौचालय जाने बाहनामा र कुलेलम ठोकेँ कोठातिर। डर थियो मनमा कस्तो गरेँ भन्ने। दोस्रो दिन डरैडरले प्रवेश गरेँ अफिसको दैलोभित्र। बाहिर ०६३ को आन्दोलन चलिरहेको थियो भित्र मनमा के के कुरा खेल्न थालेका थिए। मलाई देख्ने बित्तिकै हाकिमले प्रतिक्रिया जनाउनु भयो – यू डिड वेल। अनि त मनोबल बढ्न थालिहाल्यो।’  

धनकुटाको बेलारामा जन्मिएर सामान्य बाल्यकाल व्यतित गरेका रायमाझीले गाउँले जिन्दगीमा भोग्नु पर्ने सबै भोगे। २०५५ सालमा धनकुटास्थित रेडियोमा प्रविधिकको अस्थायी जागिर खान सुरु गरेका उनी ०५६ मा स्थायी हुन सफल भए। उनले धनकुटाबाटै बिए पास गरे। सानैदेखि रुचि थियो गीत सङ्गीतमा। त्यही रुचिका कारण कण्ठ थियो रेडियो नेपालबाट प्रशारित कार्यक्रमको तालिका समेत। गीतसङ्गीतप्रतिको लगावका साथै साथीभाइले उनको स्वरको तारिफ गर्न थाले पछि थपिदै गयो उनमा ऊर्जा। धनकुटामै छदा एकजना साथीको अनुरोधमा रेकर्ड गरेछन् एउटा लोकगीत। गीत सुन्ने जति सबैले मन पराइदिएपछि फुरुङ्ग हुने नै भयो मन। अनि महशुस गर्न थालेछन् आफू गायक भएको।  २०५८ मा जागिर सरुवा मिलाएर काठमाडौंमा पुगेर मास्टर्स डिग्रीका साथै भर्ना भएछन् सङ्गीत कक्षामा। अविष्मरणीए बन्न पुगेछन् सङ्गीत सिक्दाका ती दिनहरू। ती दिनको अनुभव सुनान ताने लामो सास र भने – ‘साथीहरुसँग सङ्गीत सिक्न जादा सुरुकै दिन झस्केँ। म त बाथरुम सिङ्गर जस्तो पो रहेछु प्यार्र गाउने। कसरी गाउने, कहाँबाट उठाउने, गला कसरी घुमाउने, बिट के हो केही थाहा थिएन। अनि कैलाश राईलाई गुरु बनाई ३ वर्ष जति उहाँकोमा सङ्गीत सिकेँ। त्यसपछि २ वर्ष जति गुरुदेव कामक कहाँ गएर सिकेँ। बल्ल २०६१ मा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा भाग लिएँ।’

कक्षा आठमा पद्दा ताका नै माइकल चन्द, रविन शर्मालगायतले अँगे्रजी समाचार पढेको सुन्दा लाग्दो रहेछ– ‘म पनि कुनै दिन यसरी अँग्रेजीमा समाचार वाचन गर्ने हुन्छु कि हुन्न होला ?’ अनि थालेछन् अरू विषयको तुलनामा अँग्रजीमा बढी नै मेहनत गर्न। अँग्रेजीमै डिग्री पास पनि गरे। तर अँग्रेजीमा डिग्री पास गरे भन्दैमा सजिलो थिएन अँगे्रजी समाचार वाचक बन्नु। विश्वविद्यालयमा पढेको अँग्रेजी र मिडियाबाट ब्रोडकास्ट हुने अँग्रेजीमा निकै फरक थियो जुन कुरा सुनाए कुराकानीकै सिलसिलामा – ‘हामीले जुन जानेर आयौँ। जुन सिकाइयो बिलकुल त्यस्तो मात्र हैन। टङ टुइस्ट पनि हुनु प¥यो।  प्रोनाउनसियसन आदि थुप्रै कराहरू ख्याल गर्नु पर्दो रहेछ। रबिन शर्माले सुझाव दिनु भयो गर्न सक्नु हुन्छ तर अलि मेहनत गर्नु पर्छ। अहिले नै तयारी पुगेको छैन। स्ट्रेस, इन्टोनेसनका कुरामा अलि खेल्नु पर्ने हुन्छ। तपाई न्युज लेख्न सक्नु हुन्छ। न्युजको सेन्स छ तर अनियरमा पढ्दा रेडियोबाट कस्तो न्यूज आयो भने कस्तो अनुभुति हुन्छ त्यो ख्याल गर्नू।’ 

त्यसपछि उनी तयारीमा लागे। उनको तयारी भन्नु नै बढिभन्दा बढि बिबिसी सेवा सुन्नु थियो। लामो समय बिबिसी सुनेर पूर्ण तयारी गरिसकेपछि पाए अनुमति। कुराकानीकै क्रममा मैले प्रश्न तेस्र्याए –   ‘अँग्रेजीप्रति किन त्यति मोह?’ उनले सरल ढंगले भनिदिए – ‘हैन भाषा नै मन पर्ने। पछि गएर आशा पनि पलायो कुनै दिन अँग्रेजीमा समाचार वाचन गर्ने अवसर पाइन्छ कि भन्ने। अन्तराष्ट्रिय भाषा हो कतै जाँदा पनि काम लाग्छ भन्ने भयो। रिदिमिक भाषा, सुन्दा नि मजा लाग्थ्यो।’ त्यतिखेर अहिलेको जस्तो युट्युबदेखि अन्य साइटहरु थिएनन्। उनी भाषा सिक्नु भनेको अनुकरण गर्नु हो ठान्छन्। त्यसैले अँग्रेजी भाषामा सुधार गर्न बिदेशीलाई सुन्नु पर्दोरहेछ भन्ने कुरा मनमा खेल्न थालेपछि सुरु गरेछन् नियमित रुपले बीबीसी सुन्न।  

गाउँघरतिर गाइखाने भाषा भनिने अँग्रेजी सानैदेखि उनको रुचिको विषय बन्यो। त्यसैलाई पिछा गरे। त्यसैले घचघच्यायो चाहानाका थुम्काहरु। त्यसैभित्र डुबे। अँग्रेजी साहित्यका स्रष्टा शेली,किट्स, शेक्सपियरलगायतका रचनाले रोपिदिए मुटुमा भावनाको जरा। नारायण गोपालका गीतले मचाए मनभित्र अर्को हलचल। तानियो मनको पाटो साङ्गीतिक गोरेटोमा पनि। रेडियो कस्तो होला रेडियोमा कसरी बोल्छन् होला भन्ने खुलदुलि हुन पाएन किनकि त्यो उत्सुकता पलाउन नपाउँदै उनको बसाइ भैसकेको थियो रेडियोको क्वाटरमा। दाइ रेडियो नेपालमा जागिरे। दाइसँगै धनकुटा सदरमुकामस्थित रेडियो नेपालको क्वाटरमा बस्न थालेपछि देखिसकेका थिए धेरै कुरा त्यो भित्रको। 

क्वाटरमा बस्दा ताका उनी जतिबेला नि देखिन्थे क्यारिम बोर्डमा झुम्मिएका। स्मरणशक्ति राम्रै थियो। उनलाई पढेको देख्दैन थिए कसैले पनि। खाली खेलि मात्रै रहेका हुन्थे। खै के सोचेर हो रेडियो नेपाल धनकुटा साखाका प्रमुख सुधन खत्रीले एकदिन भनिदिएछन् उनका दाइ दीपकसँग–‘तिम्रो भाइले एसएलसी पास गरेको खण्डमा म रेडियोमै जागिर लगाइ दिन्छु।’ एसएलसीमा एउटा विषयको परीक्षा सन्तोषजनक भैदिएन उनका लागि। मनमा बारम्बार त्यही बिग्रेको पेपर घुम्न थालेछ। त्यपछिका विषयमा मेहनत गर्न सकेनछन्। त्यो घटनाबाट गैसकेको विगत भैसकेको कुरा मनमा खेलाइरहदा वर्तमानमा समेत असर पर्ने शिक्षा पाएको कुरा महसुश गरेका उनले सुनाए –‘कक्षामा चौथो नम्बरको विद्यार्थी थिएँ। सरहरूले प्रथम श्रेणीकै आश गरेका थिए। दाजुभाइ, साथीभाइ, सरहरू सबै जना सम्झनामा आउन थाले। भोलि फेल हुँदा के भन्लान लागिरह्यो। पछाडिका अरू विषयमा खासै मेहनत गर्न सकिनँ।’ 

एसएलसीको नतिजा निस्कियो। फस्ट डिभिजनका लागि ४ नम्बर पुगेनछ। उनी पास भएको खवरले सुधन खत्रीलाई बोलेको पुरा गर्न वाध्य तुल्यायो। उनले रेडियो नेपाल धनकुटा शाखामा प्रविधिकको जागिर पाए। सुघन खत्रीले उनलाई हेर्ने तरिकै बद्लियो। काठमाडौंमा आएपछि सुधन उनलाई संरक्षकको भावले हेर्न थाले। 

३८ वर्षको उमेरसम्म पुग्दा पाएनन् उनले खोजे जस्तो सोचेजस्तो कुनै अनुहार। केवल कसैको बाहिरी सुन्दरताले मात्रै पनि सक्दैन थियो उनको मनको पाटोलाई तान्न। उनलाई लाग्थ्यो वाह्य सुन्दरता त केवल दुई चार दिनको मात्रै न हो। यसै प्रसङ्गमा उनले सुनाए– ‘गुलाव फक्रिदा हेर्छ मान्छे मजाले। तर जब ओइलाउन थाल्छ अनि पर्दैन मान्छेको हेराइमा। त्यसरी उसको वाह्य सुन्दरता र फर्किदो जवानी मात्रै हेर्नु राम्रो हैन। वाह्य सुन्दरता नै सबै कुरा हुँदै हैन। जवानी पनि त सधै कहाँ रहन्छ र।’ उनी त्यस्तो अनुहारको खोजिमा थिए जो इमानदार होस् स्टेटफरवार्ड होस्। उनलाई मनमा एउटा कुरा लुकाएर दिमागले अर्कै कुरा भनिरहेको मान्छे पनि मन पर्दैन। बयानकै लागि बयान गरिदिने मान्छे पनि मन पर्दैन।  फूलबुट्टा भरेर नभएका कुराहरु पनि  भनिदिन थाल्यो भने मान्छे बिग्रिन्छ भन्ने मान्यता बोक्छन् उनी। भाउ बढाउने काम मात्र भइरहन्छ  अचेल जताततै  । उनले सोचेजस्तो यथार्थ कुरा भनिदिदैनन् अधिकांश मान्छेहरु। 

२२ वर्षको उमेरमा बुवा र ३५ वर्षको उमेरमा आमा गुमाएका उनलाई उनका माइला  दीपकले निकै माया गरे। सानैमा आफूसँगै सदमुकाम ल्याएर पढाए। महेन्द्रले जागिरे हुँदा समेत बेलाबखत पठाइरहे दाइले पैसा। भरसक भाइलाई कुनै पनि कुराको अभाव नहोस् भन्ने ठान्थे दाइले। ३६ वर्षको उमेरमा साथी मार्फत परिचय हुन गयो बिराटनगरकी डिलु खतिवडासँग। जो अष्टेलियामा बस्थिन्। सामाजिक सञ्जालबाटै हुन थाल्यो कुराकानी। उनको इमानदारीता मन पर्न थाल्यो। भित्रैदेखि कस्दै गयो उनको मायाले। पछि उनी नेपाल आएको बेला भेटघाट भएर पारिवारिक सहमतिमै तय हुन गयो बिहेको।  

हप्तादिन अघि राजिनामा स्वीकृत भएर अफिसबाट निस्किदा सिंहदरबारको गेटमा फर्किएर एकछिन हेरेछन्। सम्झेछन् पुराना दिनहरू। र हिडेछन् हात हल्लाउँदै त्यही गेटलाई बाइबाइ गरेर  । पहिले जस्तो छैन रेडियो नेपाल खस्दिै गएको छ रेडियोको छवी। निकै माया लाग्छ उनलाई रेडियोको। आखिर किन नलागोस् माया पनि जिन्दगीका तिसौं वषन्त व्यतित भएको ठाउँ हो त्यो। तर त्यहाँको बिकृति हेर्दा अदेक लाग्छ उनको मनमा। यही प्रसंगमा उनी सुनाउछन् – ‘नेपालका धेरैजसो क्षेत्रमा आन्तरिक पाटो बाहिरबाट देखिएजस्तो हुँदैन। त्यहाँका पात्रहरु कहाँबाट परिचालित हुन्छन् त्यहाँ के के गर्नु पर्छ थाहा हुँदैन्। रेडियो नेपालमा नियुक्त हुनेहरु अधिकांश जसो पहुँचले नै संचालित छन्। जहाँ बोल्न नजान्ने एनाउन्सरमा नियुक्त हुन्छन्। बाजा बजाउन नजान्नेहरु म्यूजिसियनमा नियुक्त हुन्छन्। जागिरको लागि जागिर खाने प्रथा एकातिर छ त्यहाँ व्यक्तिव्यक्तिका इच्छा अर्कोतिर लादिन्छन्। यो दबदबा निकै थियो र अझै छदै छ। बोस नै मन्त्रीले नियुक्त गर्ने परम्परा छ। आखिर यही पारा हो राजनीति यसरी नै हावी भइदिने हो भने भोलि रेडियो नेपाल एउटा इतिहास मात्रै हुन पनि बेर लाग्दैन होला।’

विगत २० वर्षदेखि भोगेका केही तीता पल केही मीठा सबै संगालेर उनी निस्किसके त्यहाँबाट। अब के गर्ने भन्ने कुराले अल्मलाइरहेको छ। एक मनले भन्छ रे सङ्गीतको पोखरीमै पौडि खेलिरहुँ। भारततिर गएर पाँच सात वर्ष संगीत सिक्न थालुँ। अर्को मनले भन्छ रे बूढाबूढी कति छुट्टिएर बस्नु होस् हिड्छु अष्टेलियातिरै। उसो त जहाँ गए पनि गीतसङ्गीत नछोड्ने र वर्षमा कम्तिमा पनि एउटा गीत रेकर्ड गराउने उनको योजना रहेकै छ। 

उनलाई अति नै मन पर्ने गायक हुन् नारायण गोपाल।  तिनै नारायण गोपालले गाएको गीत, लौ सुन म भन्छु मेरो राम कहानी, त्यो एक दिनको घाम सयौ दिनको पानी .........सुन्दा पहिलो पटक सोचमा डुबेछन्।  निकै बेर कल्पना गरेछन्–त्यो मान्छे कस्तो होला। कस्तो पात्रको कल्पना गरेर लेखिएको होला गीत। कविता र गीतका पारखी हुन् उनी। जिन्दगीलाई सपनाको संगालो ठान्ने उनी भन्छन् – ‘तिनै सपनाले त बाँच्ने उत्प्रेरणा दिइरहेकाछन्।’ 

यु एण्ड मी र मनोकांक्षा गरी दुईवटा एल्बम प्रकाशित गरिसकेका महेन्द्रले ३ दर्जन जति गीतमा स्वर दिइसकेका छन्। उनकी जीवन साथी डीला पनि गीतसंगीत भन्ने बित्तिकै हुरुक्क हुन्छिन्। लाग्छ महेन्द्रले शिरानीका गीतका पंक्ती उनकै लागि गाइदिए जस्तो। शिरानीका गीतका पंक्तीले भनेझैं न त उनी डीलाबाट टाढा रहनसक्छन् न त सांङ्गितिक दुनियालाई नै छोड्न सक्छन्। न त विदेशमा गएर सम्पत्ति कमाएर सम्पन्न बन्ने लक्ष्य नै छ। जिन्दगीका चक्काहरु घुमिरहेकै छन् भविष्यको सपना देख्दै र वर्तमानको कल्पना गर्दै। आखिर सपना र कल्पनाको यात्रा पनि जिन्दगीकै एउटा पाटो न हो। 
 

प्रकाशित मिति: : 2020-02-19 01:52:12

प्रतिकृया दिनुहोस्